जित्ने मान्छेले टिकट पाउँछ : कांग्रेस सभापति शेर वहादुर देउवा


पोखरा- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाले वैशाख ३१ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जित्ने मान्छेले टिकट पाउने विचार व्यक्त गरे । नेपाली कांग्रेस पोखरा नगर सम्मेलनको आज यहां उद्घाटन गर्दै सभापति देउवाले तेरो र मेरो मान्छे भनेर टिकट दिन थाल्यौं भने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजय प्राप्त गर्न कठिन हुने भएकोले जो मान्छे त्यस ठाउंमा लोकप्रिय छ त्यसैलाई निर्वाचनमा अघि सारिने बताए।

उनले पार्टीले उमेदवारको किटान गरिसकेपछि हराउन खोज्ने, अन्र्तघात गर्ने र अनुशासन तोड्नेलाई कडा कारवाही गरिने चेतावनी दिए। संविधान कार्यान्वयनका लागि आगामी माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र संसदको निर्वाचन गर्न जरुरी रहेकोमा जोड दिंदै उहांले स्थानीय निर्वाचन नजीकै आईरहेकोले पार्टी कार्यकर्ताहरु गाउं गाउंमा गएर जनताका सुखदुःखमा साथ दिन आग्रह गरे ।

राणाशासनको अन्त्य, प्रजातन्त्रको पुनर्वहाली र नयां संविधानको निर्माण नेपाली कांग्र्रेसको अगुवाईमा हुन सकेको स्मरण गराउंदै सभापति देउवाले प्रजातन्त्र संस्थागत हुन सक्यो भने मात्रै देश र जनताको सर्वाङ्गीण संभव हुने धारणा राखे ।
उहांले काठमाडौं महानगरपालिकापछि दोश्रो ठूलो पोखरा–लेखनाथ महानगरपालिका एक पर्यटकीय नगरी पनि भएकोले पर्यटनको विकास गर्न यसमा काग्रेसको जित सुनिश्चित हुनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा संचार मन्त्री डा . मिनेन्द्र रिजालले संविधान संशोधन हुनै नदिने प्रतिपक्षी पार्टी र आफुले भने जस्तो सवै हुन पर्ने मधेशी मोर्चाका दुवै अतिवादी सोच त्यागेर एउटा मिलन विन्दु आउन आग्रह गरे ।