-पुष्पराज बराल
वास्तवमा देशभत्त राजा लगायत उनका वंशको षडयन्त्रपुर्ण हत्या काण्ड हुदा त्यस देशका जनताका लागि यो अत्यन्त दुखद समाचार हुन्छ । आखिर यो कुरा अन्य देशको नभईकन हाम्रै देश नेपाल र राजा बिरेन्द्र लगाएत उनका बशं हत्याकाण्डको कुरा हो । वि स २०५८ जेठ १९ को कालो रात्रीको घटनाको हो।वाल्यकालमा जब एक कान दुई कान हुँदै बिरेन्द्रको हत्या काण्डको समाचार टोल हुदै बाबु आमाको कान सम्म आयो तब मैले कहिल्यै नदेखेको चेहरा मैले मेरा वुवा आमामा पाए।
त्यस अवस्थामा मेरा वुवा आमा र छिमेकका रहेका सबैमा अनुहारमा निन्याउरो चेहेरा देखे ।यस्तो अनुहार कहिल्यै देखेको थिईन।सम्झनाको कुईनेटामा म त्यो वेलामा ४/५ बर्षको हुँदो हु।मेरो त्यो वाल्यकालमा मलाई हत्या के हो ? मृत्यु के हो ? जस्ता केही पनि थाहा थिएन।लाग्छ मेरो मानसपटलमा थाहा थियो त केवल बा घरको सबैभन्दा ठुलो मान्छे अनि देशको ठुले मान्छे भनेको राजा।
त्यसपछी मलाई याद छ। छिमेकी गाँउलेहरूले एक अर्का कहाँ भेला हुने। छलफल गर्ने। रेडियोहरूमा समाचार सुन्ने।यहाँ विरोध भो रे, नयाँ राजाको भनेर अनेकन कुराहरू हुन्थे। मलाई त्यो वेलामा मानिसहरूमा किन यस्तो छटपटि ,अन्यौल भईरहेको केही थाहा हुदैन्थ्यो।
मेरो वाल मानसपटलमा ज्ञानेन्द्र नयाँ राजा भए रे भन्ने थाहा भयो।विस्तार विस्तार मैले नेटो काटेर कक्षाहरू चहार्दै जादै गर्दा पुलिसहरू मरे।माओवादीहरू मरे। जस्ता खबरहरू पनि रेडियो,एफ एम र टि .भीहरूबाट थाहा हुन्थ्यो।लाग्छ त्यो वेलामा समय सम्झदा नेपथ्य समुहको घटना एल्बममा रहेको गीत
समसाँझैमा काग कराई रहयो लौ अब के के हुने हो।
समयको क्रुद्ध छाँया हिमाल परेछ।
दुनैको रगतमा त डोल्पाको घाउमा।
सिरानीमा फुल सिउरी निदाउन म सक्दिनँ ।
आदर्शका कुरा भेऊमा पाउदिन।
राजा पद समाल्दै ज्ञानेन्द्र नेपालको राजा भए उनी टिकाउ राजा हुन सकेनन्। केही समय नबित्दै उनका बिरुद्ध आन्दोलन थालियो जुन आज पनि चिरपरिचत जनआन्दोलन २०६२/६३ को नामले चिनिन्छ । लाग्छ म त्यो वेला दश एघार बर्षको हुदो हुँ।स्कुलहरू वन्द नै थिए।हरेक दिन जसो आन्दोलन।चैत्र महिनाको समय।विद्यालयको अन्तिम परिक्षा सकिएर नतीजाको प्रतिक्षा गरिने समयमा आन्दोलन चलेको थियो।
मेरो घरको आँगनवाट सिद्दार्थ राजमार्गको त्यो भिड र जुलुसहरू देखिन्थो।नाराहरू सुनिन्थे। आन्दोलनमा नलाग्ने कोही थिएनन।१९ औ दिन सम्म चलेको आन्दोलनमा सघर्ष गरेका दाजुभाई बा –आमा हरुको त्यो वेलाको चित्रहरू। कोहीको टाउकोमा चोट,कसैको मृत्यु,कतै रगतको खोला बगेको दैख्दा आज पनि मन स्तब्द्ध हुन्छ ।तर फेरि आन्दोलन सफल भएर सबैको अनुहारमा चमकता देख्दा भने यस्तो लाग्यो।
टाढा धेरै टाढा उडेका रंगीन चराहरू
धर्तिमा कहिले फिर्छन।
आकाशको कालो मैलो हटाई
घाम जून कहिले छर्छन।
नेपथ्यकै अमृत गुरूड्गको आवाजको अनुभूति भयों। मानौ यि रंगीन चराहरू यस धर्तीमा आए झै लाग्यो।मानिसमा कति खुशि त कति उमड्ग।मेरो मानसपटलमा मानिसहरू यति धेरै खुशि भएको कहिल्यै देखिन।
