दुर्गा न्यौपाने
पोखराको लोकप्रियतालाई अझै उचाई दिनका लागि पोखरा महानगरपालिका नै उपयुक्त हुन्छ भने हाम्रा सम्माननीय कवि लेखनाथलाई अमर बनाउन लेखनाथ अन्तर्राष्ट्रिय विमानस्थल उचित हुन्छ। तसर्थ, पोखरा महानगरपालिकामा लेखनाथ अन्तर्राष्ट्रिय विमानस्थल बनोस्। भूगोलका रेखा मात्र होइन मनका रेखा पनि एकाकार हुन सकून्। फेवातालसँग माछापुच्छ«े समाहित भए जस्तो एक अर्काको परिपूरक बन्न सकून्, पोखरा र लेखनाथ दुई नामका यी छुट्टै पहिचान। हामीलाई यसैमा गौरव छ।
नाम त जीवितका लागि आवश्यक हुन्छ। मरेपछि कि लास भनिन्छ कि त मुर्दा। त्यसैले होला मान्छे नामका लागि मरिमेट्छ। नामका लागि ज्यान फाल्छ। दाम चढाउँछ। जुन नाम उचाइमा छ, त्यसैको पूजा गरिन्छ। अझ भनौं भगवान् मानिन्छ। इतिहासलाई फर्केर हेर्ने हो भने पनि नामकै लागि कतिले कतिलाई मेटे। कतिका घाँटी रेटे। अन्तत्वगत्वा जित्नेको नाम रहन्छ। हार्नेको नाम लिष्टबाटै हराउँछ। हालसम्म देखेको, सुनेको र भोगेको यस्तै यस्तै हो।
वास्तवमा नाम मान्छे मात्रको होइन। मानव निर्मित प्रत्येक वस्तु होस्, ठाउँ होस् अथवा प्रकृति प्रदत्त कुनै चिजको किन नहोस् नाम छ। नामबाटै चिनिन्छ। चिनिएको छ। त्यसैले त नामकै लडाईं छ। नाममै पहिचान र नामकै अस्तित्व छ। गुमनाम हुनुभन्दा बदनाम हुनु राम्रो भनेको सुनिन्छ। यही नामका लागि हुनसक्छ यो उखान बनेको पनि।
नेपालको अन्तिम जनआन्दोलनताका अर्थात् गणतन्त्र आएपछि पञ्चायती नामहरू धेरै मेटिए। नयाँ नामले जन्म लिए। नाम फेर्नुलाई क्रान्ति ठानियो। परिवर्तन मानियो। सबैले त्यही सिको गरे। चोक–चोकको नाम बदलियो। बाटोका नाम फेरिए। सार्वजनिक स्थल र भवनका नाम फेरिए, अनि फेरिए नगरपालिकाका नाम। नामले चेतना बोकेको हुनुपर्छ सायद, बा आमाहरूले आफ्ना बाबु नानीका नाम राख्दा त्यस्तै सन्देशमूलक वा आफ्नो मनपर्ने देवताको नाम राखिदिन्छन् ता की नाम बमोजिम काम होस्। हरेक नामले यति ठूलो गरिमा र महत्व बोकेको हुनाले होला सायद् बेला बेलामा नामाकरणमा विवाद हुन्छ। विवाद भइरहेको छ र भविष्यमा पनि हुनेछ।
त्यस्तै नामको विवादमा परेको छ अहिले पोखरा लेखनाथ महानगरपालिका। पोखरा र लेखनाथका केही गन्यमान्य व्यक्तिले नामकै अस्तित्व र गरिमाका लागि पोखराको पछाडि लेखनाथलाई झुण्ड्याई दिनुभएछ। जब महानगर घोषणा भयो तब थाहा भयो कलमलाई लेख्न र आँखालाई देख्न असहज बन्यो। जनजिब्रोले अप्ठ्यारो मान्यो उच्चारण गर्न। कवि शिरोमणि लेखनाथ पौडेललाई अमर बनाउन के पोखराको पछाडि झुण्ड्याई नै पथ्र्यो र ?
