पोखरा लेखनाथ महानगरपालिका मुलुकभरकै ठूलो, पोखरा तथा लेखनाथवासी नाममा विवाद गर्दै


पोखरा – स्थानीय तह पुनर्संरचना पछि पोखरा देश कै ठूलो सहर बनेको छ । पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविस समेटेर बनेको पोखरा लेखनाथ महानगरपालिका देश कै ठूलो सहर बनेको हो ।

क्षेत्रफलका आधारमा काठमाडांै, ललितपुर र भरतपुर महानगरपालिकालाई पछि पार्दै पोखरा ठूलो सहर बनेको हो । जनसंख्याका आधारमा भने काठमाडौ अगाडि रहेको छ । पोखरालेखनाथ महानगरपालिकाको क्षेत्रफल ४६४ दशमलव २४ वर्ग्किमि छ भने भरतपुर महानगर पालिकाको ४३२ दशमलव ९५ वर्गकिमि रहेको छ ।

यसैगरी काठमाडौंको क्षेत्रफल ४९ दशमलव ४५ र ललितपुर महानगर पालिकाको ३६ दशमलव १२ वर्गकिमि रहेको छ । जनसंख्यामा काठमाडौंको ९ लाख ७५ हजार ४५३, पोखराको ४ लाख १४ हजार १४१, ललितपुरको २ लाख ८४ हजार ९२२ र भरतपुरको २ लाख ८० हजार ५०२ रहेको छ । महानगरको वडामा पनि पोखराको सबै भन्दा बढि ३३ रहको छ । त्यसैगरि काठमाडौंको ३२, ललितपुर र भक्तपुरमा २९ र २९ वटा रहेका छन् ।

मन्त्रिपरिषदको फागुन २२ को निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तह ४ महानगरसहित ७ सय ४४ स्थानीय तहको कार्यान्वयन भएको छ । कास्कीमा १ महानगरपालिका र ४ वटा गाउँपालिका छन् । कास्कीमा पोखरा लेखनाथ महानगरपालिका, रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका बनेका छन् । पोखरा लेखनाथ महानगरपालिकामा पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, कास्कीकोट र पुरन्चौर गाविस, भदौरे तामागीका (३,९), माझठानाका (१,४–९), कालिकाका (१–५) नम्बर वडा समेटिएका छन् ।

यसैबीच पोखरा लेखनाथ महानगरपालिका भएपछि पोखरा र लेखनाथवासीले महानगरपालिकाको नाम असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेहरुले पोखरा लेखनाथ नाम अप्ठ्यारो रहेको भन्दै पोखरा महानगरपालिका बनाउनुपर्नेमा जोड दिएका छन् ।

असन्तुष्टि जनाउनेहरुमा पत्रकार, उद्योगी, व्यवसायी लगायत रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लेखनाथमा क्रियाशील पत्रकार भीमपाणि बरालले भनेका छन्–‘पोखरा लेखनाथ महानगरपालिका नभनि पोखरा महानगरपालिका मात्र भन्दा कस्तो होला ?’
बरालको फेसबुक स्टाटसमा प्रतिक्रिया दिने अधिकांशले महानगरपालिकाको नाम पोखरा नै हुनुपर्नेमा जोड दिएका छन् । प्रतिक्रिया दिनेहरु मध्ये कतिपयले लेखनाथको पहिचान समेत झल्कने गरि राखिएको नाम ठीक रहेको बताएका छन् ।

बरालको स्टाटसमा प्रतिक्रिया जनाउँदै पोखरावासी नरेन्द्र बाँस्तोला रीता भन्छन्–‘यो पोखरा लेखनाथ नाम कहाँबाट आयो आयो । पोखरा मात्र राख्नु पर्छ ।’ आशंका गर्दै उनी थप्छन्–‘लेखनाथकालाई दोषमात्र लगाईएको हो । लेखनाथका व्यक्ति वा संघ–संस्थाहरुले भनेका हैनन्, कर्मचारीहरुले भनेका हुन सक्छन् ।’ ‘केहि व्यक्तिहरुले अस्तित्वको कुरा गरेका हुन् तर तिनीहरुलाई कस्तो पहिचान हो ? के पोखराको पहिचान छैन र ? त्यसो भए पहिला गाविस गाभिएर लेखनाथ हुँदा शिशुवाको पहिचान कहाँ गयो नि ? बेगनास को पहिचान नि ?’–उनी प्रश्न गर्दछन् ।

‘सबैको पहिचान चाहिने भए त पोखरा, कालिका, रूपा, लेखनाथ पुम्दी, कृष्ती, निर्मलपोखरी भरतपोखरी, काँहु, आर्वा, हेम्जा माझठाना, महानगरपालिका भन्नांै न भनेपछि तिनीहरु पनि मानेको अवस्था हो’–उनले भने ।
यस्तै उपेन्द्र बरालले पनि पोखरा मात्रै हुनु असाध्यै राम्रो हुने प्रतिक्रिया दिएका छन् । उनले भने–‘मलाई मात्र यो नाम अड लागेको हो की भनेको अरुपनि धेरै यस्ता साथीहरु भेटिए जस्लाई यो नाम चित्त बुझेको रहेनछ ।’

सांसद यज्ञबहादुर थापाले पोखरा लेखनाथ महानगरपालिकाको नाम लेकसिटी महानगरपालिका राख्नुपर्नेमा जोड दिएका छन् । उनले अस्तित्वको नाममा सिंग र पुच्छर झुण्ड्याउने काम गर्न नहुने बताएका छन् ।

माओवादी केन्द्र कास्कीका नेता झलकपाणि तिवारीले पनि महानगरपालिकाको नाम पोखरा मात्र भन्दा हुने भन्दै पोखरा लेखनाथ अस्थायी भएको अन्ततः पोखरा मात्र रहने निश्चित रहेको दावी गरे ।

यसैगरी स्याङ्जा निवासी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कमल पौडेल अथकले पनि महानगरपालिकाको नामप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लख्दै उनले भनेका छन्–‘भन्नी नै पोखरा महानगरपालिका हो । किन लेखनाथ थप्न परो ? । पोखरा भनेपछि सबै बुझिन्छ प्रभो । नरिसाम्नुस् है आफू त खरो फलाम जस्तो परियो केरे ।’

पौडेलको फेसबुक स्टाटसमा पत्रकार चन्द्र बस्ताकोटीले प्रतिक्रिया जनाउँदै पोखरा लेखनाथ महानगरपालिका नसुहाएको र कि कास्की महानगरपालिका कि कश्यप महानगरपालिका राख्न सुझाव दिएका छन् ।

यस्तै पत्रकार आरके पौडेलले नाम यथावत राख्न सुझाव दिएका छन् । उनले भने–‘जे होस हुनु भैसक्यो, अब कि लेखनाथ महानगरपालिका नाम राखु कि पोखरा महानगरपालिका नै राखु ।’