अघिल्लो सरकारले सार्वजनिक गरेको संविधान कार्यान्वयन कार्ययोजना अनुसार अबको एक महिना (मंसिर) भित्र स्थानीय निकाय निर्वाचन भइसक्नुपथ्र्यो तर तयारी सुरु नहुँदै सरकार मात्र होइन, कार्ययोजनै फेरियो। नयाँ सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्यो। चैतमा स्थानीय निकाय निर्वाचन घोषणा गरे पनि सरकारले निर्वाचन तयारीसम्म सुरु गरेको छैन । निर्वाचन आयोगकै भाषामा तिथि, मिति, नीति र सहमति जुटेको १ सय २० दिन अर्थात् चार महिना तयारी पूरा हुन्छ । अहिलेसम्म आवश्यक तयारी त परै, सरकार र राजनीतिक दलको छलफलको एजेन्डामा समेत स्थानीय निर्वाचन परेको देखिँदैन ।
निर्वाचन घोषणा हुनुपूर्व आवश्यक ऐनकानुन जारी गर्नुपर्ने, राजनीतिक सहमति जुटाउनुपर्ने भए पनि त्यसतर्फ सरकार र दलहरु अग्रसर छैनन् । स्थानीय निकायका लागि आवश्यक एउटा ऐन पनि संसद्बाट पास भएको छैन । स्थानीय निर्वाचनका लागि आवश्यक स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन र स्थानीय स्वायत्त शासन ऐन दुवै संसद्मै विचाराधीन छन् । स्थानीय तह सञ्चालन ऐन बल्ल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मस्यौदा गर्दै छ । निर्वाचन गराउने प्रमुख जिम्मा पाएको निर्वाचन आयोगमा समेत तीन आयुक्त रिक्त छन् । रिक्त पदाधिकारी नियुक्तिका विषयमा पनि सरकारले परामर्श गरेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।
स्थानीय निकायको सीमा निर्धारणका काम मंसिरभन्दा पर सरेको छ । एकातिर संविधान संशोधन नभएसम्म निर्वाचनलगायत कुनै पनि कानुन अघि बढ्न नसक्ने भन्दै एकथरी दल विरोधमा छन् भने अर्काेतर्फ इलाकाका आधारमा गाउँपालिका निर्धारण गर्ने सरकारी निर्णयप्रति विरोध जनाउँदै केही दल यस आधारमा स्थानीय निर्वाचन हुनै नदिने बताउँदै आएका छन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती स्थानीय निर्वाचन गर्ने विषयमा दलहरुले कुरामा मात्रै वातावरण तयार गरे पनि व्यवहारमा भने नदेखिएको बताउँछन् । निर्वाचनका लागि दलहरुबीच सहमति भएर सबैभन्दा पहिले ऐन आउनुपर्ने भए पनि त्यसतर्फ कसैको ध्यान नगएको उनको भनाई छ । ‘सबैले चुनाव गर्नुपर्छ भने पनि साँच्चिकै भन्नुपर्दा काम गरेकै देखिँदैन, त्यति मात्र होइन, तयारी त परै, घोषणा नहुँदै गर्न दिन्न भन्नेहरु पनि उत्तिकै सक्रिय छन्,’ पूर्व प्रमुख आयुक्त उप्रेतीले नागरिकसँग भने, ‘संविधान अनुसार नयाँ संरचनामा, नयाँ विधि नयाँ प्रविधिको प्रयोग गरी निर्वाचन गर्नुपर्ने भएकाले विशेष क्षमता देखाउन आयोग र सरकारले पनि युद्धस्तरमा काम गर्नुपर्छ, युद्धस्तरमा काम हुन सकेन भने निर्वाचन गर्न गाह्रो पर्छ ।’