पोखराका पछाडि उनको नाम जोड्दा मात्र लेखनाथ, लेखनाथ बन्ने अन्यथा लेखनाथलाई नेपाल र नेपालीले बिर्सन सक्ने अवस्था आउला र ? के पोखराका पछाडि लेखनाथलाई पुच्छर बनाउँदा लेखनाथको अपमान भएन त ? यी यस्ता निरुत्तरित प्रश्नहरू जन्मिएका छन्। अनि मरेका छन् पानीका फोका जस्तै गरि। फेसवुकका वाल भरिएका छन्, अनेकौं तर्क वितर्कले। पोखरा आफैंमा ब्राण्डेड नाम हो।
जुन विश्वमा सुन्दर र पर्यटकीय नगरको रूपमा चिन्छन् मान्छेहरू। कहीँकतै लौकिक रूपमा स्वर्ग छ भने त्यो पोखरा नै हो भन्दा अत्युक्ति नहोला। पोखरा प्रकृतिले सिंगारेको सुन्दर नगर हो। पुरातात्विक र साँस्कृतिक सम्पदा भरिभराउ छन्। सुन्दर तालतलैया, शोभायमान कुमारी माछापुच्छे« अनि ईश्वरीय मठ, मन्दिर र गुफाले पोखरा–पोखरा भएको हो। र पोखराको नाम ईण्टरनेशनल ब्राण्डेड बनेको हो।
नेपाल नचिन्नेले पनि पोखरा चिनेको छ। त्यसैले त यस सेरोफेरोका हामी देश विदेशतिर निस्क्यौं भने पोखरेलीको नामबाट आफूलाई चिनाउँछौं न कि लेखनाथका भनेर। याने कि घर पोखरा भन्न रुचाउँछौं। किनकि पोखरा भनेर सबैले चिन्न सकून्। पोखराभन्दा गर्व गर्ने हामी कहीँ लेखनाथको अपमान त भएन ?
लेखनाथको पहिचानका निम्ति महानगरमै जोडिनु एकमात्र समाधान पनि त होइन। हामीसँग विदेशी भूमिसँग जोड्नका लागि एउटा अवसरको रूपमा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल पनि त छ। जसको न्वारन गर्न बाँकी छ। त्यस विमानस्थलको नाम लेखनाथ राख्न उपयुक्त हुनेमा कुनै शंका छैन। देशमा मात्र हैन विदेशमासमेत लेखनाथलाई चिनाउन सकिन्छ। त्यसैले पनि महानगरको नाम पोखरा मात्र सुहाउँदो छ। फेरि पनि आम जनताले मन नपराएको कुनै पनि चिज अस्थायी हुन्छ।
निर्णयकर्ताको अदूरदर्शी सोचका कारणले द्वन्द्वको सिर्जना गरेको छ। चाहे त्यो प्रदेशको नाम होस् वा एउटा सानो चोकको। जसले गर्दा राम्रोलाई नराम्रो र नामलाई बदनाम बनाउन सघाएको छ। गुलाबको नाम काँडा नै राखे पनि त्यसले सुगन्ध दिन छाड्दैन र घोच्दैन पनि। त्यसैले नामभन्दा पनि काम र त्यसप्रतिको सम्मान गर्ने प्रकृया र विधि विकल्पहिन हुनै सक्दैन।
कवि शिरोमणि लेखनाथ त हरेक नेपालीका नशा नशामा समाहित छन्। नेपाली शब्द शब्दमा अमर छन्। शिरोमणिलाई अमर बनाउन महानगर त साँघुरो हुन्छ। नेपालकै ठूलो भूगोल भएको महानगर भए पनि लेखनाथलाई सानो हुन्छ। लेखनाथलाई पोखरासँग न त तुलना नै गर्न सकिन्छ न त जोड्न नै सुहाउँछ।
