– मोहनराज वराल “मुन”
“जर्मनीमा नाजीहरु सबैभन्दा पहिले कम्युनिष्टहरुलाई लिन आए
त्यतीखेर मैले केही बोलिन,
किनकी म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरु यहुदीलाई लिन आए,
त्यतीखेर पनि म केही बोलिन, किनकी म यहुदी थिइन ।
त्यसपछि उनीहरु मजदुर सगंठनको लागी आए,
त्यतीखेर पनि म केही बोलिन,
किनकी म मजदुर कार्यकर्ता थिइन ।
त्यसपछि उनिहरु क्याथोलिकलाई लिन आए
र पनि म केही बोलिन,
किनकी म प्रोटेस्टेन्ट थिए ।
त्यसपछि त उनीहरु मलाई नै लिन आए,
त्यतीखेर सम्ममा कोही पनि बाँकी थिएनन्
जसले कसैको लागि बोल्न सक्छ ।”
सन् १८९२ जनवरी १४ मा जन्मेर १९६१ देखि १९६८ सम्म वर्ल्ड काउन्सिल अफ चर्चका सभापति रहेका पादरी मार्टिन निमोलरले,करिब आज भन्दा आधा शताब्दी अगाडि जर्मनीको अवस्थालाई यस कवितामा उतारेका छन् ।
आज जर्मनले यस्ता नियतीहरूलाई पार गरेर वर्तमान अवस्थामा आईपुगेको छ तर नेपालको वर्तमान अवस्थालाई नियाल्ने हो भने हामी यस्तै आधा शताब्दी अघिकै जर्मनी जस्तै छौ।यसो हुनुको प्रमुख कारण जुन सुकै कुरामा पनि राजनीतिले ठाँउ पाउनु नै हो।
देशमा राजनीतिलाई यस्तै नै वनाएका छौ,अझै पनि हाम्रो राजनैतिक प्रवृति यस्तै नै छ।फेरि विश्व हल्लाउने गरेर ठुला ठुला आन्दोलनहरु गरेर वर्तमान अवस्थामा आईपुग्दा पनि शासक वर्गहरू उहि पहिले कै जस्तै भन्दा पनि अगत्तो हुदै गरेका कारण जनताहरूले परिवर्तनको अनुभूति गर्न पाएका छैनन्। अझ झन् देशमा दण्डहिनताले प्रसय पारेको छ, यसले नराम्रोसँग जरा गाड्दै गहिरहेको छ।
“उहिले उहिले
यहाँ, चोरहरू
शासन गर्दैनथे”
यसकारण पनि कवि विक्रम सुब्बाले ईतिहास शिषर्क दिएर माथीको हाइकुमा नेपालको वर्तमान अवस्थालाई व्यक्त गरेका छन्।अहिले दण्डहीनता र गलत राजनीतिक संस्कारको परिणाम हो, “सप्तरी घटना”। फेरि पनि राजनीतिको नाममा बसन्त ऋतुको आगमनमा आत्मीयता एवम् सद्भाव साटासाट गरेर मनाईने महान पर्व होलीको पुर्व सन्ध्यामा रगतको होली खेलिएको छ।
फेरि नेपालको राजनीतिमा रगतको दाग टाँसिएको छ।फेरि राजनैतिक स्वार्थका लागि सोझा जनताहरूलाई एक अर्कामा भिडाएर रगतको होली खेल्न थालिएको छ। जतिपटक सत्ता बदलियोस् न त पीडित जनताले न्याय पाउँछन् न त सत्ताका लागि जनताको रगतको होली खेल्नेहरूले सजाय पाउछन् । सायद, यसैले हामी नेपाली सधैँ नै फोहोरी राजनीतिको सिकार हुन पुगेका छौ। सप्तरी घटना यही शृंखलाको एउटा परिणाम हो ।
अहिले नेपालमा राष्ट्रिय र क्षत्रीय दल विच निषेधको राजनीति चलेको छ। एउटा ७० बर्ष अधि जन्मेको पार्टी एमाले र अर्का करिव डेढ दशकको मात्र ईतिहास बनाएका मधेशका पार्टीहरु ।एउटा जेठो दाई र अर्को कान्छो भाई।वास्तवमा कान्छो छोरो उद्द्ण्ड भयो भने जेठो सुझबुझसहित संयमित हुनुपर्छ।तर उ बाठो हुँ भन्छ। वास्तवमा निषेधको राजनीतिको सुरूवात कर्ता नै उहि हो।
