पोखरा – १३ औ महाधिवेसन पश्चात नेपाली कांग्रेसमा तेश्रो धारका रुपमा उदाएको कृष्ण सिटौला समूह जिल्ला जिल्लामा आफुलाई सक्रिय बनाउन थालेको छ । खास गरी भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र महिला संघको महाधिवेसनमा समेत आफ्नो हिस्सा दाबी गर्दै कतिपय पद हत्याउन सफल उक्त समुह तरुण दलको आसन्न महाधिवेसनको पूर्व सन्ध्यामा महाधिवेसनस्थल जिल्ला कास्कीमा सक्रियता देखाएको हो । यसअघि महाधिवेसन सम्पन्न भएका दुईओटा भातृ संगठनमा हिस्सा हुत्याउन सफल भएकै कारण तरुण दलमा पनि सोहि किसीमको रणनिती निर्माण गर्नेस्वरुप जिल्लास्तरमा आफ्नो सक्रियता देखाएको हो । पहिल्लो समय कास्कीमा सिटौला समूहमा आकर्षित हुने कांग्रेस कार्यकर्ताको लस्कर बढ्दो छ । लस्करमा वर्तमान जिल्ला कार्य समितिका पदाधीकारी समेत छन् तर राजनितीक भविष्यका बारे निक्यौल नहुन्जेल त्यो तहका जिल्ला नेता खुलीसकेका छैनन् ।
अहिले कास्की जिल्लामा सिटौला समूहको प्रतिनिधीत्व गर्नेगरी पूर्व जिल्ला सचिव युवराज कुँवर , पूर्व सहसचिव मुकुन्द बाँस्तोला ज्वाला , जिल्ला सदस्य विष्णु बहादुर क्षेत्री, युवा नेता शिवप्रसाद अधिकारी लगायतका रहेका छन् । समुहको जिल्लास्तरमा कार्यकर्ताको कसरी आकर्षण बढाउन सकिन्छ भन्नेमा आफुहरु हरेक दिन तल्लीन रहेको समुहका एक जिल्ला नेताले भने । उल्लेखित नेता कार्यकर्तामध्ये सबैजसो यसअघि सिटौला समूहमा थिएनन् । कांग्रेस शभापति शेरबहादुर देउवा वर्तामान संस्थापकका रुपमा स्थापित हुनु र वरीष्ठ नेता रामचन्द्र पौडेल पार्टीमा बिस्तारै कमजोर सावित हुदै जान थालेपछि पनि यहाँका कांग्रेसी नेता कार्यकर्ताहरु सिटौलातर्फ लम्केका हुन् । ‘पौडेलले राजनितीक रुपमा अडान लिन नसक्ने, संगठनलाई चुस्त ,मजबुत राख्न नसक्ने कार्यकर्ताको संरक्षणमा समेत ध्यान पु¥याउन नसकेको र वर्तमान सभापति देउवाको समूहमा पनि जान नसक्ने भएपछि कांग्रेसको पूरानो संस्थापन पक्षको नेताका रुपमा सिटौलालाई हामीले विकल्पका रुपमा रोजेका हौ ।’,– कास्की कांग्रेसका जिल्ला सदस्य तथा सिटौला समुहमा हालै प्रवेश गरेका नेता युवराज कुवरले भने ।
सिटौला समुहमा प्रवेश गर्नेमध्ये अधिकांश युवापंंक्तिको बाहुल्यता छ । जसमा मुख्य कारणका रुपमा युवा नेता गगन थापा र प्रदिप पौडेलको विद्यार्थी राजनितीमा रहेको प्रभाव नै हो । विद्यार्थी पृष्ठभूमीबाट राजनितीमा आएका नेता द्वय थापा र पौडेल सिटौला समूहको खम्बाका रुपमा गएकाले पनि कास्कीका यूवा र विद्यार्थी त्यस समूहमा लागेको बताउछन् । ‘हामी तत्कालिन अवस्थामा संस्थापन समूहमै थियौ तर वरीष्ठ नेता रामचन्द्र पौडेलको राजनिती अक्षमताको महशुस हुनु , विद्यार्थीकालदेखिनै गगन प्रदिपसँगको सामिप्यता बलियो भएकाले पनि अहिले तेश्रो धारलाई बलियो बनाउन लागि परेका हौ । ’, अर्का युवा नेता मुकुन्द बाँस्तोला ज्वालाले भने । उनले कास्कीका ६० प्रतिशतभन्दा बढी तरुण युवा , विद्यार्थी र पार्टीका नेता कार्यकर्तासमेत सोही समुहमा रहेका दावी समेत गरे । यसैबिच मंगलबार सिटौला समूहका जिल्लास्तरका नेता तथा कार्यकर्ताको बैठक बसेको छ । पोखराको लेकसाईडस्थित एक होटलमा बसेको उक्त बैठकले तरुण दलको पोखरामा हुने महाधिवेसनको पूर्वसन्ध्यामा २६ गते नेता सिटौलाले गर्ने सम्बोधन कार्यक्रमको ब्यापक तयारी गर्ने रणनिती बुनेको थियो । त्यसका लागि विभिन्न तयारी समितिसमेत गठन भएको बताईएको छ ।