लन्डन दूतावासमा पत्रकारलाई अन्तर्वार्ता लिन रोक
लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा नबोलाइएको भन्दै सञ्चारकर्मीले आक्रोस पोखेका छन् । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग बेलायतमा रहेका राजनीतिक दलका प्रतिनिधिबीच शुक्रबार साँझ दूतावास भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदूत डा. सुवेदीले कुनै पनि सञ्चारकर्मीलाई बोलाएनन् । अन्तरक्रियामा बेलायतस्थित नेपालका सबै राजनीतिक दलका भ्रातृ संस्थाका नेता तथा कार्यकर्ता उपस्थिति थिए ।
शनिवार बिहान पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तर्वार्ताका लागि लन्डन दूतावास जान लागेको नेपाली टिभी यूकेको टोली र लन्डनस्थित नागरिक संवाददता चिरन शर्मालाई दूतावास भवनभित्र कुनै पनि नेताको अन्तरर्वार्ता रेकर्ड गर्न नमिल्ले भन्दै रोक लगाइएको थियो ।
नेपाली टीभी यूकेका निर्देशक विजय थापाले दूतावासको पछिल्लो निर्णय गलत भएको बताए । अहिलेसम्म नेपालका शीर्ष नेताहरुको अन्तरर्वार्ता त्यही दूतावासभित्रै रेकर्ड हुर्दै आएको भए पनि पूर्वप्रधानमन्त्री डा. भट्टराईको अन्तरर्वार्ता रेकडिङ गर्न अचानक रोकिनु पूर्वाग्रही भएको थापाले बताए । राजदूतले नयाँ नीतिका नाममा दुतावासलाई सर्वसाधारणको पहुँचबाट टाढा राख्न खोजेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।
दूतावासमा मिडिया नीति बदलिएको भन्दै नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्षसमेत रहेका शर्माले राजदूतको ध्यानाकर्षण गराएका छन् । उनले राजदूत दुर्गाबहादुर सुवेदीलाई आइतबार नै एक ध्यानाकर्षण पत्र लेख्दै– ‘पूर्वप्रधानमन्त्री भट्टराईसँग आयोजित अन्तरक्र्रियामा सञ्चारकर्मीलाई रोकिनु निन्दनीय भएको बताएका छन् । सुरक्षा नीति तथा सम्वेदनशील कुरामा दखल हुने कार्यक्रममा दूतावासले लिने निर्णयप्रति पूर्ण सम्मान र आदर रहेको स्मरण उनले राजदूत सुवेदीलाई लेखेको पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण गराइएपछि राजदूत सुवेदीले भविष्यमा राजदूतावासले विभिन्न कार्यक्रमहरुमा मिडियासँग सहकार्य गर्नेबारेमा सल्लाह गर्दै जाने बताए । राजदूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणसँग निकट रहेर कार्य गर्दा पत्रकारलाई सहज होला भन्ने आशासमेत उनले राखेका छन् ।