विं.सं २०७२ मंसिर ११ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुनसरीको इटहरीमा आयोजना गरेको सभा स्थानीय वासिन्दाको भेषमा युवासंघ मार्फत विथोल्न लगाउने उहि जेठो हो। फेरि अहिले त्यसैको बदला स्वरूप जेठोको सभा कान्छाहरुद्वारा बिथोलिएको छ। फेरि यहाँ यि दुईभाईहरू बिच अंहकार र घमण्ड सृजना भएको देखिन्छ। सप्तरीको हिंसा र मानवीय क्षति कुनै पनि हालतमा आकस्मिक होइन र मान्नु पनि हुँदैन । पूर्वानुमान थियो नै,जेठोको मेची–महाकाली अभियानले मधेशमा तनाव बढाउँछ र तनावले हिंसाको रुप लिन्छ ।
यति जान्दा जान्दै पनि न जेठो न कान्छो नै गंभीर देखिए।एउटाले कार्यक्रम कुनै पनि हालतमा जसरी पनि गर्न लागि प्रतिष्ठाको विषय ठान्छ।अर्को अवरोध गर्न प्रतिष्ठाको विषय ठान्छ । वास्तवमा यी दुई वालहठले सप्तरीमा हिंसाको रुप लिएको छ र अनाहकमा ४ जना नेपाली नागरिकले ज्यान गुमाए।
आज जुन अराजक अवस्था पैदा भएकोछ।त्यसको मुख्य असली हकदार जेठो नै छ । कान्छो पनि यसमा अछुत चाहि छैन।द्वन्दको सृजना हुने कुरा थाहा हुदा हुदै कुनै पनि हालतमा आफ्नो शक्ति प्रदर्शन नरोक्दा उसको कमजोरी देखिएको छ। चुनाबी घोषणा सँगै राजनैतिक पाटीहरूले जहाँ पनि सभा सम्मेलनहरू गर्न पाउनु उसको अधिकार हो।वास्तवमा त्यो वेलामा नआएको गणतान्त्रिक अधिकारको याद यो वेलामा मात्र आउनु हेयभाव हो।तर अधिकार खोजि रहँदा मुलुक संबिधान जारि पछि पनि संक्रमणकालमा गुज्रिरहेको छ भने भुल्न हुँदैन।
पुरानो कुराको बदलाभावमा राजनितिक गतिबिधी गर्न निषेध गर्ने मधेश केन्द्रित पार्टीको प्रवृत्ति अतिवादी प्रवृति हो। मान्छेको मरणलाई आँप झरेकाे संज्ञा दिइनु , वर्ण र रंगलाई राष्ट्रबादसँग जाेडेर कर्कस र कटु शब्दले ब्यंग्य प्रहार गरिनु जस्ता क्रियाकलाप राजनैतिक व्यवहार हुन सक्दैन।न्युपी र बिहार समथर छ भन्दैमा त्यो पनि तराई मधेसमै ल्याउँने ? यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो । भन्दै मधेशमा वस्ने नेपाली जनताहरूलाई विहारीको आँखाले हेर्ने र उनिहरूको कुरा सुन्नै नचाहने प्रवृति भएको जेठादाई जसले सार्वभौम संसदमा संविधान संसोधनको प्रस्तावलाई छलफल नै गर्नै नदिईकन निषेधको राजनीति गरिरहेका छन्।
यो वेलामा संविधान संसोधनको प्रस्तावलाई छलफल नै नगरिकन देश दौडहा गर्नु वास्तवमा हलो रोकेर गोरू चुटनु जस्तै हो।यता कान्छो भाई फेरि पहाडीया समूदायप्रति खराव सोच राख्छन।अंकगणितिय हिसावलाई पनि आत्मसम्मान नगरिकन खाली सडक नै रोज्नु पनि उसको खोट देखिन्छ।कतै यस्ता सोचहरूले खतरकान अतिवाद सृजना हुने त हैन भन्ने प्रश्नहरु उठेका छन ?
