युरोपको भिसा झरेछ….…


– रविचन्द्र भट्टराई

परदेसको गुलामी काम सकेर भर्खर घर अाईपुगेकाे थिएँ । दिनभरीका कामले जिउ गलेका थिए । साेफामा लड्नासाथ घुर्न सक्थेँ म । बाहिर जाडाे । माइनस् पन्ध्र थियाे तापक्रम । तीन दिनदेखी लगातार हिउँ परेर बाटाेमा हिँड्न पनि मुस्किल । मेराे साथी राजु कोठामा  नै थियो।
“अाेर्इ अाज काममा नजाने ?” मैले साेधें । उसकाे रातकाे काम ।
“अाज छुट्टि लिएकाे छु”
“किन नि ?”
उ केहि बाेलेन तर अलि फरक देखें । अरूदिन भन्दा ।
करिव दुर्इ वर्ष भयाे क्यार उ एकदमै निरास देखिन्थ्याे । म बाहेक कसैसँग बाेल्थेन । कामदेखी बाहेक कतै जान्थेन । नेपालीसँग भेट्न पनि डराउँथ्याे । जाे पनि त्यहि कुरा गर्थे । हैन बहिनी ल्याउने भनेकाे के भयाे ? दशैं, तिहार, ल्हाेसार, क्रिसमस, र इद सबै अाए अनि गए । तर उसलाई केहि पत्तै भएन जस्ताे भयाे ।
उसका बाले, अामाले, घरबाट फाेन गर्थे । उ उठाउँथेन । अनि मलाई गर्थे र उसका कुरा सुनाउँथे । बहिनीकाे भविष्य बिगारिदिएकाे दाेष उसमाथी थियाे ।

बहिनीकाे भिसा लगाउन भनेर उसले अनेक गरेकै हाे तर दुर्इ पटकसम्म भिसा नदिएपछि उ निरास भयाे ।
विदेस जान भनेर खुट्टा उचालेकी उसकी बहिनी पढाई नै छाेडेर भाषा सिकेर बसेकी थिइन् तर दुई वर्ष पुरै भयाे भिसा लाग्या हैन । विदेसकाे कुरा चलेपछि अाजकलका युवा युवतीलाई मन अन्तै डाेर्याउन गाह्राे पर्दाे रहेछ । जान्छु भनेर जान नपाउनु र ल्याउँछु भनेर ल्याउन नसक्नुकाे पीडा राजुले एक्लै भाेगेकाे थियाे ।

याे समयमा उसमा केहि हाेस नै थिएन । काममा पनि समस्या खडा भएकाे छ भन्ने सुनेकाे थिएँ । धेरै भयाे उसले पकाएकाे तरकारीमा नुन कि त खल्लाे कि त चर्काे हुन्थ्याे ।  म स्कूल पढ्दै गर्दा दुवइमा काम गर्ने एकजनाले दस अाेटा भिसा लिएर अाएकाे कुरा गाउँभरी चल्याथ्याे । भिसा भनेकाे कस्ताे हाेला जस्ताे लाग्थ्याे । मलाइ त त्याे बेलादेखी अाजसम्म भिसा भनेकाे टिभी जस्तै लिएर अाउन मिल्ने चिज नै जस्ताे लाग्छ । तरकारी बजारमा एक किलाे काउली किनेजस्ताे ।

मलाइ पनि काठमाण्डाैंका म्यान पावरले भिसा झरेपछि बाेलाउँछु भन्थे । खै त्याे कहाँबाट झर्ने रहेछ कुन्नि । धाराबाट पानी झर्दा पनि मलाई लाग्थ्याे भिसा पनि यसरी नै झर्ने हाे कि ? केहि पत्ताे थिएन याे कसरी कहाँ र कैले झर्छ भन्नेकुरा । राजुका परिवारलाई त झन् के थाहा भिसा भनेकाे के हाे ? र त्याे कसरी पाइन्छ ? उनीहरूले त पक्कै पनि साेच्या हाेलान् युराेपमा सपिङ्ग महलकाे जुत्ता बेच्ने पसल नजिकै ठूलाे बाेर्डमा भिसा बिक्रिमा भनेर लेख्या हुन्छ । उनिहरूले त्याे पनि साेच्या हाेलान् भिसा महङ्गाे हाेला बहिनीकाे लागी किन खर्च गर्थ्याे र ?

