बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनको अध्यक्षमा तीन जनाले दाबी गरेका छन्। मञ्चको आगामी नेतृत्वका लागि बर्तमान उपाध्यक्ष हेम शेर्पा,पुर्ब महासचिव दीपक खरेल र बर्तमान सल्लाहकार अध्यक्ष शिव कुमार लामिछानेले दाबी गरेका हुन्। तिनै जना मञ्चको सचिवालय सदस्यको जिम्मेबारीमा समेत रहेका छन्।
आगामी आईतबार बार्सिलोनामा हुने मञ्चको चौथौ अधिबेशन नजिकिदै गर्दा समन्वयनका लागि रस्साकस्सी चलिरहेको छ। मञ्चका अध्यक्ष तथा समन्वय समितिका संयोजक दिनेश गुरुङका अनुसार सहमतिका लागि पटक पटक छलफल भए पनि हालसम्म तिनै जनाले दाबी गरिरहेको बताए।
उनले भने,”अन्तिम समय सम्म पनि सहमति नभए नेकपा एमाले र प्रबासी नेपाली मञ्च स्पेनको बिधान अनुसार लोकतान्त्रिक पद्दतिबाट नै टुंगो लाग्ने छ। यदी निर्बाचन भएको खण्डमा पार्टीको सांगठनिक सदस्यहरुले मात्र मतादान गर्नेछन्। स्पेनमा मात्र हैन,युरोपका जुन सुकै देशहरुमा पनि सांगठनिक सदस्यहरुको मतबाट नै नयाँ नेतृत्व चयन गरिने केन्द्रको प्राबधान छ,सहमति नभए हामीले पनि त्यसै गर्छौ। गुरुङका अनुसार स्पेनमा एमालेको सांगठनिक सदस्यता संख्या २४ रहेको छ।
अध्यक्ष पदका लागि तीन जनाले आफ्नो दाबी नछोडे पनि अन्य पदहरुमा भने सहमतिको राम्रो बाताबरण बनेको छ। समन्वय समितिका संयोजक गुरुङका अनुसार हालसम्म उपाध्यक्ष पदका लागि हेमन्त रानाभाट,महासचिवमा दिनेशराज रेग्मी,उप महासचिवमा हेमप्रसाद पाण्डेले ईच्छा जाहेर गरेका छन्।
यस्तै सचिव,कोषाध्यक्ष लगायत कार्यसमिति सदस्यहरुको टुङ्गो पनि केहि दिनमा लाग्ने उनले बताए। बर्तमान कार्यसमितिका अध्यक्ष समेत रहेका गुरुङले भने,”हामी अन्तिम समय सम्म पनि सहमतिको प्रयास गर्छौ,यदी संगठनलाई हानी पुग्ने अबस्था नै आयो भने म पुन: अध्यक्षमा दाबी गर्ने छु,हैन भने नयाँ साथिहरुले नै जिम्मेबारी लिउन् भन्ने मेरो ईच्छा छ।”
मञ्चको चौथौ अधिबेशनलाई प्रमुख अतिथिको रुपमा नेकपा एमाले प्रबास समन्वय ईन्चार्ज बिन्दा पाण्डेले उद्घघाटन गर्ने भएकी छन्।
तपाई अध्यक्ष किन बन्ने ?
- हेम शेर्पा,अध्यक्ष पदका दाबेदार:-
बिक्रम सम्वत् २०४९ देखिने पार्टीमा लागेको हुँदा मैले संगठनलाई नजिकबाट बुझ्ने मौका पाएको छु। यो अलवा प्रबासमा रहँदा पनि बिभिन्न संघ संस्थाको नेतृत्व गरिसकेको अनुभवलाई एक पटक प्रबासी नेपाली मञ्च स्पेनको नेतृत्व लिदै साट्न चाहन्छु।
संगठनलाई बिस्तार तथा ब्यापक गर्नका लागि बिभिन्न योजनाहरु बनाएको छु।केन्द्रको बिधान अनुसार सदस्यता बिस्तार गर्ने अन्त्यन्तै जरुरी छ यो बारे काम थाल्ने छु। साथै स्पेनमा मञ्चका क्षेत्रीय कमिटीहरु विस्तार गर्ने पनि लक्ष्य राखेको छु।

