दूताबास ल्याउँन १० बर्ष सम्म स्पेनबासी नेपालीहरुले के – के गरे ? (भिडियो हेर्नुहोस्)


बार्सिलोना/ दूताबास स्थापना गर्ने सरकारको निर्णय पछि स्पेन स्थित संघ संस्थाहरुले बिगत एक दशक अघि हुँदै आएका पहलको स्मरण गरेका छन्। नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई सामुहिक रुपमा स्वागत गर्दै आँफूहरुले बिगतमा गर्दै आएका पहलको सम्झना गरेका हुन्।

स्पेनमा नेपाली दूताबास गर्ने सरकारको निर्णय सँगै अब नेपालमा पनि स्पेनिस दूताबास खोल्न पहल गर्ने सामुहिक उद्घोष समेत गरेका छन्। उदेश्य पुरा गर्न आजै सपना देख्नु पर्ने बताउँदै, परिवार पुनर्मिलनको क्रममा दिल्लीमा नेपालीहरुले भोगेका समस्याहरु समाधानका लागि नेपालमा पनि स्पेनिस दूताबास स्थापना हुनु पर्नेमा जोड दिएका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले बुधबार बार्सिलोनामा आयोजना गरेको कार्यक्रममा सरकारले निर्णय कार्यान्वयन नगर्दा सम्म दबाब दिने प्रतिबद्दता समेत ब्यक्त गरेका छन्। स्पेनमा दूताबास स्थापना गर्ने नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै,छिट्टै कार्यान्वयन हुने बिश्वास समेत ब्यक्त गरे।

यसैबीच कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले स्पेनमा दूताबास स्थापना भए पछि स्पेन र पोर्चुगलमा रहेका नेपालीहरुका समस्या सम्बोधन हुने बिश्वास ब्यक्त गरेका छन्। दुवै मुलुकका लागि सरकारले छुट्टाछुट्टै दूताबास स्थापना गर्ने अबस्था नरहेको बताउँदै म्याड्रिड दूताबासले नै स्पेन,पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन हुने बिश्वास ब्यक्त गरेका हुन्। मन्त्री महतले दुई मुलुकका नेपालीहरुको आबश्यकतालाई महशुस गर्दै स्पेनमा दूताबास खोल्ने सरकारले निर्णय गरेको बताए।

उनले भने,” स्पेन राष्ट्रसंघको एउटा महत्वपूर्ण सदस्य राष्ट्र पनि हो, भाषाको दृष्टिकोणले पनि स्पेनिस भाषा अन्तराष्ट्रिय भाषाको रुपमा पहिचान प्राप्त गरेको छ, एउटा ठुलो महत्वपूर्ण देशमा रहेका नेपालीहरुको संख्यालाई पनि ध्यानमा राखेर दूताबासको स्थापना गर्ने निर्णय गरेका हौ। यसले दुई देश बीचको सम्बन्धलाई झनै प्रगाढ पार्ने बिश्वास लिएका  छौ ।”

दूताबासको माग पोर्चुगलमा पनि रहेको भन्दै मन्त्री महतले भने,” यद्यपि पोर्चुगलमा पनि नेपालीहरुको ठुलो संख्या छ, त्यहाँका नेपालीहरुको भावाना थियो। तथापी दुई बटा ठाउँमा दूताबास राख्न सम्भव थिएन। तर पोर्चुगलको नजिकै रहेको देश स्पेनको दूताबास मार्फत त्यहाँका समस्या र आबश्यकताहरु साथै पोर्चुगल सरकारसँगको सम्बन्धलाई पनि स्पेनको दूताबास मार्फत प्रगाढ पार्न सक्षम हुनेछौ भन्ने विश्वास छ।”

दूताबास निर्माण भए पछि हर तबरबाट सफल पार्न स्पेनको नेपाली समुदायबाट सहयोग मिल्ने आशा ब्यक्त गर्दै मन्त्री महतले नेपाल, स्पेन र पोर्चुगलको सम्बन्ध झनै बलियो बन्ने बताएका छन्।

एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा पर्यटन दूत एकराज गिरी,पर्यटन दूतहरु दीपक खरेल,चिन्तामणी सापकोटा,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्चका अध्यक्ष दिनेश गुरुङ,जनप्रगतीशिल मञ्चका अध्यक्ष गंगाप्रसाद भुसाल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रमको संचालन संघका महासचिव उमेश अधिकारीले गरेका थिए।