या पैसाजती सेता छाला भएका कुइरिनीमाथी खर्च गर्छ । अथवा साेचे हाेलान् विदेस गएपछि के सम्झिन्छ र अाफन्त परिवार । पक्कै पनि उनिहरूले कहिल्यै साेचेनन् युराेप पहिलाकाे जस्ताे युराेप छैन । विदेसीलार्इ अाजकल धेरै कडा हुन थाल्याछ । भिसामा एउटामात्र कागजपत्र पुगेन भने या अलिकति पनि ठाउँ पाए भने भाे भन्न कत्तिपनि हिच्किच गर्दैनन् । उनिहरूले पक्कै पनि साेच्याछैनन् यहाँकाे पीडा कस्ताे छ । यहाँ काम पाउन कति मुस्किल छ । पाएपनि पहिलाकाे जस्ताे पैसा अब छैन र बाँच्नै मुस्किल हुन थालिसक्याछ भन्ने कुरा । भिसा युराेपबाट हैन त्यहिँबाट लिनुपर्छ भन्ने कुरा त उनिहरूले पत्याउने थिएनन् नै । यहिँबाट लिएपनि उताबाट पठाएमात्र हाे भन्थे ।

‘दाजुले पठाए त एम्बेसीले दिइहाल्थ्याे नि रे’
‘उतैबाट नपठाए र हाे’
उसका चिनेजानेका मान्छेहरूले मलार्इ फेसबुकमा भन्थे । त्याे फटाहाले त्यसै बहिनीलाई भिसा पठाउँछु भनेर भविश्य नै बिगारिदियाे । अाज हुन्छ भाेली हुन्छ भन्दा भन्दै दुई वर्ष गयाे ।
राजुकी बहिनी दिनकाे एक पटक उसलार्इ म्यासेज गर्थी मात्र एक शब्द
“दाई”

बस् त्याे दाई शब्दरूपी घण्टीले राजुकाे हाेस् हावामा उडाउँथ्याे । पागल जस्ताे भएकाे थियाे बहिनीकाे भविष्य बिगारेर तर उसले चाहेर बिगारेकाे थिएन । उसकाे त्याे पीडा पत्याउने काे थियाे र ?
उसकाे अाखाँ त्यसै सुकेका पाेखरी जस्ता देखिन्थे । अनुहार नै खस्रा भैसकेका थिए । रातभरी छट्पटिन्थ्याे । बिहान गलेका अाँखा लिएर काममा दाैडन्थ्याे । अनि दिनभरी घरबाट अाएका खवरहरू उसलार्इ भाेक मेटाउने क्याप्सुल जस्ता हुन्थे ।

पहिलाे पटक भिसाकाे निवेदन हाल्दा त बहिनीकाे खुसीकाे सिमाना नै थिएन । दाईले जसरी पनि गरिहाल्नु हाेला भन्नेमा विश्वस्त थिर्इन् । तर यहाँकाे सरकारले याे पछि त्याे कागज मागेर हैरान पार्न थालेपछि भने एकाएक सबैका विश्वासका वातावरण परिवर्तन हुनथाले ।  साथीसङ्गी र गाउँलेहरूले बहिनीलार्इ जिस्काउन थाले ।

युराेप जान्छु भन्थीस् त अझै यतै छेस् ?
उसलार्इ, घर परिवारलार्इ र सबै अाफन्तहरूलार्इ लाग्याे अब त इज्जतकाे सवाल छ । जसरी पनि जानै पर्छ । हामी त समाजकाे लागी बाँच्ने नेपाली हाैं । कसैले केहि भन्छन् कि भनेर डराउनु पर्छ अनि त्यहि डरैडरमा जीवन बित्छ । भिसा लगालग दुर्इ पटक फेल भयाे । अब उसकी बहिनी नअाउने पक्का भएछ क्यारे केहि महिनादेखी कसैले सम्पर्क नै गरेका थिएनन् ।

राजु कलङ्कीत दाजुकाे बिल्ला भिरेर काममा जान्थ्याे, फर्किन्थ्याे अनि सुत्थ्याे निराश मन लिएर । मलाई  उसकाे चालढाल देखेर डर लाग्थ्याे ।
म उसलार्इ सार्इकाेलाेजिष्टसँग परामर्स लिन अनुराेध गर्थेँ ।
उ खिस्त पहेंला दाँत देखाएर टार्थ्याे ।

त्यस्ताे दाजु हुनुभन्दा त नभएकै जाती भन्थे रे वरपरका । विवाह गर्ने बेला भएकि बहिनीकाे अनुहार सुकेका खाेस्टा जस्ता देखिन्थे पिर र चिन्ताले । त्याे सबैकाे दाेष उसले खप्नु छ । याे गएकाे दुर्इ वर्षमा उसले अाफ्नालार्इ पनि चिन्याे । यहाँ कसैकाे काेहि हुँदाे रहेनछ भन्ने जान्याे । दिए सबै अाफ्ना नदिए अाफ्ना पनि टाढाका जस्ता लाग्ने रहेछन् ।

