पोखरामा पुन: बर्ड फ्लुको संक्रमण भेटियो, पंक्षी र पंक्षीजन्य पदार्थ आयत निर्यातमा रोक


पोखरा – पोखरामा पुन: बर्ड फ्लुको संक्रमण भेटिएको छ । संक्रमण भेटिएपछि पंक्षी र पंक्षीजन्य पदार्थ आयत निर्यातमा रोक लगाइएको छ । एक साताको विचमा पोखराको एउटै वडाका दुई स्थानमा बर्ड फ्लुको संक्रमण भेटिएपछि पंक्षी र पंक्षीजन्य पदार्थ आयात निर्यातमा रोक लगाइएको हो ।

शनिवार देखि फागुन ३० गतेसम्म १० दिनका लागि पोखरा उपमहानगरपालिकाको वडानम्बर १ देखि १८ भित्र पंक्षी र पंक्षीजन्य पदार्थ आयात निर्यातमा रोक लगाइएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ । पशुसेवा विभागको निर्देशन अनुसार जिल्ला एभियन ईन्फलुएन्जा प्राविधिक समितिको शनिवार सम्पन्न बैंठकले संक्रमित क्षेत्रको चार किल्ला निर्धारण गर्नुको साथै पंक्षीजन्य बस्तु आयात निर्यातमा रोक लगाएको हो । निषेधित कार्य गरेको पाइएमा कारवाही गर्ने निर्णयमा उल्लेख छ ।

‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ अनुसार फागुन २१ देखि ३० गतेसम्म पोखरा उपमहानगरपालिकाको वडानम्बर १ देखि १८ क्षेत्रबाट दाना वाहेक पंक्षी र पंक्षीजन्य पदार्थको ओसारपसारमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय गरियो । ’ समितिको निर्णयमा भनिएको छ । साथै यो अबधिमा आफ्नो घरमा रहेका कुखुरा तथा हास वाहिर नछोड्न आग्रह गरिएको छ ।

पोखरा १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको एक साता नबित्दै पुनः सोहि वडाको अर्को स्थानमा ज्छल्ज्ञ को जिवाणु पुष्टी भएको हो । फागुन १४ गते स्थानिय मीना परियारको घरमा पालेको हासमा संक्रमण भेटिएकोमा थियो । संक्रमित क्षेत्र आसपासबाट नमुना परिक्षणका लागि पठाइएकोमा स्थानिय शुभकामना टोल स्थित दीपेन्द्र केसीले पालेको कुखुरामा बर्ड फ्लु को जिवाणु देखिएको पशुसेवा कार्यालय कास्कीका सुचना अधिकारी ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।
यसअघि परियारको घरलाई केन्द्र मानेर चार किल्ला तोकी २५६ कुखुरा, ४१ हास, ६७ अन्डा , ९० केजी र ४० केजी मासु नष्ट गरिएको थियो । पहिले संक्रमण भेटिएको क्षेत्र र हाल संक्रमित क्षेत्रलाई आगामी ४२ दिन सम्म उच्च निगरानीमा राखिने पशुसेवा कार्यालयले जनाएको छ । साथै सो आसपासका अन्य क्षेत्रलाई पनि निगरानीमा राखिने छ । एकै साता दुई स्थानमा संक्रमण भेटिएपछि स्थानिय त्रसित भएका छन् ।

संक्रमण भेटिएपछि त्यस आसपासका क्षेत्रमा चारकिल्ला तोकेर पंक्षी र पंक्षीजन्य बस्तु नष्ट गरिएको छ । हाल संक्रमण भेटिएको केसीको घरलाई केन्द्र मानेर पूर्वमा क्याम्पस रोडसँग जोडिएका पूर्वका घरहरु, पश्चिममा जागृति मार्गको ग्राभेल सडक, उत्तरमा मनकामना मन्दिर देखि जागृति मार्ग सम्मको डिल र दक्षिणमा खाल्टे मसिना पिच रोड भित्रको क्षेत्रलाई संक्रमित क्षेत्र तोकिएको छ ।