– मोहनराज बराल,”मुन”
सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कसैलाई छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरुको मृत्यु हुनु ।
माथिका यि अंशहरू ‘सबसे खतरनाक’ नामक कविताका अंशहरू हुन्। कवि हुन् पाश अर्थात प्रसिद्ध क्रान्तिकारी कवि अवतार सिंह सन्धु। यि प्रसिद्ध कवि पाश भाषा र भूगोलको सीमाभित्र हेर्ने हो भने पन्जाबी र राष्ट्रियतामा भारतीय तर उनका शक्तिशाली सिर्जनाले दिनप्रतिदिन भाषा र भूगोलका पर्खाल भत्काइरहेका छन् र संसारका मुक्तिकामी जनताका संघर्षहरुमा उज्यालोका हतियार बनिरहेका छन् । पाशका शब्दहरू।
सन् १९५० सेप्टेम्बर ९ मा जन्मेका पाश जस्ले यस्तै शक्तिशाली शब्दहरूको कारण ३८ बर्षको उमेरमा शहादत गर्नु पर्यो। त्यसबेला दमन र अत्याचारले सिमा नाघेपछि सपनाहरुको मृत्यु हुन थाले।त्यसबखत नागरिकहरू घरबाट काममा निस्कने र खुरूखुरू घरमा फर्कने मात्रै काम भएर कवि पाशले यिनै खतरनाक गतिविधिलाई समेटेर शब्दहरू बुने।लाग्छ यिनी जन्मदा पंजाबमा जस्तो गतिविधिहरू थिए यो समय भन्दा लगभग एक शताब्दी पहिला उस्तै नै थियो नेपालमा पनि ।
निरंकुश जहानियाँ राणा शासनको युगको शुरूवात।त्यस वेला अर्थात सबै भन्दा खतरनाक स्थितिमा नेपालको राजनीतिक इतिहासमा निरकुंश जहानियाँ राणाशासनका प्रवर्तक जंगबहादुर राणाको उदय हुदै थियो।फेरि त्यसबेलाको राजा–महाराजाले ‘मेरा देशका लाटागाँडा जनताहरु’ भनेर सम्बोधन गरिने समय। ‘हुकुमको जवाफ छैन कालको औषधी छैन’ भनिने जंगबहादुरको कठोर शासनकालमा यस्तो समयमा पनि यस विरुद्ध जनतामाझ पहिलोचोटि जनस्तरबाट विद्रोह गरेका लखन थापाले।
प्रजातान्त्रिक आन्दोलन ,देश र जनताका निमित्त बि.स १९३३ फागुन २ गते अर्थात आजकै दिनमा आहुति दिएका थिए थापाले। राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय अन्य विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेको व्यक्तिलाई सहिद भनेर परिभाषित गरिए पनि प्रजातान्त्रिक आन्दोलनका लागि पहिलोचोटि निरकुंश जहानियाँ राणाशासक जंगबहादुर राणाविरुद्ध, जनस्तरबाट सशस्त्र विद्रोह गरेका लखन थापाले देशका लागि बलिदान दिदा राज्यले सहिद मान्न सकेन।
वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तर्रार्द्धमा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र शहीद घोषणा गरियो । तर लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने शहीद घोषणा गरिएन न त २०४६ सालमा बहुदलिय व्यवस्था घोषणापछि पनि गरिएन ।
बल्ल राज्यले उनले सहादत पाएको १२५ वर्षपछि बि.स.२०५६ फागुन ११ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा मात्र स्वीकार गरेर थापालाई सहिद घोषणा गरेको थियो तर अफसोच प्रथम सहिद चाहिँ भनिएन। आखिर पौराणिक किंवदन्तीको आधारमा त हामीले जनकलाई राष्टिय विभूति र सीतालाई राष्ट्रिय गौरव स्वीकार्दै आएका छौँ भने लखन थापालाई त प्रथम शहीद मान्ने थुप्रै आधार र अकाट्य प्रमाण हुँदा हुँदै उनिले सहादत पाएको १३९ बर्ष पछि मात्रै असोज ३ गते तत्कालिन प्रधानमन्त्री शुशिल कोईरालाको सरकारले प्रथम सहिद घोषणा गर्यो।
वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा जन्मिएका लखन थापामगर बीस वर्षे उमेरमा मगरहरुलाई मात्र भर्ती लिने गोरख गण पल्टनमा भर्ती भए । जुन पल्टन पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक हो। । डा. हर्षहादुर बुढाका अनुसार सन् १९१४ मा भारत स्वतन्त्रता आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो विद्रोह गर्यो।
अंग्रेजलाई सहयोग गर्न अनि सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल भएर त्यहाँ पुगेपछि विद्रोहीको आन्दोलन दबाउने क्रममा स्वतन्त्रता संग्रामका योद्धाहरूलाई अत्याचार गरी निर्मम तरिकाले गरिएका हत्याका दृश्यलाई नजिकबाट नियालेका थापाको हृदयमा नेपालमा जंगबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो। यसपछि उनिमा राणा विरोधी र जनपक्षीय विचार निर्माण भएको थियो ।
कप्तान पदसम्म पुगेका लखन थापाले वि.सं. १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट विदा लिए । इतिहासकार प्रमोद शमसेर राणाको पुस्तक गोरखा विद्रोह अनुसार लखन थापाले करिब दुइहजार युवा संगठित गरी केहि हतियार पनि जम्मा गरेको तथा सहकर्मी जयसिंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरेको थिए ।
उनले “फेरि नेपालको राजनीतिक इतिहासअनुसार “जंगेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ। नेपालमा सत्ययुग फिराऊ, मनकामना देवीले मलाई बरदान दिएकी छन्। भाइ हो! तयार होऔं”भनेर गाउँलेलाई ठाउँठाउँमा भेला गराएर चेतना फैलाउँदै संगठित हुन आह्वान गर्थे” भन्ने पनि पाईन्छ।
शिवलाल थापामगरको ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख छ। अध्येता उमेश रानाका अनुसार उनले जंगबहादुरका विरुद्ध बनाएका कागजातहरु चोरी भएर जंगबहादुरका पुगेपछि धीर शमसेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोलीले लखन थापा र उनका सहयोगीहरु पक्राउ परे ।
जंगबहादुरका ठाडो आदेशमा उनिसहित जयसिंह चुमीलाई पनि दरबार अगाडी खिर्राको रुखमा झुण्ड्याइयो भने चार जनालाई गोली हानेर मारियो । सन्त ज्ञान दिलदास र कालु लम्साल यि दुइ ब्राम्हणलाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापूर्ण ढंगले हत्या गरियो।
यसरी अल्जेरियाली कवि ताहेर जाउदको कविता
मौनता मृत्यु हो,
तिमी बोल्यौ भने मारिन्छौ
नबोल्दा पनि मारिन्छौं
त्यसैले
बोल र मृत्यु स्वीकार गर ।
माथिको कविता झै देश र जनताको हितको लागी राणाकालिन कालो रात विरूद्ध धावा वोल्दै मृत्यु स्वीकार गरे यी योद्धाहरूले।
आज फागुन २ गते लखन थापा र जयसिंह चुमीको स्मृति दिवस। तिन करोड नेपाली जनताले धेरै बर्ष पछि मात्र प्रथम सहिद को हुन् ? भन्दा लखन थापा भन्न त पाए तर व्यावहारिक रुपमा कार्यान्वयन भएको छैन। फेरि उनिसँगै महान बलिदान दिनेहरू जयसिंह चुमीहरू । सुकदेब गुरुङगहरू प्रति सरकार मौन। यसरी सरकार चुपचाप मौन हुदा ज्यूँदो इतिहासले गिज्जाईरहेको छ।यि महान योद्धाका आत्माले गणतान्त्रिक सरकारलाई कुरीकुरी गरिरहेको छ। सहिदहरु प्रति श्रद्वा सुमन।