स्याङ्जा – छैटौं वालिङ महोत्सव उद्घाटनका लागि पुगेका एमाले अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आयोजकसँग रिसाएर विचमै फर्किएका छन् ।
प्रमुख अतिथिको रुपमा मन्त्ब्य राख्दै गर्दा विद्युत अवरुद्ध भएपछि केही समय रोष्टममै उभिएका ओली आयोजकसँग रिसाएर काठमाडौं फिर्ता भए । बोल्दा बोल्दै लाइन अवरुद्ध भएर हिँडेका ओलीलाई मञ्चमा लैजान माग गर्दै कार्यक्रममा सहभागी एमालेका कार्यकर्ताहरुले मञ्चमा ढुङ्गा हाने । चार्टर गरिएको हेलिकप्टरबाट महोत्सव स्थल पुगेका अध्यक्ष ओली सोहि हेलिकप्टरमा फिर्ता भए ।
ओली फिर्ता हुनासाथ सहभागीले मञ्चमा ओलीलाई ल्याउन माग गर्दै ढुङ्गा प्रहार गरे । ढुङ्गा प्रहारपछि स्थितिलाई नियन्त्रणमा लिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । प्रहरी परिचलान भएपछि आमन्त्रित व्यक्तिहरु मञ्चबाट बाहिरीन बाध्य भए ।
ढुङ्गा प्रहारबाट पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका अतिथि रविन्सन प्रजु सामान्य घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको छ । एमालेका जिल्लास्तरीय नेताहरुले पार्टीका अध्यक्ष तथा नेता बोल्दा लाइन जानुमा षडयन्त्र भएको आरोप लगाए । आयोजकले उद्घाटन सत्रमा कमजोरी भएको भन्दै माफी मागेका छन् ।
घटनाको बारेमा छानविन गर्न स्याङ्जाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीको संयोजकत्वमा समिति गठन गरिएको छ । आयोजक वालिङ उद्योग वाणिज्य संघले उद्घाटन सत्र अबरुद्ध भएपनि शुक्रवारबाट सामान्य रुपमा महोत्सब सञ्चालन हुने जनाएको छ ।
आयोजक समितिको कमजोरीले विद्युत लाइन अवरुद्ध हुनासाथ जेनेरेटरको सही व्यवस्थापन गर्न नसक्दा उद्घाटन बिथोलिएको हो । महोत्सव स्थलमा रहेका दुईवटै जेनेरेटरमा प्रर्याप्त ईन्धनको तत्कालै व्यवस्था नहुँदा समस्या उत्पन्न भएको थियो ।
विहिवारको उद्घाटन सत्र औपचारिक रुपमा समापन समेत हुन सकेन । एमाले नेता एबं कार्यकर्ताले षड्यन्त्र पूर्वक लाइन काटिएको भन्दै कार्यक्रमा नाराबाजी गरेका हुन् ।