आज बिहीबार काठमाडौंबाट प्रकाशित प्राय दैनिक पत्रिकाहरुले उच्च अदालतका ८० न्यायाधीशले सपथ ग्रहण गरेको र इन्टरपोलको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
यसबाहेक, नयाँ पत्रिका दैनिकले साना दुई दल मन्त्रिपरिषद्मा थपिँदै र मुआब्जा विवादले सडक विस्तार अलपत्र परेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले बैंकहरु रित्तिएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।
राजधानी दैनिकले संविधान संशोधनको पक्ष वा विपक्षमा दुई तिहाइ पुर्याउन दलहरुले गरेको कसरत र लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छानबिन गर्न उपसमिति बनेको समाचारलाई प्राथमिकता दिएको छ ।
नागरिक दैनिकले पुनर्निर्माणमा सघाउन सेना खटइँदै र ठूला आयोजनालाई दातृ निकायहरुले डेढ खर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको समाचारलाई महत्व दिएको छ ।
कान्तिपुर दैनिकले सामुदायिक विद्यालय अब्बल भएको, कार्कीमाथि छानबिन हुने र औषधिको मूल्य २० गुणा बढी भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।
गोरखापत्र दैनिकले कार्कीविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्ने र भूकम्पपीडितलाई दोस्रो किस्ता रकम दिन सुरु भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।