राप्रपा नेपाल पनि सरकारमा सहभागी हुने, एक्लिँदै एमाले (छापाबाट)


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मङ्सिरमा एकता हुने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिर ६ गते प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमा आज संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।

बलियो राष्ट्रवादी/प्रजातान्त्रिक शक्ति निर्माण गरी राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढीकरण गर्दै सबल र समृद्ध हिन्दू राष्ट्र नेपाल निर्माण गर्नु नयाँ एकीकृत पार्टीको लक्ष्य हुने उक्त पत्रमा उल्लेख छ ।

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार एकीकृत पार्टीको अन्तरिम विधान अनुमोदन गरिएको छ भने केन्द्रीय महाधिवेशन सकेसम्म आगामी माघभित्र सम्पन्न गरिने छ । आजको राजधानी दैनिकमा खबर छ ।

राप्रपा नेपाल पनि सरकारमा जाने

राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ । संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय भएको छ ।

राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा दुई मन्त्री थप पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको स्रोतले बताएको छ। यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ गते पार्टी एकता घोषणाको मिति सार्वजनिक गरेका हुन् ।

हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन् । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ ।