भूकम्पपीडितका घर बनाउँन नमिल्ने,करोडको गाडी किन्न चाहिँ मिल्ने ?


श्रवण खनाल

-श्रवण खनाल

फेरि देशमा निर्वाचनको लहर सुरु भएको छ । यो त सुरुवात मात्रै हो रे, फुच्चे हो रे । अबको १० महिनाभित्र मझौलो अनि  भयानक ठूलो पनि आउँछ रे । बुझ्ने भाषामा भन्दा स्थानीय, प्रदेश र संसद्को‌‌ निर्वाचन अरे ।
मेरो टोलमा, मेरो गाँउमा अनि मेरो देशमा बुझ्ने मान्छेहरु थोरै छन् । त्यसैले थोरै बुझ्ने धेरै मान्छेहरुकै भाषा प्रयोग गरौं । फुच्चे चुनाव भनिए पनि चहल पहल ठूलाबडाकै देख्दा फेरि दोधारमा परियो ।

आजभन्दा २० बर्ष अघि देखिएका अनुहारहरु अनि वीचमा कहिल्यै नदेखिएका अनुहारहरु फेरि बाक्लिन थालेका छन् हाम्रा  गाँउमा ।  हुन त यीअनुहारहरु गाँउतिर पटक्कै नदेखिएका भने हैनन् । बेलाबेलामा शहरतिर उडेको धूलोले निस्सासिएर स्वच्छ हावा खान  चिल्ला गाडीमा शीशा बन्द गरेर हाम्रोतिर धूलो उडाउँदै आउँथे । कहिले भाकल पूरा गर्न बोको लिएर मन्दिरतिर धाउँथे । अनि आफ्ना शहर र  विदेशतिर रहेका सन्तानलाई नि हाम्रो गाउँ देखाउन ल्याउँथे ।

यो भन्दा अगाडि भोट हालुन्जेल यिनका सन्तान र मेरा सन्तान त्यही गाउँको  सरकारी स्कूलमा थिए । सँगै मिल घट्ट गर्थे ।  अहिले मेरा सन्तान अरबतिर ऊँट चराउँछन्,  दूध दही नटुटाउनू है भनेर पोहोर आउँदा भैंसी किन्देका छन् ।  तिनका सन्तान युरोप अमेरिका बस्छन् अस्ति आउँदा आइफोन ल्याएका थिए । पसलमा गफ दिँदै थिए, बुढेसकालमा यतै आउने रे ।

उतिखेर सँगै मिल घट्ट गर्दा यो गाउँको मुहार फेर्छु  भन्थे, यो स्कूल फेर्छु भन्थे । अहिले त्यो सरकारी स्कूल जीर्ण भइसक्यो । तर, यिनले खोलेका बोर्डिङ स्कूल गगनचुम्बी हुँदै गाका छन् ।

ए साँच्ची ! दुई वर्षअघि पनि आएका थिए, भूकम्प गएपछि अलिअलि चामलका बोरा, चाउचाउका  प्याकेट लिएर । हाम्रा भग्नावशेष देखेर एकछिन आँसु पनि झारेका थिए । जलाउँदै गरेका लाससँगै फोटो पनि खिचेका थिए । पछि नातिले देखाँउदैथ्यो, फेसबुकमा हालेका रै’छन् ।

आँसु झार्दै भनेका थिए म सबको घर बनाइदिन्छु, मनमा खुशी फर्काइदिन्छु । तर, दुई वर्ष बित्यो, उनी अनि उनका आफन्तका घर आधुनिक पाराले उठिसके, मेरो टहरा जहाँको त्यहीँ छ।

अहिले सुन्दैछु- त्यही भूकम्पको पैसाले सबैभन्दा महँगो करोडको गाडी किन्या छन् रे । त्यही गाडी लिएर हाम्रा गाँउमा पुनर्निर्माणको अवलोकन गर्न आउँदै छन् रे । गाउँकाले माला उनिसके । अबीर किनिसके । म पनि बस्तुभाउ सकेर, घरधन्दा सकेर जानु छ र सुन्नु छ यो पालि के भन्छन् !

यसपालि चुनावमा नि उनै उठ्दैछन् रे । उनैले भनेका लाई उठाँउदै छन् रे । अब त पहिलाको जस्तो हैन रे, पहिला व्यवस्था अर्कै थ्यो रे, अब अर्कै आइसक्यो रे । थोरै बुझ्ने भएर होला, मेरो मनमा उब्जिएको प्रश्न- सबै अर्कै भए ती अबीर लाउने चाहिँ किन उही ?

पञ्चायतमा ०४३ सालतिर जसलाई भोट हालेको, बहुदलमा नि तिनलाई नै हालेको, अनि अहिले नि तिनलाई नै किन  हाल्नुपर्ने ?

यो भन्दा २० वर्षअघि जसले  अबीर लायो, फेरि उसैले लाउनुपर्ने ? अनि परारतिर व्यवस्था फेर्न भनेर  ढुङ्गा हान्न, मर्न जान त  हाम्रै  सन्तान विद्यालयबाट, गोठालाबाट लगेका थियौं, जतिखेर तिम्रा सन्तान शहरतिर,  विदेशतिर  मस्तीमा थिए । फेरि तिमीहरुको मनले खाएपछि त हाम्ले भोट नदिए पनि हामीमाथि शासन गर्न मिल्ने रेछ नि त !

पहिला मान्छेले भोट नदिएकाहरु पनि मन्त्री, प्रधानमन्त्री सांसद बनाएछौ नि त । त्यसो भए हाम्रो भोट चाहिँ किन चाहियो त ?

मैँले तिम्रो प्रगतिप्रति रिस गरेको छैन । तिम्रो सम्पत्तिमाथि आँखा लगाएको पनि हैन । तिमी व्यापारी भएको भए कुनै गुनासो थिएन । किनकि व्यापारीको धर्म नै थोरैमा किनेर धेरैमा बेच्नु हो । नाफा गर्नु हो । तर, तिमी त हाम्रा दु:ख-कष्ट देखेर यसलार्इ परिवर्तन गर्नुपर्छ भनेर हाम्रा मेलापात, गोठालामा सुनाउँथ्यौ । अनि हामी पछि लाग्यौं । भोट दियौं, जितायौं ।

तिम्ले-हाम्ले पढेको सरकारी स्कूल जस्ताको तस्तै छ । तर, त्यही विद्यालय छेउमा आफ्नो आधुनिक महलहरु बनायौ ।  न त तिम्ले जागिर खायौ, न पुर्खाको सम्पत्ति घटेको छ । अनि बताउनुपर्‍यो नि, तिम्रो त्यत्रो घर कसरी बन्यो ? तिम्रा सन्तान कसरी बोर्डिङ पढेर युरोप अमेरिका पुगे ?

पुग्न त पसले साहिँलाको छोरो नि  पुगेछ अम्रिका । तर, त्यो पसले चम्बु थियो । आफ्नो व्यापारमा- शहरबाट सस्तोमा ल्याएर धेरै महँगोमा बेच्थ्यो, घडेरी किनबेच पनि गर्थ्यो । तर, तिमीले त्यस्तो गरेको थाहा छैन । यो पालि चुनावमा आउँदा स्पस्ट पार है मैले बुझ्ने भाषामा । मेरा छिमेकीले बुझ्ने भाषामा ।

तिमी हामीले पिउने गरेका पानीका मुहान सुकिसके, चौतारी ढलिसके । तर, तिम्रो घरमा चौबीसै घण्टा पानी आउँछ । तिम्रा बगैँचा लहलह झुलेका छन् ।  तिम्रो करोडको घर ठडिँदा तिम्ले कखरा सिकेको स्कूलमा किन एउटा बेन्च नथपेको ? तिम्ले कति कोष परबाट घरमा धारा ल्याउँदा बाटोको चौतारीमा किन धारो नबनाएको ? तिम्रा साथीभाइहरु पेट दुख्दा, रोग लाग्दा,  नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक, अम्रिका पुग्न सक्ने, अनि हामीलाई गाउँमा सिटामोल खान नपुग्ने ?

तिम्रा बुहारी बिदेशी अस्पतालमा सुत्केरी हुने, अनि हाम्रा बुहारीले गाउँमा सुँडेनी नपाउने ? यस्तै तन्त्रका लागि हो हाम्रा पुस्तालाई अनि हाम्रा सन्तानलाई सडकमा उतारेको ? यी कुरा प्रष्ट पार है आज आउँदा । ता कि म थोरै बुझ्नेले बुझ्न सकूँ र तिमीप्रति उठेका नकारात्मक भावनाहरु पखालिऊन्  । आवेगहरु सम्हालिऊन्।

गाउँमा खेतालाले काम गरेको दिनको मात्रै  ज्याला पाउँछ । त्यो पनि भनेको जसरी वा वाचा गरेको जसरी काम गरे मात्र । तर, हजुरहरुको त महिनावारि आइरहन्छ रे, काम गरे नि नगरे नि । विदेश सयर गरे नि, गाउँमा भाकल टार्न आए नि !

