नयाँदिल्ली/ ५ दिने राजकीय भ्रमणको लागि भारत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय महिला तथा बालबालिका बिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी छन् ।
राष्ट्रपति भण्डारीको स्वागतमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीलगायत पदाधिकारी बिमानस्थल पुगेका थिए ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् ।तर, भारत सरकारले भण्डारीको स्वागतमा राज्यमन्त्रीलाई स्वागतका लागि विमानस्थल पठाएको छ । यसबाट भारतले राष्ट्रपति भण्डारीको भ्रमणलाई कम प्राथमिकता दिएको झल्किने परराष्ट्र मामिलाका जानकार बताउँछन् ।
त्यसअघि विमानस्थलमा ओर्लिएलगत्तै भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले स्वागत गरेका थिए । इन्दिरागान्धी विमानस्थलबाट राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरेकी छन् ।
समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार नयाँदिल्ली गएकी हुन् । भारत बसाइको क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् । राष्ट्रपति भारत जाने दिन सार्बजनिक विदा दिएको सरकारले उनी फर्किने दिन शुक्रबारको विदा भने फिर्ता लिएको छ ।