म दिनदिनै सम्झाउने काेसिस गर्थेँ । उसलार्इ डिप्रेसनले बेसरी च्यापेकाे थियाे । मलार्इ डर लाग्थ्याे कतै केहि गलत त गर्दैन भनेर । उसले झ्यालबाट बाहिर हेर्याे भने धेरै बेरसम्म उसका अाँखा टाेलार्इ रहन्थे । म उसलार्इ भुलाउने काेसिस गर्थेँ । सबथाेक ठीक हुन्छ भन्थेँ । अहँ उ कत्ति पनि खुसी देखिन्थेन ।

अाज म जाडाेले थरथर हुँदै काेठा भित्र छिर्दा उसकाे अनुहारमा पहिलाकाे जस्ताे दुःख देखिन । वातावरण अलि फरक थियाे । टेवलमा ह्विस्कीकाे बाेतल र प्लेटमा मासु पकाएर राखेकाे रहेछ । एकदमै तयारी थियाे । मेरै प्रतिक्षामा बसेकाे रहेछ ।
“अाज रमार्इलाे गर्ने हाे” उ मन्द मुस्कानमा मतिर फर्केर भन्याे ।
म दंग परेर उ तिर हेर्छु । त्याे बहिनीकाे भिसाकाे कलङ्कले बितेका दुर्इ वर्षमा उसले कहिल्यै रमार्इलाे भन्ने कुरा के हाे समेत ध्यान दिएकाे थिएन ।

उसका परिवार र अाफन्तले गरेका गाली सुन्दा सुन्दा मेरा पनि कान पाकिसकेका थिए । यस्ताे बेलामा कसरी अाज राजु रमार्इलाे काे खाेजीमा लाग्याे । मैले बुझ्नै सकिन ।
सायद अब त बिर्सिएछ कि त्याे पीडा । मलार्इ पनि खुसी नै लाग्याे । केटाे अब लार्इनमा अायाे ।
अरू कुरा केहि भएन । उ रमाएकाे थियाे । मैले प्रसंग बदल्न चाहिन । बाहिर हिउँ परेर चिसाे झन् बढ्लाकी जस्ताे भैरह्याे । त्यहि जाडाे भुलाउन भएपनि हामी ह्विस्की पिउन थाल्याैँ ।
“ल भन् अब के हाे याे खुसीकाे रहस्य ? अचानक तँ अाज एकदम खुसी देखिन्छस् । नयाँ काम पार्इस् कि के हाे ?”
उ हाँस्याे ।

अझै केहि भनेन । यि दुर्इ वर्षमा उसका गालामा खाेपिल्टा परेका थिए । जिउ स्वात्तै घटेकाे थियाे । हाँस्दा पनि गालामा बंगाराकाे अाकार प्रष्टै देखिन्थ्याे ।
“बहिनीकाे भिसा लागेछ” । उसले हँसिलाे अनुहार लगाएर भन्याे ।
पत्याउनै नसकिने कुरा ।
“तेस्राे पटकमा भिसा लागेछ”
“यस पटक पनि अाश त थिएन तर लागेछ” उ मात्र बाेली रह्याे । म त ट्वाल्ल परेर हेरि रहें । लाटाे जस्ताे भएर । ममा पनि खुसीकाे सिमाना थिएन ।

अचम्म भयाे । उ खुसी भयाे । उसकि बहिनी लगायगत सबै परिवारमा खुसी छायाे । त्याे दिन हामीले बेलुका अबेर सम्म पियाैं । भाेलीपल्ट गाउँमा बहिनीकाे भिसा झरेकाे हल्ला चल्याे । भिसा पठाउने दाजुकाे हाइहाइ भयाे । त्यहि झरेकाे भिसाले गर्दा राजुकाे बहिनीले दाइमात्र भनेर लेख्ने खवरमा परिवर्तन भयाे । घर परिवारले बल्ल राजुकाे कुरा पत्याए । छर छिमेकले पनि राजुकै गुणगान गाए । तेस्राे पटककाे भिसाले राजुले जीवनदान पाएकाे थियाे । भिसा झरे लगत्तै उसकाे कलङ्ककाे दाग पनि झरेकाे थियाे ।

म भने अझ पनि अन्याेलमा थिएँ । कत्राे ताकत रहेछ त्याे झरेकाे भिसामा । नझरेकाे भए के राजुकाे नाता सम्बन्ध विश्वास इज्जत सबै माटाेमा मिल्ने नै थियाे त ? त्यसाे त मान्छेकाे सम्बन्ध त्यै भिसामा अड्केकै हाे भने किन चाहियाे हामीलार्इ कसैकाे भराेसा । त्याे सबै देखेर लाग्याे याे संसारमा काे अाफ्नाे काे परार्इ सबै स्वार्थकाे तारले बेरिएका छन् । जुन दिनसम्म साथ मिल्छ हाइहाइ जुन दिन खुट्टा लर्खरिन्छ बाइबाइ ।