दलहरू मिलेर राष्ट्रका समस्यालाई निकास दिन राष्ट्रपति भण्डारीको आग्रह (छापाबाट)


राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग दलहरू मिलेर राष्ट्रका समस्यालाई निकास दिन आग्रह गरेकी छिन् ।
आइतबार राष्ट्रपति भवन, शीतल निवासमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् । सो अवसरमा नेपालको संविधान कार्यान्वयनमा देखा परेका चुनौती तथा समसामयिक राजनीतिक विषय, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, संसद्को निर्वाचनलगायतका विषयमा छलफल केन्द्रित भएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्ती, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूको सहभागिता थियो । छलफलमा सत्तारूढ दलका नेताहरूले संविधान संशोधनको प्रस्तावलाई पारित गरेर निर्वाचनमा जानका लागि आग्रह गरेकी थिइन् भने मधेसी दलका नेताहरूले यथास्थितिमा संविधान संशोधनको प्रस्तावले समस्या समाधान हुँदैन भन्दै परिमार्जनको आवश्यकता औँल्याइन् ।

प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी साना दलले संविधान संशोधनको प्रस्ताव सत्तारूढ दलहरूले छलफल नै नगरी ल्याएको र वर्तमान अवस्थामा संविधान संशोधन नै आवश्यक नभएको तर्क राखे ।

बैठकपछि कुरा गर्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भनिन्, ‘राष्ट्रपतिले दलहरू मिलेर समस्याको समाधान गरौँ भन्ने शुभेच्छा राखेको पाइयो ।’