नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको लागि चुनाबी घोषणा पत्र सार्वजनिक


पोखरा – नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको लागि चुनाबी घोषणा पत्र सार्वजनिक गर्दै आगामी ३० बर्षमा पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार सहित सुविधा सम्पन्न सहर बनाउने सपना बाढेको छ । शुक्रवार घोषणापत्र सार्वजनिक गर्दै एमालेले बि.सं २१०५ ‘महानगरवासीहरुको रहर अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारसहित सुविधासम्पन्न सहर ’ का रुपमा विकसित गर्ने घोषणा गरेको छ ।

१५ पृष्ठ लामो घोषणापत्रको चौथो पृष्ठमा महानगरलाई स्मार्ट सिटीका रुपमा विकसित गर्ने लक्ष्यका साथ वरपरका अन्नपूर्ण, माछापुच्छ्रे, रुपा गाँउपालिकालाई स्याटालाइट सिटी बनाउने उल्लेख छ । पोखरा महानगरको चुनाव जितेमा तनहुँको भिमाद, व्यास, शुक्ला गण्डकी, पुतलीबजार, भिर्कोट, वालिङ, पर्वतको कुस्मा, फलेवास, बाग्लुङ र बेनीलाई पनि स्याटालाइट सिटीका रुपमा विकास गर्ने एमालेको लक्ष्य छ । ती स्थानमा आवश्यक समन्य गरी सुगम यातायातको ब्यवस्था सहितको एकिकृत सामुहिक आवास मार्फत सुकुम्वासी एबं अब्यवस्थित बस्तीको ब्यवस्थापन गर्ने एमाले पोखरा लेखनाथ महानगरपालिका चुनाव प्रचार प्रसार समितिले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

एमालेले ‘पोखरा लेखनाथवासीको रहर, सुखी, खुसी सभ्य र समृद्ध सहर’ नारा दिदै पोखरा महानगरलाई सभ्य, सुखी, खुसी र संमृद्ध नागरिकहरुको बैभवशाली सहर बनाउने सपना देखिएको छ । पोखरालाई देशकै प्रमुख ब्यापारिक केन्द्र र पर्यटकिय गन्तब्य बनाउन बस बिसौनी , पार्किङ ब्यवस्थापन, जेब्रा क्रसिङ, प्रदल मार्ग , साइकल लेन, फ्लाइओभर , टनेल, ओभरहेड ब्रिज सहित बैज्ञानिक ढंगले ट्राफिक ब्यवस्थापन गर्दै मेट्रो सेवा सञ्चालन गर्ने एमाले घोषणापत्रमा उल्लेख छ ।

पोखराका ताल तलैयाको संरक्षण गर्दै अन्य सबै खाले प्रदुषण नियन्त्रण गरी निलो आकाश सहित सेतो हिमाल हेर्न मिल्ने महानगर बनाउने एमालेको चुनावी एजेण्डा छ । पोखरालाई प्रदेशको प्रमुख शैक्षिक, प्राज्ञिक र बैज्ञानिक केन्द्र बनाउने घोषणापत्र मार्फत प्रतिबद्धता ब्यक्त गरिएको छ ।