महानगरको नाममा बहस सुरु,पोखरा लेखनाथ नभई पोखरा मात्र राख्न जनमत


पोखरा – राज्यपुर्नसंरचनामा साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई गाभेर बनाइएको पोखरा लेखनाथ महानगरपालिका कार्यन्वयनमा आएसँगै नामको बिषयमा ब्यापक बहस सुरु भएको छ । महानगरको नाम पोखरा मात्रै उपयुक्त हुने तर्क अधिकांशले गरेका छन् भने कतिपयले लेखनाथको अस्तित्व कायम राख्नुपर्ने तर्क गरेका छन् ।

तत्कालिन समयमा राज्यपुर्नसंरचना अन्तर्गत स्थानिय तह जिल्ला प्राबिधिक समितिले गरेको सिफारिसका आधारमा महानगरपालिकाको नाम तय भएको हो । समितिले पोखरा र लेखनाथका सबै राजनीतिक दलसँग छलफल गरी सुरुमा पोखरा महानगरपालिका सिफारिस गरेकोमा दोस्रो पटक पोखरा र लेखनाथ छुट्टा छुट्नै नाम सिफरिस गरेको थियो । अन्तमा पोखरा र लेखनाथलाई जोडेर सिफारिस गरिएको पोखरा लेखनाथ महानगरपालिकाको नामनै कार्यन्वयनमा आएको हो ।

पोखरा लेखनाथ महानगरपालिकाको नामबाट सोमवार देखि औपचारिक सेवा सुभारम्भ समेत भएको छ । विशेष गरी सामाजिक सञ्जालमा पोखरा लेखनाथ भन्दा पनि पोखरा महानगरपालिका नामाकरण गर्न उपयुक्त हुने तर्क धेरैले गरेका छन् । कतिपयले लेखनाथको अस्तित्वलाई कायम राख्नुपर्ने तर्क समेत गरेका छन् । लेखनाथका पत्रकार भिमपाणी बरालले पोखरा महानगरपालिका नामाकरण उपयुक्त धारणा राखेका छन् । कतिपयले महानगरको नाम पोखरा राख्ने र अन्तर्राष्ट्रिय विमानस्थल लेखनाथको नाममा राख्दा पनि हुने तर्क प्रस्तुत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोखरा महानगरपालिका नाममा जनमत बटुल्ने प्रयास धेरैले गरिरहेका छन् ।

अहिले कार्यन्वयनमा आएको पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्न आगामी नगर निर्वाचन भन्दा अघि संभव छैन । नाम परिवर्तन गर्न चाँहेमा आगामी निर्वाचन मार्फत चुनिने जनप्रतिनिधि मार्फत हुने नगरपरिषद्बाट पारित गराई केन्द्रमा सिफारिस गर्नुपर्ने प्रावधान छ । महानगरपालिकाको आगामी पहिलो नगरपरिषद् मार्फत नाम परिवर्तनका लागि निर्णय गराएमा भने यसको नाम जनभावना अनुसार हुने जानकारहरु बताउछन् ।