“सरसर्ती संसारलाई,सरसर्ती पढ्दा”


-बसन्त रानाभाट

सन् १९८६ मा उच्च शिक्षाका लागि तत्कालिन सोभियत संघमा आएका जीवा लामिछानेले चाहेर पनि त्यो बर्षलाई भुल्न सक्दैनन् ।

सम्भवतः उच्च शिक्षाको त्यस्तो अवसर नजुरेको भए आज ‘सरसर्ती संसार’ पढ्ने अवसर यो पंक्तिकारले पनि पाउने थिएन । त्यसैले सुनौलो भविष्यको भाग्य रेखा कोरिएको त्यो बर्ष स्मरणयोग्य रहेको अनुमान लगाउनु स्वभाविक नै ठानेको छु ।

संयोग नै मान्नुपर्छ त्यही बर्ष मेरा लागि पनि त्यत्तिकै बिशेष रहृयो । किनकी धर्तीमा मैले पाइला टेक्ने अवसर पाए । सन् १९८६ मा युरोप छिरेर सरसर्ती संसार घुमिसकेका एक सफल उद्यमीको अनुभुतिलाई त्यसै बर्ष जन्मेको मैले नियात्रा संग्रहको रुपमा पढ्न पाउँदा पुलकित बनेको छु । अन्याथा अर्थ नलगाउनुहोला, पुस्तकमा उल्लेख भएको त्यो बर्ष आˆनो लागि पनि बिशेष भएकाले मैले बढी नै महत्व दिएको मात्र हो ।

‘युरोप’ शब्दलाई अलि ठूलै बनाएर वा धेरै नै महत्व दिएर पढियो या बुझियो थाहा भएन, तर युरोप आउनु, पढ्नु, घुम्नु अझै पनि बिशेष रुपमा नै हेरिन्छ । “‘कता छ ?’ ‘युरोपमा…’, ‘कहाँ पढ्छ ?’ युरोपतिर…” नेपाली समाजमा युरोपको छाप अहिले पनि गहिरो नै छ । त्यसैले मलाई पनि भन्न मन लागेको हो, त्यो जमानामा जीवा लामिछाने, मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियररिङमा स्नातकोत्तर अध्ययन गर्न आउँदा म त भर्खर जन्मेको पो रहेछु ।

हामी जस्तै धेरै पात्रहरु प्रवासमा छौं । उमेर, काम, पेशा व्यवसाय आदिमा आकाश पातल जस्तै भिन्नता छ तर पनि गैरआबासीय नेपाली संघले (एनआरएनए) नजिक बनाइदिएको छ ।

बर्षौ पहिले आएका हुन् वा भर्खर प्रबास छिरेका नेपालीहरु किन नहुन् संघले एउटै छाता मुनि अटेको अनुभूत गराएको छ । संघका पूर्व अध्यक्षले रचेको पहिलो कृतिलाई स-प्रेम उपाहारसहित यसरी पढ्न पाउँनु यसैको एउटा उपज हो ।

०००

अब बिषय तर्फ नै प्रबेश गरौ, ‘सरसर्ती संसार’ पढ्न एक हप्ताजति लाग्ला भन्ने सोचेको थिएँ, तर बिहान र बेलुकीको समय मिलाएर पढ्दा ३ दिनमा नै सकिएछ । २ सय २० पृष्ठ लामो पुस्तक अक्षर नछोडी पल्टाइसकेछु । पढेपछि अलि फरक अनुभूति भयो । सिनेमा हलबाट फिल्म हेरेर निस्के पछि मानसपटलमा कस्तो अनुभूति हुन्छ, मैले त्यस्तै महशुस गरेँ ।

‘रेलमा बर्लिनदेखि सामान लिएर मस्को तिर कुदे जस्तै, समुन्द्रको पिँधमा पुगेर कोरल रिफ र समुन्द्री बनस्पति टिपेजस्तै, पुर्बी अफ्रिकी मुलुक केन्याको जंगलमा जोसफले मलाई नै हेर्दै भन्दै थिए’ “मानिस मात्र त्यस्तो जनाबर हो, जो कहिल्यै अघाउँदैन”