हिजोका शासकहरू जो एक ठाँउका मान्छेहरूलाई जम्मा गरेर अर्कों ठाँउमा शक्त्ती प्रदर्शन गर्दै हिडने थिए त्यसैगरि यसपटक त्यहि असफल बाटोमा नयाँ तरिकाले मधेशीको पहिरनको नाट्यभावमा गाडीको लामलस्कर लगाउदै मेची-महाकाली अभियानका नाममा भिड देखाउने काम भईरहेको छ जेठादाईबाट । चुनाव आउदै गरेको वेलामा के यो भिड मधेशीको कुरो सुन्न झरेकै या त धम्की दिन, तर्साउन र शक्ति देखाउन झरेको हो ? प्रश्नहरु उठेकाछन् ।
अहिले नेपाली राजनीतिमा राष्ट्रवाद र राष्ट्रघात शब्दहरू हिट भएका छन।जेठो दाई आफुलाई आफैले राष्ट्रवादी ठान्छ।फेरि उ अरूलाई राष्ट्रघाती देख्छ।आज भन्दा २० बर्ष अधि देश झिलिमिली हुन्छ भन्दै महाकाली नदि खाएर डकारी सकेको हो जेठोदाई।यि दाईका प्राय:खलकहरू जो छिमेकीको निगाहमा डाक्टर,ईन्जिनियर,सि.एका कोटाहरू खाईसकेका छन।दिउसो छिमेकीलाई धारे हात लगाउने वेलुका भएपछि दूतहरूसँग डिनर लिने कसरी राष्ट्रवादी भए।फेरि छिमेकीका हिजो आज्ञापालकहरू जेठो दाई थिए आज कान्छो भाई भएकाछन्।
हिजो छिमेकीले नाकाबन्दी लगायो।
कान्छो भाईहरूले थपडि बजाए।
तस्करहरूले देश चलाए।
वस यत्तिकैमा जेठो दाई राष्ट्रवादी भए।
वास्तवमा यहाँ राष्ट्रवादी कोही छैनन्?
राष्ट्रवादी हुन देश र जनताको हितमा काम गर्नु पर्छ।अहिले त अतिवाद देखिदै छ।सि.के राउत प्रवृतिले टाउको ठडाउन खोज्दै छ।अहिले पर्दामा देखिएका जेठो र कान्छो भाईहरू सि.के. राउत प्रवृति प्रति चुपचाप मौन लक्षणमा छन् ।फेरि यस्ता अतिवादले देश जातिय हिंसामा जाकिने र विभाजन हुने खतरा देखिदै छ । सप्तरी घटनाले आगोमा घ्यू थप्ने काम गरेको छ ।
अहिलको गतिविधिले एउटाको काँधमा बन्धुक राखेर जनता मार्ने र त्यसको दोष अर्कोलाई थुपार्नेहरूको चाहनाहरूलाई झन् सहयोग गरेको देखिन्छ।देशभित्र अशान्ति मच्चाएर अस्थिर र कमजोरी बनाउदै यसबाट फाईदा लिन खोज्ने देशी बिदेशी शक्तीकेन्द्रहरु यसले फाईदा पुग्ने देखिन्छ । राजनीतिमा देखिएको घृणाभाव, बदलाभाव, हेयभाव, अघोरीभाव, अहंभाव, दयाभाव र नाट्यभाव समस्याको समाधान होइन ।
