पोखरा/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिजयी बनेका छन्। शुक्रबार साँझ सम्पन्न दशौं अधिवेशनबाट अध्यक्षका प्रत्यासी रमेश पौडेललाई २२ मतले पराजित गर्दै श्रेष्ठ बिजयी बनेका हुन्। प्रेस चौतारीका विजयी श्रेष्ठले १५५ मत ल्याएका छन् भने प्रेस युनियनका पराजित पौडेलको पक्षमा १३३ मत परेको छ ।
श्रेष्ठको नेतृत्वमा संयुक्त प्यानल बनाई उत्रेका वामपन्थी तथा प्रगतिशील पत्रकारहरुले महासंघ कास्कीमा वर्चश्व राखेका छन्। चुनावी परिणाम अनुसार महासंघको उपाध्यक्षमा प्रेस सेन्टरका त्रिभुवन पौडेल बिजयी भएका छन् । तर महिलातर्फको उपाध्यक्ष समावेशी पद भने प्रेस युनियनकी बिमला भण्डारीले जितेकी छिन् ।
कार्यसमितिको सचिव पदमा प्रेस सेन्टरका रामप्रसाद तिमिल्सिना,खुल्ला सह-सचिव पदमा स्वतन्त्र पत्रकार संघका दिननाथ बराल र सहसचिव समावेशीतर्फ दीपक परियार बिजयी बनेका छन्। यस्तै सदस्य समावेशी जनजातितर्फ गीता रानामगर,खुल्ला कार्यसमिति सदस्य पदमा सुरेन्द्र पौडेल ,रञ्जन अधिकारी, एकराज गिरी,कृष्ण दवाडी, मनोज घर्तीमगर, कमल पौडेल ‘अथक’ प्रकाश ढकाल र सुरज श्रेष्ठ बिजयी भएका छन्।यसअघि समावेशी अल्पसंख्यक तर्फ जैनव खातुन र दलिततर्फ रेम बिक निर्विरोध बनेका थिए।

अध्यक्षमा निर्बाचित पत्रकार श्रेष्ठसँग यस अघि महासंघ कास्कीको सचिव पदमा रहेर काम गरेको अनुभव समेत रहेको छ। १६ वर्षदेखि निरन्तर सक्रिय रहँदै आएका श्रेष्ठ पोखरामा बरिष्ठ सञ्चारकर्मीको रुपमा परिचित छन्। रेडियोमा आबाजको माध्यमद्वारा उनले थुप्रै सामाजिक तथा परोपकारी कामहरुमा अभियान चलाउँदै आएका छन्।
झापा स्थायी घर भएका श्रेष्ठले झन्डै दुई दशक यता पोखरालाई कर्मथलो बनाउँदै पत्रकारिता क्षेत्रको बिकासमा योगदान दिईरहेका छन्। हाल पोखरा चाउँथेमा परिवारसँगै बस्दै आएका श्रेष्ठको नेतृत्वले महासंघ कास्कीले नयाँ उचाई लिने अपेक्षा गरिएको छ।