“युरोप जान हिँडेको दिल्लीको बास भो, निद्रा कसरी लागोस् त ?”


– रविचन्द्र भट्टराई

“ए भाइ यता यता” लक्ष्मी दिदी, मेरो भविष्य कोर्ने मान्छे । सडकको पल्लो किनाराबाट बोलाइरहेको देखेँ ।मलार्ई सुट्केसको मायाभन्दा पनि सुट्केसभित्र भएका सामानहरुको चिन्ता थियो । सुट्केस त पुरानो थियो । ठाउँ ठाउँमा छाला फर्किएको । ठूलोबाको छोराले सित्तैमा दिएको थियो । कति हजारमा पो हो किनेको भन्दै थियो । खुब लोभी थियो, देला भनेर सोचेको पनि थिइनँ । युरोप जाने पक्का भएपछि, उसैले ‘मसँग छ सुट्केस किन्न पर्दैन’ भन्दा म दङ्ग परेको थिएँ ।

अरु सबै जम्मा भइसकेका थिए । म अचम्ममा परेको थिएँ ! सबैका आफन्त छोड्न आएका, म मात्रै रहेछु एक्लै आउने ।सबैका निधारमा रातो टिका । घाँटीमा पहेँलो रातो रङको कपडाको ध्वजा भिरेका । म त उनीहरुको सुट्केस बोक्ने भरियाजस्तै देखिन्थेँ । अघिल्लो रात खजाना खोज्नमा लागेको भए त्यही पनि मेरो भाग्यमा हुने थिएन । चिसो भुइँमा कति रात काट्नुपथ्र्यो ! कति कुरा काट्थे साथीभाइहरुले !  लक्ष्मी दिदी खुसी देखिन्थिन् ।

कालो चस्मा भिरेकी । हात, घाँटी जतात्तै सुनैसुनले ढाकिएकी । हाम्री दिदी । सबैकी दिदी । उनका कपडा सबै बाहिरैबाट आयात भएका जस्ता देखिन्थे । चार तले घर छ रे बानेश्वरमा । मैले त देखिनँ । बीस वर्ष भयो रे युरोप पठाउने काम गर्न थालेकी । काठमाडौँमा युरोप पठाउने मध्येमा एक नम्बरकी दलाल हुन् रे ! मलार्ई त सुरूमा छोरीमान्छे दलालभन्दा अचम्म लागेको थियो ।

दिदीले पासपोर्ट र टिकट सबैलाई वितरण गरिन् । भिसा इस्तानबुलसम्मको मात्र लागेको थियो । केही केहीले वादविवाद गर्न थाले । मलार्ई त इस्तानबुल भनेको कता हो भन्नेसम्म पनि ज्ञान थिएन । कतै दिदी भनाउँदी दलालले हामीलाई ठग्न खोजेकी त होइनन् ? सबैका मनमा चिसो पसेको थियो । मलार्ई सीधै घरमुनिको खेतको सम्झना आयो । पछि कुरा बुझिँदै गइयो । उनले सधैँ यसरी नै पठाउने गरेकी रहिछन् ।

विवाद गर्नेहरु पनि विश्वस्त भएपछि लागियो एयरपोर्टको मूल गेटतिर । हातमा इस्तानबुल जाने भिसा लागेको पासपोर्ट र दिल्लीसम्मको टिकट थियो र सुट्केस अनि त्यसभित्र नयाँ लुगा । मन जोस र उमङ्गले भरिभराउ ।

मैले सबथोक बिर्सिएको थिएँ । बा, आमा, बहिनीहरु । सपना थियो आँखाभरि, युरोप । भोक पनि लागेको थिएन । वास्तवमा भन्दा मैले आफैलाई बिर्सिएको थिएँ । “भाइको नाम के हो ?” सहयात्रीमध्येका एक जनाले एयरपोर्ट भित्र पुगेपछि सोधे । उनको उमेर धेरै जस्तो लाग्थ्यो ।

लगभग मेरै बाको हाराहारी ।  हँसिलो अनुहार बनाएर मीठो गरी बोल्ने । उचाइले होचा भए पनि निकै छरिता, हृष्टपुष्ट देखिन्थे । “अर्जुन” हात मिलाउँदै भनेँ । “म हरिबहादुर, घर म्याग्दी बेनी बजार” उनले भने । उनको सुट्केस मेरोभन्दा राम्रो थियो । लवाइको त कुरै नगरौँ, चिटिक्क परेर बिहेमा जान लागेका जन्ती जस्तो । मैले पट्याएर राखे जस्तो अर्मानी त उनले लगाएका थिए ।  सामानको चेक भयो । सुट्केसलाई लगेज पनि गरियो । अब सुट्केस घिसारिरहनुपर्ने थिएन ।

