स्थानीय निर्वाचनको तयारीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीको चासो (छापाबाट)


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलगायत आयुक्तसँग वैशाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचनको तयारीका बारेमा जानकारी लिएकी छन् । शीतलनिवासमा भएको परामर्शमा प्रमुख आयुक्त यादवले निर्वाचनको तयारीमा आयोग पूर्ण रूपमा लागेको अवगत गराएका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

उनले आयोगको तयारी युद्धस्तरमा अघि बढेको ब्रिफिङ गरेको जानकारी शीतलनिवास स्रोतले दिएको छ । यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रदेश नं २ का ६ जिल्लामा मतदान केन्द्र निर्धारण गर्न कठिनाइ भए पनि ती जिल्लामा निर्वाचन केन्द्र छिटै तोकिनेछ ।’

राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरेअनुरूप महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गराउन सेचत रहन आयुक्तहरूलाई निर्देशन दिएको जानकारी उनका प्रवक्ता मोहनप्रसाद वाग्लेले दिए ।