पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले अनेसासका केन्द्रीय आजीवन सदस्य तथा साहित्यकार केन्नी पाण्डेलाई सम्मान गरेको छ ।
अनेसास गण्डकीले मंगलबार पोखरामा एक समारोहका बीच उनलाई स्वागत तथा सम्मान गरेको हो ।
सम्मानित व्यक्तित्व केन्नीले आफ्नो ३५ वर्ष नेपाल बसाइँ र ३७ वर्ष अमेरिका बसाइँका अनुभव र अनुभूति सुनाएका थिए । उनले काठमाडौंको बसाइँ असहज भएकाले पोखरामा बस्ने मनसाय रहेको बताउँदै केन्नीले भने, छ महिना अमेरिका र छ महिना पोखरा बस्ने मनसाय बनाएको छु ।
आफ्नो अंग्रेजी उपन्यास अदर साइड अफ प्याराजाइजका बारेमा बताउँदै उनले नेपाली सनातन धर्म र पश्चिमा धर्मका बीचको सामिप्यतालाई देखाउन खोजेको बताए ।
सो अवसरमा साहित्यकार कल्याण पन्त, कमलसिंह खड्का, दुर्गा न्यौपाने, गोमा ढकाल, सरस्वती अधिकारी, गीता तिवारी, सरस्वती अधिकारी सरुलगायतले बोलेका थिए ।
अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्ण सारथिले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव असफल गौतमले गरेका थिए ।