त्यो दिन २३ मार्च २००८ थियो ।म्याग्दीका हरि दाइ मसँगैको सिटमा थिए । “भाइ युरोप पुगेपछि कहाँ बसम्ला के गरम्ला केही टेन्सन लिनु पर्दैन । मेरा दाइका छोराहरु छन् । मेरो आफ्नै सालो पनि उतै छ । काम गर्न र बस्नको केही चिन्ता नलिनू” हरि दाइले यतिभन्दा मलार्ई ठूलै आधार भएको थियो ।  उनका ती सबै आफन्तहरुलाई लक्ष्मीले नै पठाएकी रहिछ ।

“भाइ, लक्ष्मीले त मेरो दाइको परिवारलाई त कहाँबाट कहाँ पु¥याइदिई ।”  लक्ष्मीलाई शङ्का गर्ने बाटै थिएन, दाइले यसो भनेपछि, मन ढुक्क भयो ।  उनका दाइका दुईजना छोरालाई उसैले पठाएकी रहिछे । अहिले उनीहरुको त उतैको कार्ड बनिसकेको रहेछ ।दाइसँगका कुरा जे भए पनि साह्रै मिलनसार लाग्यो । एक्कैछिनमा एकदमै घनिष्ठ पो बने ।

हरि दाइ इन्डियन फौजबाट पेन्सन पकाएर भर्खरै नेपाल छिरेका रहेछन् । भर्खर फौजबाट निस्केको जोस, गाउँमा मारपिट गर्न कहिल्यै पछि नपर्ने भएकाले घरमा परिवारसँग ठाकठुक हुन थालेछ । दाइका परिवारले करोडौँ कमाएको हुनाले त्यो बूढेसकालमा पेन्सनले नपुगेर लागेछन् बाटो ।  हामीमध्ये हरि दाइ नै पाका थिए, अरु सबै म जस्तै अल्लारे । कोही दुबई कतार पुगेर आएका पनि थिए । कोही स्कुल पढाउने मास्टर पनि थिए । मैले आफ्नो परिचय चाहिँ धेरै दिएको थिइनँ । किन किन मलार्ई होटलमा घटेको घटनाले झस्काइरहेको थियो । “कति दियौ लक्ष्मीलाई भाइले ?” इन्दिरा गान्धी एयरपोर्टबाट बाहिर निस्केपछि दाइले कुरा खोतले । मलार्ई यही कुरा गर्न साह्रै अप्ठ्यारो लाइरा‘थ्यो ।

“पूरै बाह्र हो नि दाइ” किनकिन त्यतिभन्दा घरमुनिको खेत याद आयो । सायद त्यो बाह्रसँग मेरो घरमुनिको खेतको नाता सम्बन्ध छ ।

 

“च्वँ च्वँ” गर्दै मतिर ट्वाल्ल परेर हेरे । मैले मात्रै तिरेर आए जस्तो पो गरे हरि दाइले ।

“किन र दाइ ?” “काँ, लक्ष्मीलाई भन्दा अरुलाई नै धेरै धोक्नु भएछ नि” यति भनेर घिच्याए सुट्केस र अगाडि बढे । मैले कुरा राम्ररी बुझिनँ ।  लक्ष्मीको मान्छे लिन आएको रहेछ । मैले त इन्डियन रहेछ कि भनेको त नेपालीमा बोलेपछि पो थाहा भयो । हाल्यो सबैलाई तीनवटा ट्याक्सीमा । हरि दाइ र म पछिल्लो ट्याक्सीमा सँगै थियौँ । ट्याक्सीको रफ्तार नेपालको मकालु यातायात सम्झाउने खालको थियो । ट्याक्सीमा बस्दा पनि समाउनुपर्ने अवस्था थियो । नेपालमा त एयरपोर्टबाट यसो तल झर्नासाथ काठमाडौँं आउँथ्यो, तर यहाँ घन्टांै त्यो रफ्तारमा दौड्दा समेत झर्ने अत्तोपत्तो थिएन ।

“तपाईंले कति दिनुभएको हो र दाइ ?” ट्याक्सीमा मौका मिल्ना साथ मैले हरि दाइलाई सोधेँ । “मैले त जम्मा नौ हो नि बाबु ।”  हुनत नौ जम्मा नौ थिएन, तर मेरो बाह्रको तुलनामा पूरै तीनको फरक थियो । दाइको कुराले मलार्ई चिटचिट पसिना पो आउन थाल्यो । सोचमा परिवर्तन आउन बेर लाग्दो रहेनछ । अघि भर्खर कस्तो जोस थियो । अचानक गल्ती गरेछु जस्तो हुन थाल्यो ।  “के कुरा गर्नुभाको तपाईंले ? मैले त चौध तिरेको हो ।” अगाडि सिटमा बसेको साथीले हरि दाइको कुरा सुनेर मलिन अनुहार बनाउँदै भन्यो ।

