नेपालको भौगोलिक नक्सा डिजिटलाइज हुने (छापा)


नेपालको भौगोलिक नक्सा डिजिटलाइज हुने भएको छ । डिजिटलाइज भएपछि नेपालका सिमानामा हुने गतिविधि र अतिक्रमणबारे मुलुकको कुनै पनि स्थानबाट सजिलै थाहा पाउन सकिन्छ ।
गोरखा भूकम्पले क्षति पु-याएका नापी मापन केन्द्रहरूलाई पुनःस्थापित गर्दा यस्तो प्रविधिका उपकरण जडान हुने नापी विभागले जानकारी दिएको छ । अति आधुनिक प्रविधिका ती उपकरण देशभर १५० वटा राखिनेछ । ती केन्द्र स्थापनाका लागि करिब दुई अर्ब ६६ करोड रुपियाँ आवश्यक पर्नेछ ।

ती उपकरण कन्टिन्युस अपजरभिङ रिफरेन्स सिस्टम (सीओआरएस) प्रविधिमा आधारित हुनेछन् । नेपालको पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म ती उपकरण भूउपग्रहीय दिशानिर्देशीय प्रणाली (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम)का आधारमा सञ्चालन हुनेछन् । आजको गोरखापत्र दैनिकमा खबर छ  ।

यो प्रविधिको आधारमा ससाना ‘इलेक्ट्रोनिक रिसिभर’ले आफ्नो स्थान कहाँ हो भनेर जानकारी दिन्छन् । समयको सिग्नलसँगै देशान्तर, अक्षांश र उचाइलाई निश्चित रूपमा उक्त रिसिभरले मापन गरिरहेको हुन्छ । उक्त रिसिभरले समयको सिग्नलका आधारमा स्थानीय समयलाई मापन गर्नसक्छ । दसगजामा रहेका स्तम्भलाई आधार लिएर ती उपकरण देशका विभिन्न स्थानमा राखिने नापी विभागका महानिर्देशक कृष्ण बीसीले बताए ।