अहिले आगो वलेको छ। यो वेलामा निभाउन पानी बनौ।फेरि प्रतिशोध लिएर आगो नवनौ। तत्कालका लागि जेठो दाईले केहि दिनका लागि कार्यक्रम स्थगित गरेर परिस्थिति शान्त पार्ने भूमिका खेलेको छ।वास्तवमा जेठोदाईले अहिले तत्काल सम्भव भएका राजनीतिक मागहरु सम्बोधन गर्ने र संविधान कार्यन्वयनका लागि सवै दल एक जुट भएर अगाडि बढ्ने परिस्थिति निर्माणमा भूमिका खेल्नुपर्छ ।
त्यसो त सरकारको बागडोर सम्हालेका दुई ठुला दलहरु काँग्रेस र माओबादी पनि जिम्मेबारबाट उम्कन पाउँदैनन्। एकातिर चुनावको घोषणा गर्ने अर्को तर्फ शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्नु पनि ठुलो कमजोरी हो। घटनाको मुख्य जिम्मेबार गृह प्रशासनले पनि लिनु पर्छ। आन्दोलन र झडपको नाममा सिधै जनताको टाउकोमा गोलि ठोक्ने आदेश कसले दिन्छ ? टाउकोमा सिधै गोलि खानु नै जनताको लोकतान्त्रिक र गणतान्त्रिक अधिकार हो ? यही नै बर्षौ देखि माग गर्दै आएको नागरिक स्वतन्त्रता हो ?
संबिधान संशोधन भईहाल्छ भन्दै मधेशी दललाई बाचा दिने,अर्को तर्फ जेठो दाईको चुनाबीको माग संशोधन गर्न बाटो खुल्ने आशामा हतार हतार दोहोरो चरित्र देखाउँदाको परिणाम पनि हो। संबिधान बचाउँन एक बर्ष भित्र नै मुलुकमा तिन बटा निर्बाचन गर्नु त पर्छ नै तर संक्रमणकालिन अबस्थामा दलहरु मिलेर जानु वा मिलाएर लैजानुको बिकल्प छैन।
यो बेला सडकवाट मात्रै समाधान खोज्नु अर्कों ख़तरनाक राजनीतिक भूल हुनेछ। यस घटनाले सबैलाई फेरि असफल बनाएको छ। सरकार पनि चुकेको छ।सरकारको नैतिकतामा प्रश्न चिन्ह खडा भएको छ ।सरकारले अहिले यसबाट पाठ सिकेन भने फेरि दुर्घटना निम्तने छ। नत्र अहिलेको अवस्था कवि कार्ल स्याण्डबर्गले लेखेको कविता फौजी परेड देखेपछी सानी केटी जस्तैमा बदलिने छ।जुन कविता यस्तो छ।
सानी केटीले पहिलो पटक फौजीहरूले कवाज खेलेको देख्छिन् र सोध्छिन्- ‘ती को हुन ?’
‘सिपाहीहरू’
‘तिनीहरूले के गर्छन् ?’
‘तिनीहरू युद्ध गर्छन् । उनीहरू लड्छन् र एक पक्षले अर्को पक्षका सकेसम्म धेरै सिपाहीलाई मार्ने कोशिश गर्दछन् ।’
सानी केटी मौन हुन्छिर अनि केहीबेर हिसाब गरेपछी भन्छिन्, ‘तपाईलाई थाहा छ, मैले एउटा कुरा थाहा पाए ।’
‘भन न, के थाहा पायौ ?’
‘यदी उनीहरूले युद्ध लडे भने कोही पनि फर्केर आउनेछैन ।’
- नेपालीनेपाली डटकमका प्रमुख टिप्पणीकार बराल हाल अमेरिकाको टेक्सासमा छन्।