सम्पूर्ण पोलेवासीको ध्यानाकर्षण भएको छ यतिबेला। छोटकरीमा महानगरलाई उच्चारण गर्दा पनि अशोभनीय हुने यो दुई भिन्न गरिमा र अस्तित्व बोकेका यी गहन नामको व्यवस्थापन गर्न जरुरी छ। पोखराको लोकप्रियतालाई अझै उचाई दिनका लागि पोखरा महानगरपालिका नै उपयुक्त हुन्छ भने हाम्रा सम्माननीय कवि लेखनाथलाई अमर बनाउन लेखनाथ अन्तर्राष्ट्रिय विमानस्थल उचित हुन्छ। यहि नै प्रयास गरौं।
पोखरा मान्छेले अर्थात् पोखरेलीले सुन्दर बनाएको कदापि होइन। यो त प्रकृतिप्रदत्त नै हो। यसको सुन्दरतालाई बचाउन र यसको सिंगारपटार गर्न अब पोखरेली जाग्नुपर्छ, लाग्नुपर्छ। यसलाई ईको सिटीमा विकसित गर्ने भिजन ल्याउनुपर्छ। महानगरको मास्टरप्लान अब तुरुन्त निर्माण नगरे यसका योजना अस्तव्यस्त हुन बेर लाग्दैन। ट्राफिक व्यवस्थापनदेखि लिएर फेवातालको संरक्षण अनि ग्रिन सिटीको अवधारणा ल्याउन जरुरी छ।
नगरपालिकाले फोहरमैला शुल्क लिन्छ भनेर बसबाट केराको बोक्रा बाटोमा फाल्ने र आफ्नो आँगन सफा बनाउन छिमेकीको आँगनमा राती फोहर फाल्ने प्रवृत्तिलाई बदल्नुपर्छ। दुनियाँ बदल्नलाई आफू बदलिनुपर्छ। अरुलाई उज्यालो दिन मैन आफैं जले जस्तै जल्न जान्नुपर्छ, भन्छन् बुज्रुकहरू। साँच्चै हामी यिनै कुराको आत्मसात गर्न सिकौं। एकताका शुत्रमा बाँधिने उपाय खोज्नु आजको आवश्यकता हो।
हाम्रा पुर्खाले सिकाएको पनि यही हो। हामीले सिके जस्तो गर्यौं तर सिकेनौं। सिकाए जस्तो गर्यौं वास्तवमा सिकाएनौं। आफ्नोलाई मात्र ठूलो ठान्यौं, अरुलाई सधैं निचो देखाउन खोज्यौं। आफू र आफ्नालाई मात्र जिताउनुपर्छ भनेर पढ्यौं। सत्यलाई जिताउनुपर्छ भन्ने पढेनौं। आफ्नो घर मात्र सुरक्षित बनाउन चाह्यौं। अरुको बाख्रा बाघले तान्दा गुहारसम्म दिन जानेनौं। त्यो बाघले भोलि आफ्नो बाख्रो तान्ला भन्ने बुझेनौं र त पछि पर्यौं धेरै कुरामा। भर्खरै नेपाल विकासको क्रममा पाँच महानगरको घोषणा भयो।
भूगोलका सिमानालाई त मिलाउने जमर्को गरियो तर मन मिलाइएन। जसको परिणाम अहिले आलोचित र नमीठो अनुभूति बनेको छ पोखरा लेखनाथ महानगरपालिका। तसर्थ पोखरा महानगरपालिकामा लेखनाथ अन्तर्राष्ट्रिय विमानस्थल बनोस्। भूगोलका रेखाहरू मात्र होइन मनका रेखाहरू पनि एकाकार हुन सकून्। फेवातालसँग माछापुच्छ«े समाहित भए जस्तो एक अर्काको परिपूरक बन्न सकून् पोखरा र लेखनाथ दुई नामका यी छुट्टै पहिचान। अनि हामीलाई यसैमा गौरव छ। गर्व गर्ने अवसर मिलेको छ र यो अवसरको सम्मान गर्न सकौं सबैमा यहि नम्र निवेदन।
(–लेखक पोखरा लेखनाथ महानगरपालिका कार्यालय सामाजिक विकास शाखकी कार्यक्रम अधिकृत हुनुहुन्छ।)