-हेमराज बाँस्तोला
ए! कति
बाझै छोडछौ, ए!
निसन्तान त्यो बारी।
कुरो फुलेर बस्यो, जंगली
बेसी हेर्दा ठाउँ छैन
लेकतिर खाली।
पाखो बारी
मौलाएर बन्यो पातीघारी।
सजिलोको मुख ताक्ने,
छैन आज रहर यिनलाई;
बोक्न त्यो भारी।
नयाँ पीढी, बिर्से छिडी,
मेहेनत र पसीनाको फल
छोडिएको खेत बन्यो खरबारी
आरन खोज्दै जांदाखेरी
गाउँ बिच छैन कुनै
निशानी।
बाटो आएदेखी
उब्जाउन छोडे रे तरकारी,
युवाहरू पसे रे लाहुर
भन्दै रोजगारी, न हलो बन्छ
न फाली अर्चाप्नी
बुढाहरु थला बसे
ठिटाहरु मुग्लान।
जोत्न छोडे बारी अब
खन्न छोडे कोदाली।
कस्ले होला गर्ने अब
उकाली र ओराली?
अर्चाप्न त्यो फाली, अनि
ब्युझाउन त्यो खेतबारी ।
दुई थोपा आँसु
रसाए आज
पुर्खाको मेहनत देखेर
भेटेर आज त्यो उर्बर खेत
खरबारीमा भएको
बिकास।