साथै मेरो एक दशक लामो स्पेन बसाई सँगै पक्कै पनि यहाँको नेपाली समुदाय, एनआरएन तथा बिभिन्न संघ संस्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिनेछु। मुलत:स्पेनमा रहेका नेपालीहरुको लागि नियमावली सहितको आपतकालिन राहत कोष खडा गर्ने र बिपतमा सहयोग पुर्याउँने लक्ष्य रहेको छ। संगठन प्रति आस्थावान सबैलाई गोलबद्द गराउदै एउटा मजबुत संस्था बनाउने प्रयास गर्ने छु।
- दीपक खरेल,अध्यक्ष पदका दाबेदार:-
सन् २०१० मा नै संगठनको महासचिवको रुपमा काम गरेको अनुभव छ। यस पछि पनि संगठनबाट नै प्रतिनिधित्व गर्दै गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यको जिम्मेबारी पनि सम्हाले।साथै हाल नेपाल पर्यटन बोर्डको मानार्थ प्रतिनिधिको रुपमा पनि जिम्मेबारी सम्हालेको छु।
यो बीचमा संस्थागत रुपमा धेरै अनुभवहरु लिने मौका पाए,अब आँफूले सिकेका अनुभवहरुलाई संगठन कै नेतृत्वसँगै नेपाली समाजमा उदाहरणीय काम गर्न चाहन्छु। दशक लामो स्पेन बसाई तथा यहाँको समुदायलाई नजिकबाट बुझेको हुँदा सँस्थागत हातेमालो गर्दै अगाडि बढ्ने प्रयास सदैव रहन्छ।

त्यतिबेला पनि अध्यक्ष बनेर नेतृत्व गर्ने ईच्छा थियो तर आँफू भन्दा पुराना साथीहरुको ईच्छा आएको हुँदा छाडेर समन्वय गर्दै आएको हुनाले अहिले संस्थालाई संगठित गर्नका लागि मेरो उमेद्वारी रहेको छ।
साथै आस्थावान साथीहरुलाई आबद्द गराउदै नेपाली समाजमा प्रबासी नेपाली मञ्च स्पेनलाई अझै फराकिलो बनाउदै योजना सहित काम गर्ने ईच्छा रहेको छ।
- शिवकुमार लामिछाने, अध्यक्ष पदका दाबेदार:-
प्रबासी नेपाली मञ्च स्पेन स्थापना भएको पनि एक दशक बितिसक्यो,तर संस्था प्रति आस्थावान कति जनालाई हामीले यहाँ समेट्न सक्यौ त ? पार्टीको सांगठनीक सदस्यता संख्या कति छ ? बैठकमा कहिल्यै नआउने पनि सदस्यहरु छन् ? सँस्थामा दिलो ज्यान दिएर दुई -तिन कार्यकाल काम गरेका साथीहरु आज पनि निर्बाचन भयो भने मताधिकारबाट बन्चित हुने बाध्यकारी बिधान छ। यस्तो अबस्था अबका दिनमा नदोहोरिस् भन्दै संगठन सुदृढका लागि मेरो उमेद्वारी हो।
सबैभन्दा पहिले केन्द्रसँग समन्वय गरेर बिधान संशोधन गर्दै, ईच्छुक आस्थाबान साथीहरुलाई संगठित गर्दै उनको मतको प्रयोगले आउँदा दिनमा निर्बाचन गर्न सक्ने बाताबरण तय गर्नु पर्छ। हैन भने धेरै युवाहरुमा निराशा पन छाउदै जाने छ। यसका लागि मिलेर नै पहल गर्नु पर्छ। अहिले म सँग समय छ,यसको नेतृत्व लिन तयार छु।

१० बर्ष सम्म संगठन बार्सिलोना भित्र नै सिमित रह्यो। अब स्पेनका प्रत्येक शहरमा पुग्ने लक्ष्य लिनु पर्छ। बिधान परिमार्जित गर्ने,सदस्यता बिस्तारसँगै संगठन विस्तार गर्ने मेरा मुलभूत योजनाहरु हुन्।
मतादानका लागि केहि बाधिएको बिधान भएको हुँदा, अहिलेको नेतृत्व पनि सहमतिमा नै चयन हुनु पर्छ भन्ने मलाई लागेको छ। नेतृत्व प्रति साथीहरुको बिश्वास पाएको खण्डमा एउटा मजबुत संगठन बनाउने मेरो प्रयास सदैव रहने छ।