उसको बोली मेरो लागि प्रेसर कम गर्ने क्याप्सुलजस्तै साबित भयो । अरु पनि रहेछन् मैले भन्दा धेरै तिर्ने ।  “यस्तो पनि हुन्छ र ?” ऊ आश्चर्यचकित हुँदै थियो ।“तपाईंको धेरै लामो च्यानलको दलाल होला त्यही भएर हो । लक्ष्मीले लिने त जम्मा नौ हो । नौ भन्दा त एक पैसा पनि धेरै लिन्न उसले” उनीहरु आपसमा पैसाका कुरा गर्दै थिए । म आफ्नै ठूलोबाको छोरोलाई सम्झन पुगें ।सुट्केस सित्तैमा दियो भनेको त ठूलै भाग पारेको रहेछ । दाइ भनेर विश्वास गर्नु पनि व्यर्थै रहेछ । “साथीको माइजू” भन्थ्यो दलाल पो रहेछन् । त्यही भएर खुब चाख दिएको थियो ।

ट्याक्सी मेन रोड छाडेर सानो गल्लीतिर छि¥यो । मानिसहरुको व्यापक भीडभाड छिचोल्दै एउटा होटल अगाडि गएर रोकियो । अगाडि आएकाहरु होटल भित्रै छिरिसकेका थिए । हामी जम्मा आठ जना आएका थियौँ । प्रत्येक दुई जनालाई एउटा कोठाको व्यवस्था गरिएको थियो । हरि दाइ र म एउटै कोठामा परियो । रात परिसकेको थियो । बाहिर निस्कन समय थिएन । होटल दिल्लीको पहाडगञ्ज भन्ने ठाउँमा थियौँ । निद्रै लागेन । सबैथोक एकपछि अर्को झलझली याद आइरह्यो ।  यदि युरोपको दशाले डुबायो भने म मात्रै होइन मेरा ती ससाना बहिनीहरुको भविष्य पनि अन्धकारमय हुनेछ । मेरो कुरा काट्ने यो समाजले फेरि अर्को निहुँ पाउनेछ । म आधा आधा घन्टामा पिसाब फेर्न भनेर उठेको हरि दाइले थाहा पाएछन् । उनी त मस्तसँग सुतेका जस्ता देखिन्थे ।

“के भो भाइ निद्रा लागेन क्या हो ?”

“खै, दाइ निद्रै आएन ।”

“ए बल्ल दुई बजेको रहेछ ।”

“युरोप जान भनेर हिँडेको मान्छे, दिल्लीको बास भो । निद्रा कसरी लागोस् त दाइ ?”

“यसरी नै हो के दलालहरुले लैजाने, टेन्सन लिनै पर्दैन भाइ ।”

एकछिन फेरि दाइसँग भलाकुसारी । दाइले कुरा जे जताका गरे  पनि मेरो ध्यान ठूलो बाको छोराले ठगेको तीन लाख भन्दा अन्त जानै सकेको थिएन । धेरैबेर कुराकानी भएपछि ‘हाइ’ आउन थाल्यो ।

बिहान म ढिलो उठेको थिएँ । रातभरिको अनिद्रा थियो । हरि दाइ त उठेर खाजा खाएर पनि आइसकेका थिए । अठार वर्षसम्म भारतीय फौजमा काम गरेका हरि दाइलाई इन्डिया जता गए पनि आफ्नै घरजस्तो लाग्दो रहेछ । मलार्ई त कहाँ कहाँ आइपुगे जस्तो लागिरहेको थियो ।  “के हो भाइ, तपाईं त एकदमै चिन्तित देखिनुहुन्छ ?”  “के गर्ने दाइ, बा आमाको एउटै भरोसा भने पनि विश्वास भने पनि मै हुँ । भएको एउटा खेतले पनि नपुग्ने गरी जुवा खेलेको छु । युरोप पुग्ने कहिले हो, साहूको ऋणले पोल्न थालिसक्यो ।”“हेत्तेरीका भाइ, यस्ता कुरा मनमा खेलाइरहने होइन के । मलार्ई हेर्नुस् न । यो बुढेसकालमा त केही गर्छु भन्ने जोस छ ।”

“मेरो त पूरै बाह्रै लाख ऋण हो नि दाजु ।” दाइ उठेर मेरो नजिक आए । उनको अनुहारमा हँसिलो चमक थियो । मेरो शब्दले दाइलाई केही असर गर्न सकेको थिएन ।“जाबो बाह्र लाखको टेन्सन तपाईंलाई ?” हरि दाइ अनौठो हाँसो हाँसेको मलार्ई नौलो लाग्यो । बाह्र लाख पनि जाबो भने । मैले एकछिन त डर चिन्ता भनेको के भन्ने पनि मेसो पाइनँ ।

“पल्टनबाट निस्कँदा आएको पैसाले घर बनाउँछु भनेर बजारमा घर बनाउन सुरू गरेँ, पैसो पुगेन । दाइभाइ जति पनि दिन तयार । आजसम्म ऋण कति भयो अत्तोपत्तो छैन ।” दाइले सासै नफेरी भने । “कत्रो घर बनाउनु भयो र ?”

