प्रधानमन्त्री दाहालको सम्पत्ति १ कठ्ठा जमिन र ३ तोला सुन (छापाबाट)


मंसिर २९, २०७३- सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नाममा कुनै सम्पत्ति नरहेको जनाएका छन् ।

प्रधानमन्त्री दाहालले पत्नि सीता दाहालको नाममा चितवनमा १ कठ्ठा जमिन र तीन तोला सुन रहेको उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति स्व सुशील कोइरालापछि ‘गरीब’ प्रधानमन्त्रीका रुपमा दाहाल दरिएका छन् ।

यस्तै, उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो नाममा सुन ६० तोला र चाँदी १ सय ५० तोला रहेको विवरण पेस गरेका छन् । सुन र चाँदी दाइजोबाट प्राप्त भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधिबाट हस्ताक्षर भएर जारी भएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ समेत छ ।

उनले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी, कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण सार्वजनिक गरेका छन् । सोही स्थानमा थप ३ आना जग्गा रहेको उल्लेख छ ।

तराईमा १९ विघा जग्गा, बैंक ब्यालेन्स २९ लाख, साढे १३ लाख उठाउन बाँकी, २०५४ सालमा ७ लाख रुपैयाँमा किनेको एउटा निशान भ्यान र २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा २ तले घर र १ तले गोठ छ । यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । उक्त जमिन पनि उत्पादनमा प्रयोग नभएको उल्लेख छ । महराको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ । आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ ।