स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने (छापाबाट)


स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो । मतदाता नामावली टुंगो लगाएसँगै मतदाता परिचयपत्र छपाइ पनि सुरु भएको छ । मनाङ जिल्लाबाट मतदाता परिचयपत्र छपाइ सुरु भएको आयोगले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
पुरुष मतदाता धेरै
– महिला मतदाता ६९,८४,६२५
– पुरुष मतदाता ७०,६९,७१४
– तेस्रोलिंगी मतदाता १४३

९ फागुन ०७३ सम्म १८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेटिएको छ । १६ वर्षको उमेरबाटै मतदाता नामावलीमा नाम संकलन हुने भए पनि १८ वर्ष पुगेकाहरू मात्रै मतदान अधिकारसहित अन्तिम नामावलीमा पर्छन् । गत ९ फागुनसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ ।

अब मतदाताको नामावली ठाउँसारी हुनेछैन । आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी १० वैशाख ०७४ भित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्ने सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए ।