निर्वाचन आयोगद्धारा मतपेटिका धमाधम जिल्ला पठाउन सुरु


काठमाडौं – निर्वाचन आयोगले मतपेटिका धमाधम जिल्ला पठाउन सुरु गरेको छ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपेटिका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरेको हो । ‘जिल्लाहरूमा मतपेटिका र मतदानसँग सम्बन्धित सामग्रीहरू पठाउने क्रम सुरु भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘केही दिनभित्र सबै सामग्री पुगिसक्नेछन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

२५ जिल्लामा पुग्यो मतपेटिका
निर्वाचन आयोगका अनुसार अहिलेसम्म २५ जिल्लामा मतपेटिका पठाइसकिएको छ । विशेषतः टाढा र दुर्गम मानिने कर्णाली, सुदूरपश्चिमाञ्चलका केही जिल्ला र हिमाली जिल्लामा मतपेटिका पुगिसकेको आयोगले जनाएको छ ।

धमाधम पठाइँदै यी सामग्री
७ सय ४४ स्थानीय तहका लागि आवश्यक पर्ने ८४ हजार मतपेटिका आयोगले धमाधम जिल्ला पठाउन सुरु गरेको छ । आयोगसँग ५४ हजार मात्रै मतपेटिका रहेकोमा अपुग ३० हजार एनआइटी कम्पनीमार्फत चीनबाट ल्याएको छ । जिल्ला निर्वाचन कार्यालयले मतपेटिका सुरक्षित रूपमा कार्यालयमै वा जिल्लास्थित प्रहरी कार्यालयमा राख्नेछ । त्यस्तै, निर्वाचनसम्बन्धी निर्देशिका, नमुना मतपत्र, उम्मेदवार मनोनयनको फाराम, बुकलेटलगायतका सामग्री पनि धमाधम जिल्ला पठाउने काम सुरु भएको आयोगका प्रवक्ता शर्माले बताए ।

१२ गते मतदान अधिकृतको कार्यालय स्थापना भइसक्ने
निर्वाचन आयोगले १२ वैशाखमा एकैदिन ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने जनाएको छ । आयोगले गत ३ वैशाखमा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो । ७५ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले एकैदिन बाँकी ६ सय ६९ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

मतदाता परिचयपत्र छपाइ अन्तिम चरणमा
आयोगले मतदाता परिचयपत्र छपाइको काम अन्तिम चरणमा पुगेको जनाएको छ । ‘लगभग सबै जिल्लाको मतपत्र छापिइसक्यो भन्दा पनि हुन्छ,’ आयोगका प्रवक्ता शर्माले भने, ‘२७ गतेबाट मतदान केन्द्रहरूबाट परिचयपत्र वितरणको काम सुरु हुनेछ ।’ देशभरि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।

मतदाता शिक्षा स्वयंसेवी
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार मतदाता शिक्षा स्वयंसेवी कार्यकर्तालाई खटाइसकेको छ । एकजना स्वयंसेवी कार्यकर्ताले कम्तीमा सात सय र बढीमा हजारजनालाई प्रशिक्षित गर्नेछन् । वैशाख सुरुदेखि उनीहरू उक्त अभियानमा खटिएका हुन् । मतदान केन्द्रमा खटिने कर्मचारीलाई वैशाख तेस्रो साताबाट तालिम दिएर सम्बन्धित केन्द्रमा खटाउने आयोगको योजना छ ।

२१ हजार मतदान केन्द्र तय
निर्वाचन आयोगले २१ हजार मतदान केन्द्र तय गरिसकेको छ । केन्द्रको अन्तिम सूचीसमेत आयोगले प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ ।

व्यवस्थापनमा प्रश्न गर्ने ठाउँ छैन : प्रमुख आयुक्त यादव
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले व्यवस्थापकीय दृष्टिकोणले निर्वाचनको तयारीमा कुनै प्रश्न गर्ने ठाउँ नरहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त यादवले गाउँ–गाउँमा निर्वाचनको उच्चस्तरीय तयारी भएको बताए ।

जापानी नियोग संस्था (जाइका) सँगको सहकार्यमा पत्रकारिता विभागले गरेको कार्यक्रममा यादवले सबै दल निर्वाचनमा आउने विश्वास व्यक्त गरे । स्थानीय तहको निर्वाचनको रिपोर्टिङमा प्रेस स्वतन्त्रताको उपयोग गर्दा यसको संवेदनशिलतालाई समेत ख्याल गर्न यादवले आग्रह गरे । ‘चुनावको वातावरण बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने । केन्द्रीय पत्रकारिता विभाग प्रमुख प्रा. चिरञ्जीवी खनालले पूर्वाग्रहविना रिपोर्टिङ गर्नुपर्ने बताए ।