त्यति मात्र हैन मानसपटलमा धेरै नै कुराहरु महशुस गरेँ । दक्षिण अफ्रिकी धनाढ्य सोल क्रेइज्नरले बनाएको एटलान्टिस पास्म नामको बिशाल होटलमा रात बिताए जस्तो, जापानमा काटो सानसँग नेपाली स्वाभिमानका खातिर होटलको बिषयमा बहस गरेको अनुभव लेखकले प्रस्तुत गरेका छन् ।

बसन्त रानाभाट
बसन्त रानाभाट

अझ भन्नु पर्दा म तीन दिनमा नै संसार घुमेछु । संसारका पाँचै महादेश डुल्दाका अनुभूतिहरुलाई महशुस गर्न पाएँ । युरोपको रेलमा एक फन्को मार्दा मस्कोको लेनिनग्राद्स्की रेलवे स्टेशनबाट छुटेको न त पत्तो पाइयो न पोल्याण्डको वार्सा तथा बेलारूसको मिन्स्क हुँदै मस्को झरेको नै ।

केवल नियात्राकारले बर्णन गर्ने सुन्दर मनोमहम दृश्यसँगै झुमेको पल सम्झनामा छ । लेखकले भने जस्तै यायावर स्टाइलको एक्सप्रेस यात्राको महशुस सरसर्ती पढ्दा भेटियो ।

‘सरसर्ती संसार’ले कौतुहलता मेटाउने मात्र होइन, अझ धेरै सिक्ने र बुझ्ने ठूलो अबसर दिएको छ । बिशेषतः प्रिन्स राजा भएको देश शिर्षकमा पेज ९४ देखि ९९ सम्म लेखिएका प्रत्येक शब्दहरुले धेरै जान्ने र बुझ्ने अबसर दिएको छ ।

पहिलो कुरा ‘लिकटेनस्टाइन’ को बारेमा अनबिज्ञ मलाई त्यहाँका बारेमा लेखिएका सबै जसो कुरा नौला लागे । अष्ट्रिया र स्वीट्जरल्याण्ड दुबै भूपरिवेष्टित मुलुकले घेरिएको ‘लिकटेनस्टाइन’ हाम्रा लागि प्रेरणाको स्रोत बन्ने भन्दै लेखकले प्रस्तुत गरेका विवरणहरु मननयोग्य छन् ।

भारतसँग बढी आश्रति हुनुपर्ने बाध्यता, नाकावन्धीको प्रशंग र भूपरिवेष्ठित मुलुकले गरेको प्रगतिबारे पुस्तकमा उल्लेख छ । राजतन्त्रात्मक मुलुक ‘लिकटेनस्टाइन’मा राजालाई प्रिन्स भनेको सुन्दा पाठकलाई पनि अचम्म लाग्यो ।

त्यसो त दक्षिण कोरियाले ५० बर्षमा मारेको आर्थिक फड्को, सिंगै महादेशलाई देश बनाएर संसारकै नमूना बनेको अष्ट्रेलियाको बिकास, भूपरिवेष्टित मुलुक स्वीटजरल्याण्डको प्रगति, युद्दको घाउ बोकेर पनि जापानले गरेको बिकास र यिनै देश घुम्दा लेखकले प्रस्तुत गरेका रोचक घटनाहरु तथा प्रेरणादायी बिचारहरुले पाठकको मन सरसर्ती जितेको छ । प्रवासमा नेपालीहरूले गरेको व्यवसायिक सफलताको बारेमा पनि लेखकले छोटो रुपमा चर्चा गरेका छन् ।