“घर मात्रै हो र भाइ ? बस पनि हालेँ, काठमाडौँं–बेनी । आफू परियो लाहुरे । बसमा धेरै दलाली हुँदो रहेछ । जहिले पनि झगडा मात्रै हुने । बसले गर्दा घरमा परिवारसँग जहिले नि ठाकठुक हुन थाल्यो । यत्तिकैमा बस दुर्घटनामा प¥यो । बीमा कम्पनीले सबै पैसा दिएन । ऋण तिर्नुभन्दा पनि चुलिँदै पो गयो ।”

दाइले बिस्तारै सबै कहानी सुनाउँदै गए । थ्रिलर फिल्मको कहानीजस्तो । दाइको पीडा, दुःख र घर व्यवहारको समस्याको अगाडि मेरो समस्या सामान्य लाग्यो । फेरि म भर्खरको जवान, मेरो अगाडि भविष्य थियो । ‘हरेस किन खानु, यति छिट्टै’ जस्तो लाग्यो । आफूलाई सम्झाउने प्रयासमा लागेँ । “कुरो तपाईंको ठीकै हो तर मलार्ई त आफ्नाले नै ठगेछन् ।” “ल, कस्तो कुरा गर्नुभा भाइ तपाईंले, ठग्ने नै आफ्नाले हो । वरिपरिकाले हो । जति पनि विदेश जाँदाका घटनाहरु छन् आफ्नाले नै फसाएका हुन्छन् । परकोलाई त कसले पो विश्वास गर्छन् र ?”

दाइका कुरामा सत्यता थियो । आफन्तलाई अविश्वास गर्न गाह्रो हुन्छ, त्यसैले ठगिन सजिलो भइदिन्छ ।“समाजलाई पैसाको जरूरत छ भाइ, इमानदारीको होइन ।” “जसरी कमाए पनि कमाऊ, लुट, ठग, चोर । तपाईंसँग पैसा छ भने, समाज पनि तपाईंकै हुनेछ ।”दाइका कुराले शीतल भएको अनुभव भयो । उठेर नुहाएँ । पछि दाइले कतै लगेर खाजा खुवाए । होटलमा खाने व्यवस्था थिएन ।

हामीलाई एयरपोर्टबाट ल्याउने त्यही होटलका म्यानेजर रहेछन् । होटलमा हामी मात्रै नेपाली थिएनौँ । कोही ‘इराक जाने’ भन्दै थिए भने कोही ‘अफनागिस्तान’ । त्यहाँ थुप्रै होटलमा नेपालीले काम गरेको देखियो । खुसी पनि लाग्यो । अझ होटलका म्यानेजर नै नेपाली हुँदा गर्वले छाती माथि आउने । अर्को दुईवटा होटलमा पनि नेपाली म्यानेजर रहेछन् । नेपाली काम नगर्ने होटल नै थिएन । कहिलेकाहीँ त्यस्ता कुराले पनि हामी नेपाली भनेर गर्व गर्ने बाटो हुने ।

घरमा फोन गर्न मन लागेन । कसरी भन्ने म दिल्लीमा छु भनेर ? झन् शङ्काले लङ्का पिट्छ भनेर विनासम्पर्क बसेँ । अरुले फोन गरिरहेका थिए । हरि दाइ पनि म जस्तै फोन नगर्ने सुरमा रहेछन् ।

“पैसा नकमाई गरेको फोनको केही अर्थ छैन । सबैलाई पैसा चाहिएको छ ।” दाइका कुराले एकछिन सबै गलल्ल हाँसे ।होटलको म्यानेजरले इस्तानबुलको टिकट तयार भएको जानकारी गरायो । फ्लाइट अप्रिल २ तारिख बिहान चार बजे भएकाले दुई बजे नै एयरपोर्ट पुग्नुपर्ने थियो । तयारी गर्नुपर्ने केही थिएन । हामी त नेपालदेखि नै तयार थियौँ ।

दश दिनको दिल्ली बसाइ अत्यन्त तनावपूर्ण रह्यो । हरि दाइले घुमाउन भनेर चारतिर लगे । तर मन घर वरिपरि नै डुलिरहन्थ्यो । बा आमाको सम्झना, बहिनीको अनुहार आँखामा नाचिरहन्थ्यो ।

(उपन्यासकार रविचन्द्र भट्टराईको उपन्यास “तृष्णा`’बाट एक अंश )