कीर्तिमान बनाउने लक्ष्य राखेका मीनबहादुर शेरचनको सगरमाथा आधार शिविरमै निधन


काठमाण्डौ – सबैभन्दा वृद्ध उमेरमा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यसहित त्यसतर्फ लागेका आरोही मीनबहादुर शेरचनको निधन भएको छ । शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको सगरमाथा आधार शिविरमै निधन भएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले पुष्टि गरेको छ । ‘सगरमाथा आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृतले आरोही शेरचनको निधनको पुष्टि गरेका छन्,’ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले भने, ‘यो नेपाली आरोहण क्षेत्रका लागि अर्को दुःखद दिन हो ।’  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

हृदयाघातको आशंका
अध्यक्ष शेर्पाका अनुसार शनिबार साँझसम्म सगरमाथा आधार शिविरमा रहेका डाक्टरहरूसँग सम्पर्क हुन सकेको छैन । तर, सरकारी सम्पर्क अधिकृतले भने हृदयाघातका कारण उनको निधन भएको प्रारम्भिक जानकारी दिएका छन् ।

विश्व रेकर्ड सपना अधुरै
यस वर्ष सगरमाथा आरोहण गर्ने गरी परमिट लिएका आरोहीमध्ये शेरचन मात्र विश्व रेकर्ड बनाउने लक्ष्य लिएका आरोही थिए । उनको आरोहण सफल भएको भए सबैभन्दा पाको उमेरमा सगरमाथा आरोहण गर्ने आरोही बन्ने निश्चित थियो । शेरचन ८६ वर्षको उमेरमा सगरमाथा चुचुरो आरोहणको तयारीमा थिए । उनले ७६ वर्षको उमेरमा १२ जेठ ०६५ (२५ मे २००८) मा सगरमाथा चुचुरो आरोहण गरी सर्वोच्च शिखर चुम्ने विश्वकै पाको आरोहीको कीर्तिमान बनाएका थिए ।

उनको यो कीर्तिमान ०७० वैशाखमा जापानी आरोही युचिरो मिउराले खोसेपछि शेरचन पुनः आरोहणको तयारीमा जुटेका थिए । ‘यस वर्ष म चढ्ने मात्र होइन, सकुशल फिर्ता भएर मानव कल्याण र विश्व शान्तिका लागि अझ बढी योगदान गर्ने अठोट लिएको छु,’ आरोहणका लागि प्रस्थान गर्नुअघि गत फागुनमा राजधानीमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘म मेरो व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रका लागि आरोहणमा जाँदै छु ।’

तेस्रो प्रयास पनि असफल
शेरचनले यसअघि ०७० र ०७२ मा पनि सगरमाथा आरोहणको प्रयास गरेका थिए । पछिल्लोपटक ०७२ मा आरोहण परमिट लिएका शेरचन सो वर्ष भूकम्पले आरोहण प्रभावति भएपछि आधार शिविरबाटै फर्किएका थिए । यस वर्ष तेस्रो प्रयासमा चुचुरोमै पुगेर फर्किने योजना बनाएका शेरचन यसअघिका दुई प्रयासमा सकुशल फिर्ता भए पनि यस वर्ष भने असफल रहे ।

१९६० देखिको आरोहण यात्रा
म्याग्दी जिल्लामा जन्मिएका शेरचनले सन् १९६० (विसं. २०१६)देखि हिमाल आरोहणको यात्रा प्रारम्भ गरेका हुन् । उक्त वर्ष शेरचन धौलागिरि हिमालमा ५ हजार ७ सय मिटरसम्म आरोहण गरी फर्किएका थिए । त्यसयता उनी थुप्रैपटक नेपालको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण पैदल यात्रा तथा विभिन्न अभियानमा सहभागी हुँदै आएका थिए । पेसाले पूर्वगोर्खा सैनिक उनको यसपटकको सगरमाथा आरोहण अभियानको व्यवस्थापन समिट नेपाल टे«किङले गरेको थियो ।

सगरमाथाबाट दुई दुःखद खबर
यस वर्ष हिमाल आरोहणको पूर्वसन्ध्यामा विश्व पर्वतारोहणका दुई चर्चित आरोहीको दुःखद निधन भएको छ । शेरचनअघि १७ वैशाखमा चर्चित स्विस आरोही युली स्टेकको निधन भएको थियो । सगरमाथाको क्याम्प टु हुँदै नुप्त्से हिमाल (७८६१ मि.) आरोहण गर्ने क्रममा उनको निधन भएको हो । आरोहणका क्रममा भएका यी दुई दुःखद् घटनाले पर्वतारोहण क्षेत्रमा ठूलो क्षति पुगेको एनएमएका अध्यक्ष शेर्पाले बताए ।