अष्ट्रेलियामा शेष घले दम्पत्तिदेखि जापानमा भवन भट्टले गरेको व्यवसायिक सफलताको उदाहरण प्रस्तुत गरेका छन् । यस्तै जर्मनीका युवा ब्यबसायी कुमार पन्तसँगको व्यापार साझेदारीदेखि उनीसँगै गरेका यात्रा पलहरूको पनि सम्झना गरेका छन् ।

संसार घुम्दा देखिएका वा भेटिएका प्राकृतिक मनोरमका दृश्यहरुसँग नेपालका सुन्दर हिमाल, पहाड, खोला नाला, ताल तलैया, पोखरी, झरना, जंगलसँग तुलना गरेको देख्दा लेखकको मातृभूमिप्रतिको औधी माया, प्रेम र स्नेह भेटिन्छ ।

लेखकले भारत, माल्दिभ्स, बर्मा, दुबई, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, अमेरिका हुँदै सेसल्स र केन्याका बिभिन्न शहरहरुको यात्रालाई रोचक ढंगले पुस्तकमा बर्णन गरेका छन् ।

यस्तै इजिप्ट, ताजिकिस्तान, युक्रेन, मोन्टेनेग्रो, लिकटेनस्टाइन, चेक गणराज्य, इस्टोनिया, पोल्याण्ड, अष्ट्रिया, स्बिट्जरल्याण्ड, जर्मनी, रुस, होल्याण्ड, स्पेन, फिनल्याण्ड, डेनमार्क लगायत अन्य युरोपेली मुलुकहरुको पनि चर्चा गरेका छन् ।

बिभिन्न देशहरुको आर्थिक, सामाजिक ऐतिहासिक पक्षसँगै त्यहाँ रहेका नेपालीहरुको अवस्थाको बारेमा चित्रण हुँदा झनै पाठकको मन जितेको छ । उच्च शिक्षाको क्रममा तत्कालिन सोभियत संघबाट सुरु गरेको यात्राका पल तथा घटनाहरु निकै रोचक र चाख लाग्दा छन् । एक अर्थमा लेखकलाई यात्राले नै व्यवसायिक तथा उद्यमी बन्न प्रेरणा मिलेको संकेत पुस्तकमा भेटिन्छ ।

लेखकले एक्लै संसार घुमेका हुन् कि भनेर अनुमान लगाइयो भने त्यो गलत हुनेछ । उनले बर्णन गर्ने प्रायः पलहरुमा बिन्दिता, अनुराग र अनुकृत पात्रहरु पटक पटक दोहोरिएका छन् ।

श्रीमति, छोराहरु तथा परिवारप्रतिको स्नेही भाव कतिसम्म दर्शाएका छन् भनेर बुझ्नका लागि भने पुस्तक नै पढ्न जरुरी छ । कतिपय यात्राका पलहरुमा आफू एक्लै हुँदा परिवारलाई पटक-पटक सम्भिmएका पनि छन् । सामुन्ऽिक किनारामा पुगेर पौडी खेल्ने परिवारको ठूलो रूची हो कि भन्ने देखिन्छ ।

पुस्तक पढिसके पछि यस्तो पनि लाग्यो एक्लै ब्यक्तिको चाहानाले मात्र संसार घुम्न त्यति सहज रहेनछ । सरसर्ती संसार नै घुम्ने हो भने त परिवारको ठूलो साथ र सहयोगको आवश्यकता हुँदो रहेछ ।

अन्त्यमा हेनरी भान डाइकको कबितापङ्ित्तलाई नेपालीलाई अनुबाद गरी ‘सरसर्ती संसार’मा समावेश गरिएका यी हरफहरु

‘लण्डन पुरुषको सहर हो,त्यहाँ बतासमै शक्ति छाउँछ
पेरिस महिलाको सहर हो,त्यहाँ सौन्दर्यको सुवास आउँछ ।
भेनिसका मीठा सपनाहरु,इतिहासको रोम सहर
घुम्न रमाइलो होला,बस्न राम्रो त आˆनै घर ।।’