राजाराम पौडेल,पोखरा- प्रदर्शनरत चलिचत्र पुरानो डुंगाले राम्रो ब्यापार गरिरहेका बेला माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा अर्को चलचित्र निर्माणको घोषणा गरिएको छ । यहि ब्यानरमा बनेको पुरानो डुंगा सफल भएपछि हौसिएका माओत्से गुरुङको निर्देशनमा नयाँ चलचित्र निर्माण हुन लागेको हो ।
माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको गुरुङ रहरसहन र संस्कृतिमा आधारित चलचित्र ‘मनको बाबरी ’ का कलाकार तथा प्राविधिक टोलीको शुक्रवार घोषणा गरिएको छ ।
चलचित्रको कथा लेखन तथा निर्देशन माओत्से गुरुङ गर्ने भएका छन् । उनले सामाजिक कुरिती र अन्धविश्वास विरुद्ध ‘मनको बाबरी ’ निर्माण हुने बताए । चलचित्र स्याङ्जा जिल्लाको पेल्काचौर गाविसमा केन्द्रित रही छायांकन गरिने निर्देशक गुरुङले जनाए ।
चलचित्रका गीतमा राजु गुरुङ, शर्मिला गुरुङ, सरुन गुरुङ, रोश्नी गुरुङ, निशा गुरुङको स्वर रहनेछ । फिल्ममा हेमन्त गुरुङ र एन्जर्स गुरुङको संयुक्त लगानी छ ।
चलचित्रमा गगन घले, धर्मराज गुरुङ, राज गुरुङ, एन्जर्स गुरुङ, सुरेश सुनार, एनबी गुरुङ, सीता गुरुङ, रुपा क्षेत्री, सोनी गुरुङ लगायतका कलाकारले अभिनय गर्ने भएका छन् । त्यस्तै कृष्णकुमार गुरुङको गीत, लभसन गुरुङको नृत्य निर्देशन तथा हरि घले लामाको छायांकन र सरुन गुरुङको संगीत रहने बताइएको छ ।