दलित पुजारीसँग गैरदलितले वर माग्ने गुल्मीको एउटा मन्दिर


गुल्मी –  जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरूले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तर, गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा भने भिन्न परम्परा छ । ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्षौँदेखि दलित पुजारीले पूजा गर्छन् र उनको हातको टीका लगाउँछन् गैरदलित । देवालयको परम्पराले दलित र गैरदलितबीचको विभेदबारे राम्रो सन्देशसमेत दिएको छ । यद्यपि, यो देवालय र परम्परा ओझेलमा पर्दै आएको छ ।

नौलो मन्दिर
अरू मन्दिर वा देवालयमा दलितले गैरदलितसँग फूल–प्रसाद माग्छन् । तर, त्यो देवालयमा दलित पुजारीसँग गैरदलितले प्रसाद थाप्नुपर्छ । सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर टाढा उत्तर बाग्लुङको सिमाना गंगरे र गुल्मी म्यालेबडाचौर टापुमा त्यो देवालय छ जहाँ गुल्मी, प्युठान, बाग्लुङ, रुपन्देही र भारतसम्म रहेका विभिन्न जाति उक्त देवालयमा पाठा भाकल चढाउन आउछन् ।

दलितहरू पुजारी र ब्राह्मणलगायतका अन्य जातिहरू भक्तजन बन्ने मन्दिर अहिलेसम्म नदेखेको मेलामा पुगेका गोविन्द कँडेलले प्रतिक्रिया दिए । ‘अचम्म लाग्यो, म पनि ब्राह्मणको छोरा हुँ,’ कँडेलले भने, ‘मैले पनि तिनै विश्वकर्मा पुजारीले दिएको प्रसाद ग्रहण गरेँ र शिर निहुराएर वर मागेँ ।’ त्यो मन्दिरमा को पुजारी भन्ने मतलब नहुने र जे कामना ग¥यो त्यही पुग्ने भएकाले विभेद सोचे अधर्म हुने स्थानीय ब्राह्मण समुदायका भक्तजन बताउँछन् ।

खडेरी परे पनि कुलदेवताकै पूजा
मन्दिर पुग्ने र आकाशतिर फर्केर पानी माग्ने । लामो समय खडेरी परे स्थानीवासीले यस्तै गरेर निशेल गौतम कुलदेवताकै पुकार गर्छन् । स्थानीयले हरेक सुख र दुःखमा उक्त कुलदेवतालाई सम्झन्छन् । कुलपूजाको दिन अन्य समुदाय बलि चढाउन मात्र आउँदैनन्, बिरामी परेसमेत मन्दिरमा भाकल गर्छन् । समाजसेवी अर्जुन बुढाले देवालय ऐतिहासिक र सबै जातजातिको आस्थाको केन्द्र भएकाले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत पहल गर्नुपर्नेमा जोड दिए । त्यसको शिर पश्चिम, उत्तर र दक्षिण भाग लुम्बिनी अञ्चलकै दोस्रो उँचो लेख मदाने संरिक्षत वन छ । जसको पर्यटन विकासका लागि नेपाल सरकारबाट कार्यक्रम सञ्चालन भइरहेको छ ।

दलितभन्दा गैरदलितले दोब्बर बलि चढाउँछन्
हरेक दुई वर्षको वैशाख पूर्णिमा मेलामा गौतम बन्धुहरूको कुलपूजा हुन्छ । तर, आश्चर्य दलित समुदायको भन्दा दोब्बर बलि गैरदलितले चढाउँछन् । ‘हातमा बोका डोहोर्याउँदै आएको देख्दा अचम्म लाग्छ,’ स्थानीय कांग्रेस नेता रमेश बुढाले भने, ‘धर्म र आस्था महत्वपूर्ण रहेछ ।’ यसपालिको मेलामा मात्रै ब्राह्मण, क्षेत्रीलगायत अन्य समुदायका करिब दुईध सय पाठा बलि चढेका थिए ।