बसन्त रानाभाट/बार्सिलोना
१ सय ३५ बर्ष अघि शिलान्यास भएर निर्माण सुरु भएको एक ठूलो रोमन क्याथोलिक गिरजाघर अझै पनि बन्दै छ। स्पेन बार्सिलोनामा रहेको गिरजाघरको नाम हो सग्रादा फैमिलिया। विश्व प्रसिद्ध वास्तुकला विशेषज्ञ अन्तोनी गौदीको परिकल्पना रहेको चर्चको हालसम्म पनि निर्माण कार्य जारी छ। यसलाई यूनेस्कोले विश्व विरासत स्थलको रुपमा घोषणा गरेको छ।
चर्चको निर्माण कार्य सन् १८८२ मा निर्माण सुरु भएको हो। अन्तोनी गौदीले यसको निर्माण र योजना शैलीमा एक नयाँ आयाम दिए। उनले ७३ बर्षको उमेरमा सन् १९२६ मा संसार छाडेर गए तर जीवनकालको अन्तिम बर्षसम्म पनि चर्च निर्माणमा नै ब्यस्त थिए।

उनले संसार छाडेको ९१ बर्ष भयो भने चर्च निर्माण सुरु भएको १ सय ३४ बर्ष भयो तर पनि निर्माण कार्य अझै जारी छ। यसले बिश्व समुदायलाई नै चकित पारेको छ। १ सय ७० मिटर उचाई,९० मिटर लम्बाई,६० मिटर चौडाई र ९ हजार क्षमता भएको चर्च निर्माण हुनेछ। बाहिरी भाग मात्र हैन चर्चको भित्रि भागमा एक अद्वितीय गौदी कला देखिन्छ।
निर्माण कार्य किन ढिला ?
सग्रादा फैमिलियाको निर्माण कार्य निकै सुस्त गतिमा बढ्यो। किनकी यो निजि दानमा निर्भर रहेर निर्माण गरिएको छ। तर सन् १९५० को दशकमा भने कहिले तिब्र गतिमा त कहिँले सुस्त गतिमा निर्माण भयो। सन् २०१० मा सम्पन्न भईसक्ने अनुमान थियो तर त्यस्तो भएन।

हाल आएर सन् २०२६ को आसपासमा निर्माण कार्य पुरा हुने आशा ब्यक्त गरिएको छ। किनकी सो बर्ष परिकल्पनाकार गौदीको निधनको सय बर्ष पनि पुरा हुनेछ। तर परियोजनाको जानकारी पत्रका अनुसार निर्माण सम्पन्न गर्न सन् २०२८ सम्म पनि लाग्न सक्छ।
जर्मन वास्तुकला संग्रहालयमा बृहत प्रदर्शनी
सन् २०१० मा जर्मन वास्तुकला संग्रहालयको एक प्रदर्शनीमा पनि “गौदी अनसीन, कमप्लीटिंग ला सग्रादा फैमिलिया” नामको एक वृतचित्र देखाईएको थियो। सग्रादा फैमिलियाको अहिलेको निर्माण तरिका र भविष्यको योजना वर्णन गरिदा त्यतिबेला वास्तुकलाको चासो राख्ने बिश्व समुदायको नै ध्यान खिचेको थियो।
यसले गर्दा चर्चको बारेमा झन् ठुलो चासो उत्पन्न भएको ठानिएको छ। त्यसो त गौदीको वास्तविक निर्माण योजनाको सम्मान गर्न पनि माग गरिएको थियो। सन् २००८ मा केहि प्रसिद्ध कातालान वास्तुकारले गौदीको योजना अनुरुप निर्माण नभएको भन्दै रोक लगाउँन वकालत समेत गरेका थिए।
ओलम्पिक हुँदा ठुलो धनराशी संकलन
सन् १९९२ को ग्रीष्मकालीन ओलम्पिक खेल स्पेनको बार्सिलोनामा भएको थियो। त्यतिबेला लाखौ पर्यटकहरुले चर्चको अबलोकन गरे। सोहि बर्ष ठुलो रकम संकलन भएको मानिन्छ।तर कति रकम भनेर खुलाएको भने पाईदैन।

ओलम्पिक खेल बार्सिलोनामा हुँदा स्वभाबिक रुपमा चर्च हेर्नेको घुईचो बढ्यो। त्यतिबेला पर्यटकहरुको दानबाट ठुलो धनराशी जुटेको बताईन्छ। हाल पनि पर्यटकहरुको केन्द्र बार्सिलोनामा अवस्थित चर्च हेर्नका लागि दैनिक रुपमा हजारौ पर्यटकहरु पुग्ने गरेको पाईन्छ।
रेल सुरुङ निर्माणले बिबाद
यता सन् २०१३ देखि उच्च गतिको रेल आभे संचालन भयो। बार्सिलोनाको केन्द्र नजिकवाट नै सुरुङ् खनिएको छ। जुन सग्रादा फैमिलिया चर्चबाट धेरै नजिक रहेको छ। ६ मार्च सन् २०१० मा रेल यतायातको सुरुङ् निर्माण हुँदा ठुलो बिबाद सृजना भएको बताईन्छ।
स्पेनको विकास मन्त्रालयले सुरुङ् निर्माणले चर्चलाई कुनै असर नगर्ने दाबी गर्यो भने चर्च प्रति चासो राख्ने सरोकारवला र स्थानीयहरु खतरा बढ्ने भन्दै आक्रोशित बने।
चर्च निर्माण कार्यमा खटिएका ईन्जिनियरहरुले पनि सरकारी पक्षको खण्डन गर्दै आएका छन्। रेल सेवाका लागि निर्माण गरिएको सुरुङ्ले गिरजाघरको स्थिरता प्रति प्रश्न गर्दै आएका छन्। उनीहरुको आंशकालाई मान्ने हो भने भविष्यमा यसको कुनै ग्यारेन्टी दिन सकिदैन।

उच्च गतिको ट्रेन आभेको संचालन जिम्मा रेन्फेले लिएको छ। प्रतिघण्टा ३१० किलोमिटरको बेगमा गुड्ने यो रेल सेवा संसारमा चीन पछिको दोस्रो, युरोपमा सबैभन्दा लामो एचएसआर नेटवर्क हो।
चर्चको संरक्षणका लागि भन्दै अभियान चलाएर बिरोध भएता पनि सरकारले सुनेन। स्पेनी सरकारले कुनै प्रबाह नै नगरी आफ्नो काम गरिरह्यो। त्यसैले त कातालान र स्पेनी सरकारबीच दुरी बढ्नुमा यस्तै कारणहरुले पनि आगोमा झन् ध्यु थपेको पाईन्छ।
चर्चमा आगालागी
यस्तै १९ अप्रिल २०११ मा एक चर्चको अगाडिको मुख्य पवित्र भागमा आगालागी भएको थियो। एक बिघटनकारी ब्यक्तिले आगालागी लगाएको बताईन्छ।
आगालागी ठुलो नभए पनि निर्माण कार्यमा खटिएका मजदुर र केहि पर्यटकहरुलाई बाहिर निकाल्नु परेको थियो। करिव ४५ मिनेट लगाएर कठिनाई पुर्बक स्पेनको अग्नी नियन्त्रण टोलीले आगो निभाएका थिए। तस्बिर :- गुगल