एभर्टनलाई सहजै हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनमाथि ५–० को फराकिलो जित निकाल्दै चेल्सी म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।
चेल्सीको जितमा इडन हजार्डले दुई तथा मार्कोस एलोन्सो, डिएगो कोस्टा र पेड्रोले एक एक गोल गरेका हुन्।
चेल्सीका लागि हजार्डले १९ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसको एक मिनेटपछि एलोन्सोले गोल गर्दै अग्रता दोब्बर पारे। ४२ औं मिनेटमा कोस्टाले गोल गरेपछि पहिलो हाफमा ३–० को अग्रता लियो । दोस्रो हाफमा चल्सीले थप दुई गोल गर्यो । ५६ औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो तथा ६५ औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ५–० ले विजयी भयो।
जितपछि ११ खेलबाट २५ अंक भएको चेल्सी शीर्ष स्थानमा उक्लिएको हो। यस्तै समान खेलबाट २४ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ। यस्तै १० खेल मात्रै खेलेका आर्सनल र लिभरपुल समान २३-२३ अंकसहित तेस्रो र चौथो स्थानमा छन्। १० खेलबाटै २० अंक बटुलेको टोटनह्याम पाँचौ स्थान छ।