आज बिहीबार काठमाडौंबाट प्रकाशित प्रायः दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसँग सम्बन्धित समाचारले स्थान पाएका छन् । त्यस्तै सत्तारुढ दलले मधेसी मोर्चालाई संविधान संशोधन थाती राखेर निर्वाचनमा सहभागी हुन गरेको आग्रह मोर्चाले अस्वीकार गरेको समाचार र स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको समाचारले प्राथमिकता पाएका छन् ।
यससँगै, नयाँ पत्रिका दैनिकले विद्युत ठगीमा २३ कर्मचारीविरुद्ध मुद्दाको तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । पच्चिस वर्षपछि लगानी सम्मेलन हुन लागेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्व दिएको छ । नागरिक दैनिकमा अर्थमन्त्री कृष्णबहादुर महराले मनलाग्दी पैसा बाँडेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । एमालेको मेची-महाकाली अभियानसम्बन्धी समाचारलाई राजधानी दैनिकले महत्व दिएर प्रकाशित गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना चाहेको समाचारलाई गोरखापत्र दैनिकले महत्वका साथ फ्रन्टपेजमा छापेको छ । नेपाल समाचारपत्र दैनिकले स्थानीय निर्वाचनमा सेना पनि खटाइने समाचारलाई महत्व दिएको छ ।