शान्ति सम्झौताका दश वर्ष, साठी दिनमा गर्नुपर्ने काम अझै अपूरो (छापाबाट)


दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

संविधान निर्माण प्रक्रियाको जञ्जालमा जेलिएको शान्ति प्रक्रियाले संविधान निर्माणपछि पनि तीव्रता पाउन सकेन । एक दशकमा नौवटा सरकार परिवर्तन भए तर कुनै पनि सरकारको प्राथमिकतामा शान्ति प्रक्रिया परेन । राजनीतिक इच्छाशक्तिको मृगातृष्णामा शान्ति प्रक्रिया जेलिएको छ ।

१० वर्षको आन्तरिक द्वन्द्व व्यवस्थापनपछि द्वन्द्वपीडितमा जुन उत्साह भरिएको थियो उक्त उत्साह कम भइरहेको छ । द्वन्द्वपछिका सामाजिक पुनःस्थापनाका लागि आवश्यक पूर्वाधारमा सुस्तता छ । राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत सङ्क्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन ।

जनआन्दोलनको उपलब्धि र शान्ति प्रक्रियाको मर्म समेतलाई आत्मसात गर्दै संविधान जारी भएको एक वर्ष पुगेको छ । संविधानले सशस्त्र सङ्घर्षलाई अनुमोदन गरेको छ । जनताको सङ्घर्ष र शान्ति प्रक्रियाको परिकल्पनाअनुसार सामाजिक न्याय, समानुपातिक प्रतिनिधित्वलाई संविधानले लिपिबद्ध गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्झौताको मूल मर्मअनुसार मुलुकमा गणतन्त्रात्मक व्यवस्था लिपिबद्ध भएको छ । एकात्मक राज्य व्यवस्थालाई संविधानले सङ्घीय संरचनामा बदलेको छ । तर सङ्घीय स्वरूप अनुसारका संरचना निर्माणमा भने ढिलाइ भइरहेको छ । संविधानले परिकल्पना गरेअनुसारका राज्यको पुनर्संरचना, त्यसपछिका निर्वाचन तथा व्यवस्थाका काममा भने सुस्तता छ । संविधानमा व्यवस्था र प्रणाली लिपिबद्ध भए पनि व्यावहारिक रूपमा त्यसको संरचना र आधार तयार भएका छैनन् । संविधान निर्माणबारे शान्ति सम्झौतामा लिपिबद्ध भएको सबैभन्दा महत्वपूर्ण राजनीतिक उदेश्य सङ्घीयता थियो । सैद्धान्तिक रूपमा सङ्घीयता बनेपछि व्यावहारिक अनुभूतिका दृष्टिले एकात्मक शासन व्यवस्थाको अन्त्य हुने अवस्था अझै पर छ ।

विद्रोही माओवादी र सरकारबीच सम्झौता हुँदा शासन व्यवस्था जनतामा निहीत हुने विषयलाई त्यसयताका दुवै संविधानले अङ्गीकार गरेका छन् । तत्कालीन राजाको नाममा दर्ता भएको सम्पत्ति ट्रष्ट बनाइएको छ । शान्ति सम्झौतापछिका अवधिमा राज्यका निकाय, तह, सङ्गठन र संरचनामा समानुपातिक समावेशी प्रतिनिधित्वको आधार बनेको छ ।