काठमाडौं – आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन सरकारले नयाँ संशोधन विधेयक तयार पारेको खबर लेखेका छन् । सहकारी ऐनमा भएको चलखेललगायत खबर पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।
आजको गोरखापत्र दैनिकले ‘आयोगले भन्यो – एकै चरणमा निर्वाचन हुन्छ’ शीर्षकमा मुख्य खबर लेखेको छ । प्रधानमन्त्रीले नयाँ संशोधन प्रस्ताव सबैलाई स्वीकार्य हुने गरी प्रस्तुत गर्न लागेको भनेर व्यक्त गरेको भनाइलाई पनि गोरखापत्र दैनिकले छापेको छ । ‘स्पाम कल’ बारेको एक जानकारीमूलक सामग्रीलाई गोरखापत्रले एंकर बनाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले अखण्डतामा आँच आउन नदिने भनेर प्रधानसेनापतिले व्यक्त गरेको भनाइलाई आफ्नो प्रमुख खबर बनाएको छ । एक सिंगे गैंडा मारिएको खबर पनि अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा अटाएको छ ।
आजको राजधानी दैनिकले नयाँ संशोधन विधेयकले स्थानीय तहको अधिकार खोस्न लागेको जनाएको छ । दुई चरणको निर्वाचनमा एमालेले असहमति जनाएको खबरलाई पनि राजधानीले छापेको छ ।
नागरिक दैनिकले डेढ वर्षदेखि काठमाडौंको नागार्जुन नगरपालिकामा गरिब तथा विपन्नका लागि निर्माण गरिएको आवास अलपत्र परेको खबर लेखेको छ ।
कान्तिपुर दैनिकले सहकारी ऐनमा भएको चलखेलको विषयलाई प्रमुख खबर बनाएको छ । नयाँ संशोधन विधेयक तयार भएको खबरलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिका दैनिकले सरकारले तयार पारेको नयाँ संशोधनमा समावेश विषयबारे जानकारीमूलक सामग्री पस्केको छ ।