संविधान संशोधन गराउनुपर्छ : देउवा, चिठीको वास्ता किन गरिएन ? : पौडेल (छापाबाट)


नेताहरूले मधेसी दलको सहभागिताविना स्थानीय निर्वाचन कठिन हुने बताएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गराउने पक्षमा आफूहरू रहेको बताएका छन् । ‘संविधान संशोधन गराउनतिर लाग्नुपर्छ,’ कांग्रेस बैठकमा देउवाले भने, ‘यसका लागि मैले पहल गरिरहेको छु ।’ देउवाले बैठकस्थलबाटै तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरी संवादबाट सहमति खोजेर मिलेर अघि बढ्नुपर्ने बताएका थिए । देउवाले ठाकुरलाई आइतबार दिउँसो ३ बजे छलफलका लागि बोलाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मधेसका केन्द्रीय सदस्यको एकस्वर
मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय सदस्यहरूले एकस्वरले मधेसी दलविना घोषित स्थानीय तहको निर्वाचन कठिन भएको बताएका छन् । सत्तासमीकरण बन्दा संविधान संशोधनको सहमति भएकाले त्यसबाट कांग्रेस भाग्न नहुने उनीहरूको भनाइ थियो ।

‘मोर्चाले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको छ । उनीहरूको चेतावनीका बीच निर्वाचनमा जान कठिन हुन्छ भन्ने कुरा हामीले राख्यौँ,’ केन्द्रीय सदस्य रामकृष्ण यादवले भने, ‘सत्तासमीकरणबाट मधेसीलाई बाहिर जान नदिउँ, सहमतिमा ल्याउँ र संशोधन गरेर निर्वाचनमा जाउँ भन्ने हाम्रो मत छ ।’

पौडेलले भने पत्रको जवाफ खोइ ?
सभापतिको पार्टी सञ्चालन शैलीप्रति नेता रामचन्द्र पौडेलले शुक्रबार पनि असन्तुष्टि राखेका छन् । ‘हामी पनि सरकारमा छौँ, तर माओवादी र अरू दलका मन्त्रीको एकलौटी देखिएको छ । हाम्रै पार्टी राम्रोसँग सञ्चालन भएन, विधि, प्रक्रिया, पद्धतिमा हिँडेन,’ पौडेलले भने, ‘नियमित बैठक नबस्ने, पार्टीका संरचनालाई पूर्णता नदिने अवस्थाले पार्टी निरंकुशतातिर जान्छ । मैले चिठी लेखेर बैठक डाक्न आह्वान गरो । तर, चिठीको वास्ता किन गरिएन ?’ आफूहरूले पार्टीमा भागबन्डा नखोजेको भन्दै पौडेलले नेताको मूल्यांकनलाई सम्मान गर्न सुझाब दिए ।