विकास समितिको प्रश्न “रेलमार्गको काम कहाँ पुग्यो ?


काठमाडौँ- व्यवस्थापिका-संसद्, विकास समितिले मुलुकमा संचालन हुने भनेर योजनामा परेका रेलमार्गका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री तथा अधिकारीहरुसंग छलफल गरेको छ । समितिको बिहिबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई बोलाएर रेलमार्गका विषयमा निर्देशन दिएको छ ।

समितिले जनकपुर-जयनगर रेल मार्ग यसै आर्थिक वर्षमा सञ्चालन हुने गरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ ।

त्यस्तै काठमाडौँ मेट्रो रेलको काम अगाडि बढ्ने गरी पुनः सम्भाव्यता अध्ययन गर्न, रेल मार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन र अन्य जग्गा संरक्षण गर्न, नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा)को मात्रै भर नपरी खानीको सामान उपयोग गर्न पनि निर्देशन दिएको छ ।

समितिले नेपालका विभिन्न क्षेत्रमा रेल सेवा पुर्याउनका लागि समग्रमा ‘रेल सञ्जाल कार्ययोजना’बनाउन पनि निर्देशन दिएको छ । उत्तर दक्षिण नाका जोड्ने रेल मार्ग निर्माणबाट देशको आर्थिक विकासको आधार निर्माण हुने र त्यसबाट विश्वका अन्य देशसँग व्यापारिक पहँुच बढ्ने भएकाले समग्र कार्ययोजना बनाउन निर्देशन दिएको हो ।

काठमाडौँमा मेट्रो रेल चलाउनका लागि यसै वर्षबाट काम प्रारम्भ प्रतिबद्धता व्यक्त गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपालमा रेल मार्ग निर्माणका लागि विभिन्नदेशसँग समेत छलफल भइरहेको मन्त्री लेखकको भनाइ छ । “पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल मार्ग निर्माण गर्नेबारे आवश्यक तयारी भइसकेको छ, चाँडोभन्दा चाँडो पिटिआर तयारबारे प्रक्रिया अगाडि बढेको छ”-मन्त्री लेखकले भन्नुभयो

सभापति रवीन्द्र अधिकारीले चीन र भारतलगायतका मुलुकमा रेल यातायात राम्रो रहको अवस्थामा नेपालले पनि रेल नेटवर्कलाई प्रभावकारी बनाउन कार्ययोजनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य तथा सांसदहरू चिनकाजी श्रेष्ठ, महेन्द्र यादव, रामकृष्ण घिमिरे, शान्ता मानवी, शिवजी यादव र ललितजङ्ग शाहीलगायतले जतिसक्दो चाँडो रेल मार्ग निर्माणमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव धनबहादुर तामाङ र रेल विभागका निर्देशक आनन्द आचार्यले रेलमार्गबारे धेरै काम अगाडि बढिसके पनि विविधि समस्याका कारण ढिलाइ भइरहेको समितिलाई जानकारी दिनुभयो ।