आन्दोलनको सफलता पछि नेपालमा लोकतान्त्रीक गणतन्त्रको स्थापना भयो। बिक्रम सम्बत २०६४ मा सविधान सभाको निर्बाचन भयो । तर मलाई त्यो वेलाको निर्बाचनमा प्रचारप्रसार गर्न झण्डा बोकेर घरघरै आएका ती नेता कार्यकर्ताहरुको कुरा सम्झदा आज भित्रभित्रै हाँसो उठेर आउँछ । उनीहरुले मेरा सोझा बा आमालाइ खोक्रो आश्वासन देखाएर आफ्नो दूनो सोझाएको देख्दा राजनीति प्रति घृणा जागेर आउँछ। परिबर्तनको मजाक उढाएको अनुभूति हुन्छ।
निर्बाचनको बेला सबैमा देश बनाउँने जोश जागर र उत्साह देख्दा लाग्थो अब त केहि हुन्छ। आखिर बुझ्दै जादा त्यो वेलाको सबैको जोश जाँगर मात्र एउटा छाँप हान्नको लागी मात्र रहेछ । पुन ६ बर्ष पछी दोस्रो सबिधान सभाको निर्बाचन भयो त्यो निर्बाचनमा पनि उहि नै हो पहिले जस्तै।
खै सबै जना रित्तै हात गएर रित्तै हात फर्कीनु भयो। तर संबिधान निर्माण त भयो नै। राष्ट्रपतिले नँया सबिधान घोषणा गरे। तर यति ठुलो परिबर्तनबाट आएको संबिधान कार्यान्वयनमा ठुलो जोखिम छ। संशोधनकै नाममा कति ठाँउमा कुटाकुट,झडप,भईरहेको छ। आखिर देशले मेरो पुन मेरो बाल्यअबस्थाको नै झल्को दिईरहेको छ। फेरि त्यही आन्दोलन,झडप,बन्द सबै पुरानै यादहरु।
किन हाम्रो मुलुकले कहिल्यै शान्ती पाएन ? आखिर हामीले कहिँले आफ्नो स्वतन्त्रताको महशुस गर्ने। हिजो मैले पढ्दा बन्द हुने स्कुलहरु, आज पनि त्यस्तै छन्। खै परिबर्तनका नाराहरु ? नीति नियम र सरकारमा पुगेका बेला पार्टी र कार्यकर्ताहरुको दूनो सोजाउन खप्पीस बनेका नेताहरुले कहिँले बनाउँछन् नयाँ नेपाल ? जब सम्म ब्यक्तिको आचरणमा परिबर्तन आउँन सक्दैन जुन सुकै शासन ब्यबस्थाले पनि देशको बिकास हुन सक्दैन। ठाउँमा हुँदा आफ्नो स्वार्थ लुट्ने र बाहिर हुँदा देश भक्तिको पुराण सुनाएर मात्र जनतालाई उल्लु बनाउँने ?
मुलुकमा अस्थिरता बढीरहेको छ फलस्वरूप बिदेशी हस्तक्षेप् दिन प्रति बढ्दो छ। हिजोसम्म त सिमा मात्र मिचिएको थियो तर आज त सिमामा प्रबेश गरेर भारतीयहरुले हामीलाई नै गोलि ठोक्न थाले। तर पनि चुपो लागेर बस्न बाध्य छौ। यहिँ हो नेताहरुले खोक्ने राष्ट्रबाद ? म जस्तै बाल्यअबस्थामा युद्दको बखानले त्रसित बन्दै बालापन गुमाएकाहरुलाई प्रिय: नेताहरुले यस्तै उपहार दिएर माया गरिरहेका छन्।
राजाको बंश नाश देखि १० बर्षे युद्दग्रस्त बाताबरणबाट बालापन गुजारेका म जस्ता लाखौ युवाहरु देशको परिबर्तन चाहेका छौ। यहिँ पढेर मुलुकका लागि केहिँ गर्ने बाताबरण चाहेका छौ। तर त्यसको कुनै संकेत नै देखिदैन। पार्टी,नेताहरु र उनका भजन गाउँने सिमित कार्यकर्ताहरु एक अर्कालाई दोष थुपार्नमा नै ब्यस्त छन्। जुहारी खेल्दै समय बर्बाद गरिरहेका छन्। तर परिबर्तनका सच्चा मनहरु देशको अबस्था देखेर बिलौना गरिरहेका छन्।
धेरै पटक राजनिति फुट्यो
पढ्दा पढ्दै बिद्यालय टुट्यो
तर छानबिन गर्न खै को जुट्यो ?
आखिर हेर्दाहेर्दै मेरो मन पनि टुट्यो ।
हो, बालापनमा जस्तै अहिले पनि टुट्यो।।मेरो मन अहिले पनि टुट्यो।
- लेखक हाल ललितपुर ईन्जिनियरिड्ग कलेजमा सिभिल ईन्जिनियरमा स्नातक गरिरहेका छन् ।