– प्रकाश ढकाल ।
कोपनहेगन । डेनमार्कको स्थानिय राजनीतिमा अर्का एक नेपालीले सफलता प्राप्त गएका छन् । नेपालमा संखुवासभा स्थायी घर भएका डेनमार्कमा विगत नौ वर्षदेखि बसोबास गर्दै आएका इशान मान सिंह अधिकारीले स्थानिय राजनीतिमा सफलता प्राप्त गरेका हुन् । डेनमार्कको संसदमा चौथो ठुलो दल अल्टरनेटिभ पार्टीको तर्फबाट कोपनहेगनसंग जोडिएका क्षत्र ब्रोंसहोए र भ्यानलोस क्षत्रको बोर्डमा चुनिएका हुन् ।
बोर्डमा पर्नु पनि ठुलो सफलता भएको बताउंदै अधिकारीले यो क्षत्रमा नेपालीहरुको बसोबास धेरै भएकोले पनि पार्टीले विश्वाश गरेर आँफुलाई छानेको उनले बताए । सदस्यहरुबीच भएको आन्तरीक प्रतिस्पर्धामा उनी चुनिएका थिए ।
डेनमार्कमा उदाउँदो शक्तिको रुपमा लिइएको यो पार्टीले राष्ट्रिय निर्वाचनमा प्रथम पटक भाग लिएको अवस्थामा नै चौथो ठुलो दल बन्न सफल भएको थियो । ‘गो ग्रीन’ को अवधारणालाई आत्मसात गरिरहेको पार्टी डेनमार्कमा लोकप्रिय बन्दै गएको पनि छ । नवीकरणीय उर्जा, रिसाइकल प्रविधी, पुन: प्रयोगमा आउने सामग्रीमा जोड, नयाँ राजनीतिक संस्कृती लगायतका कुराहरु पार्टीको नीतिमा राखेर ‘हरीत क्रान्ती’ गर्नु पर्छ भन्ने कुरामा जोड दिएर सोहि अनुरुप कार्यक्रम ल्याएकोले पनि उक्त पार्टी लोकप्रिय बन्दै गएको छ ।
बोर्डमा छानिएपछि उनले आँफु नेपालीहरु संगकै सल्लाह र सुझावमा अगाडी बढ्ने र नेपालीहरुको हक र हितका लागि पार्टीमा आवाज उठाउने पनि उनले बताए । उक्त क्षत्रमा पार्टीका कार्यक्रम लागु गर्ने कुरामा पार्टी बोर्डको भूमिका महत्वपूर्ण हुने भएकोले उक्त बोर्डमा रहेर राम्रो काम गर्ने प्रयास गर्ने उनले बताए ।