शिवरात्री (कविता )


– पित्ताम्वर नेपाली

कैलाशबासी शिवजीकाे साह्रै प्यारो दिन ।
आयो कृष्ण चतुर्दशी फागुनको दिन ।।
बूढाबूढी भुराभुरी सधु अनि  सन्त  ।
रमाउँछन चारैतिर शिवजीका  भक्त  ।।

जीव जति सम्पूर्णका उनै अधिपति  ।
आदिशक्ति जगदम्बा पार्वतीका पति ।।
देवताका पनि देव महादेव नै  हुन  ।
यो देशका राष्ट्रदेव पशुपति नै हुन  ।।

एक भई सबै मिली भेदभाव त्यागी ।
विकृति र विसंगति सबै पोको पारी  ।।
शिवधुनी लगाएर भष्म बनाउँला  ।
जगत यो शिवमय छिटै  बनाउँला  ।।

भलो गर्न जगतको दु:ख झेल्नु पर्छ  ।
खुसीसाथ अमृतलाई  बाँडी दिनुपर्छ  ।।
परि आए कालकुट विष लिनु  पर्छ  ।
कण्ठ हेर शिवजीको यही कुरा भन्छ  ।।

साँढे अनि सिंह हेर सँगसँगै बस्छन्  ।
सर्प अनि मयूर हेर सँगसँगै नाच्छन्  ।।
मान्छेले यो बुझिदिए झगडा हुदैन  ।
शिवभाव भएदेखि  यहाँ के हुदैन ?  ।।

अन्याय र अत्याचार भ्रष्टाचारलाई ।
नाश गर्दै जानु पर्छ त्रिशूल समाई  ।।
शिव हाम्रो चाहना हो शिव आऊ यहाँ ।
शिव धुनी लगाउँछौं जागै बसी यहाँ  ।।

हिमालको काखमुनि  यहीं वरपर  ।
डम्मरुको  नयाँ नयाँ सिर्जनाको स्वर  ।।
घन्काउँदै नाच तिमी संसारको माझ  ।
नयाँ युग सुरु गरौं  आऊ  नटराज   ।।

पोखरा ,नयाँ बजार।