पोखरा – सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बुद्धिबहादुर थापा नियुक्त गरेको छ । प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका चार वटा प्रतिष्ठानका उपकुलपति नियुक्त गर्ने क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. थापालाई नियुक्त गरेका हुन् ।
तनहुँ दुलेगौंडाका डा थापा २०४१ साल असारबाट सरकरी सेवामा प्रवेश गरेका थिए । मेडिकल अधिकृतका रुपमा सरकारी सेवामा आएका डा. थापाले पहिलो पटक मुस्ताङ अस्पतालबाट सेवा सुरु गरेका थिए । उपकुलपतिमा नियुक्त डा. थापा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट समेत हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सरुवा भएका उनले मेडिकल सुपरिटेन्डेन्टको रुपमा २०६४ देखि २०७० सम्म काम गरेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा थापा सहित डा प्रदीप घिमिरे, डा. तारानाथ पौडेल र डा. श्रीकृष्ण श्रेष्ठले कार्ययोजना सहित दरखास्त दिएका थिए । सहकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा गठित उपकुलपति छनौट समितिको सिफारिसका आधारमा प्रधानमन्त्रीले डा. थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक गत वर्षकै पुस १३ को व्यवस्थापिका संसदको बैठकले पारित गरेको थियो । गत माघ १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकको प्रमाणीकरण गरेकी थिइन् । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो ।
प्रतिष्ठानमा पोस्टग्राजुयट अर्थात् मास्टर डिग्रीमा डाक्टर इन मेडिसिन (एमडी) र सर्जरी (एमएस)को पढाइ हुने छ । साथै अन्य स्वास्थ्यसँग सम्बन्धित गतिविधि पनि सञ्चालन हुनेछन् । पोखरा सहित चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका हुन् जस अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा राजकुमार (आरके) रौनियार , पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरत यादव र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्लेलाई उपकुलपति नियुक्त गरिएको हो।
पाटनमा १५, कर्णालीमा पाँच र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले उपकुलपतिका लागि दरखास्त पेस गरेपछि प्रतिष्ठानका लागि छनौट समितिले तीन–तीन जना उम्मेदवारको नाम कुलपति एवं प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरेको थियो। स्वास्थ्य मन्त्री थापा संयोजक रहेको समितिमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य थिए ।