फेरि हाम्रो गाउँको अदुवाको भाउ, उखुको भाउ, शिक्षकको तलब तपाईंहरु तोक्नुहुन्छ । अनि आफ्नो तलब पनि आफैं तोक्नुहुन्छ, कति मज्जा है हजुरहरुलाई ! दुई वर्षमा संविधान बनाउने भन्या ६ वर्षमा बनाउनुभो, त्यो पनि राम्रोसँग बनेन रे । तर, ६ वर्षसम्म तलब भत्ता त हानिरहनुभो । तैपनि तपाईंलाई पश्चाताप छैन । हँसिलो मुहार लिएर गाँउ पस्नुहुन्छ ।

तपाईंको घर बनाउने ठेकेदार एक दिन  नआउँदा ढलान गर्ने दिन ज्यामी नपुग्दा कसरी कड्किनुभएको थियो ? मलाई अझै सम्झना छ ।

पाँच माना दूध दिन्छ भनेर ल्याएको भैँसीले ४  माना मात्रै दियो भनेर तपाईंले फर्काउनुभएको बिर्सिनु भो नेता ज्यू ? तर, तपाईंले दशकौंदेखि भन्दै आएको, वाचा गर्दै आएको पूरा नगर्दा तपाईंलाई फिर्ता बोलाउन पाउँछु  मैले ?

हाम्रा हितमा, देशका हितमा किन केही गरेनौ भन्दा खाली अर्को दललाई दोष  देखाउछौ । अनि आफू खाने बेलामा चाहिँ किन त्यही दलसँग मिलेका नि ? हिजो जुन नेतालाई बहिष्कार गर्न लगाइयो,  ढुङ्गा हान्न लगाइयो, आज  त्यही नेतासँगै बसेर खाइराछौ नि त ? सँगै बसेर खान मिल्ने तर जनहित, देश निर्माण गर्न चाहिँ नमिल्ने कस्तो तर्क तिम्रो ?

भूकम्पपीडितका घर निर्माण गर्न कुरो नमिल्ने,  करोडको गाडी किन्न चाहिँ कुरो मिल्ने कस्तो तर्क तिम्रो ?

गाँउको विश्वकर्माको छोरो तिम्रो छोरोसँगै झुक्किएर तिम्रो घर छिर्दा तिम्री आमाले मच्चाको रँडाको विरुद्ध तिमीले केही बोलेनौ । तर, आज त्यही दलितहरुको भोट चाहिएको छ तिम्लाई ?  मन्दिरभित्र पसेकोमा गाउँ निकाला गर्ने, त्यसो गर्न  उक्साउने  तर आज उनीहरुकै भोट महत्वपूर्ण छ तिमीहरुलाई ।

हाम्रो पालो त २० वर्षमा १ चोटि आउँदै छ, पाँच-दश वर्षमा आउँछ । तर, तिमीहरुको त सदाबहार छ, जिते नि हारे नि ।

तिम्रा सन्तानहरु बस्ने विकसित देशतिर सोध्न लगाऔं  त, चार वर्षअघि को मन्त्री थियो ? को प्रधानमन्त्री थिए ? अनि  को दलका प्रमुख नेता थिए ? तर, हामीले भने मेरा बाका पालाका नेतालाई नै नेता मानिरहनुपर्ने ? सधैं तिनैले हाम्लाई शासन गर्न पाउने ? ५५  वर्षमाथिका ११  प्रतिशत जनसंख्या भएको देशमा त्यही ११  प्रतिशतले बाँकी ८९ प्रतिशत  शासित हुनुपर्ने ? १५ देखि ५५ वर्षसम्मका  ५८ प्रतिशत जनसंख्या भएको देशका राजनीतिक दलमा कति छन् यो उमेरका बोलवाला नेताहरु ? कति  उठाँउदै छौ चुनावमा यो उमेरका उम्मेदवारहरु ?

तीस वर्षअघि जेल परेको हुँ भन्ने निहुँमा तिमी लगायत तिम्रा सन्तानलाई सधैंभरि  नेता मानिरहनुपर्ने ? यो कस्तो तन्त्र ?  अहिलेसम्म वाचा गरेका मध्ये के-कति गर्न बाँकी रह्यो र तिमीले फेरि जित्नुपर्ने ?

(लेखक खनाल फिनल्याण्डमा विद्यावारिधि गर्दै छन् ।)