निर्वाचनका लागि चार ठुला दलको आ-आफ्नै तयारी (छापाबाट)


कांग्रेस : रणनीति बनाउन आज बैठक : उम्मेदवार छनोट, प्रचार अभियान, पार्टी संयन्त्र परिचालन, घोषणापत्र निर्माणसहितको रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति आइतबार बस्दै छ । कांग्रेसले यसअघि ७५ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तहमा पार्टीको अवस्थाबारे अध्ययन गरेको थियो । सबै प्रतिनिधिले प्रतिवेदन बुझाइसकेको र सोही आधारमा निर्वाचन रणनीति बनाउने तयारी रहेको नेताहरूले बताएका छन् । ‘ग्राउन्ड रियालिटी बुझेर बलियो नेतालाई टिकट दिन पार्टी नेतृत्वले तयारी गरिरहेको छ,’ केन्द्रीय सदस्य एनपी साउदले भने, ‘बैठकमा त्यसैअनुसार छलफल हुन्छ ।’

एमाले : उम्मेदवार छान्न एमालेले मापदण्ड बनायो : उम्मेदवार छान्न सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ । सोमबारसम्म ती मापदण्डका आधारमा उम्मेदवार छनोट थाल्न देशभर सर्कुलर गरिने महासचिव ईश्वर पोखरेलले बताए । चैत अन्तिम सातासम्ममा देशैभर उम्मेदवार छनोट गर्ने तयारी छ । नारा र घोषणापत्रको गृहकार्यमा रहेको एमालेले निर्वाचन परिचालन समिति र गाउँ–नगरमा मतदाता शिक्षा अभियान चलाउने तयारी गरेको छ । निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने नीति र योजना पनि पारित गरेको छ । बागी उठ्ने र सहयोग गर्नेलाई पाँच वर्षसम्म निलम्बन गर्ने नीति बनाएको छ ।

माओवादी : उम्मेदवार छान्न धमाधम बैठक : उम्मेदवार छनोट गर्न कार्यविधि तय गरेर तल्लो समितिसम्म पठाइसकेको छ । घोषणापत्र पनि तयार भएको केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले बताए । ‘कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ । उम्मेदवार छनोट प्रक्रियाका लागि तयारी बैठकहरू धमाधम चलेका छन् । चैत मसान्तसम्ममा उम्मेदवार छनोट भइसक्छन्,’ उनले भने, ‘केन्द्रीय तहमा प्रतिबद्धतापत्र तयार भइसकेको छ । स्थानीय सापेक्षतामा थप्न पनि सकिन्छ । एक–दुई दिनभित्रै सार्वजनिक गर्छौँ ।’ माओवादीले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन परिचालन समिति गठन गरेको छ ।

राप्रपा : उम्मेदवारको मापदण्ड र घोषणापत्र बनाउँदै : राप्रपाले उम्मेदवार छनोटको मापदण्ड र घोषणापत्र बनाउँदै छ । स्थानीय तहअनुसार पार्टीका तल्ला निकाय समायोजन गर्दै निर्वाचन प्रचार अभियान पनि देशभर लगिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी समितिभन्दा बाहिरका व्यक्तिलाई पनि गाई चिह्न लिएर उम्मेदवार बन्ने बाटो खुला गर्ने नीति लिएको श्रेष्ठले बताए । देशभर ‘जनताको माझमा राप्रपा’ प्रशिक्षण कार्यक्रम लिएर नेताहरू चुनावी अभियानमा रहेको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।