साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो ।
रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेको छ । त्यसपछि बाँकी कामदार दुताबासमा जान र खबर गर्न डराएका छन् । ‘हामी आएदेखि कम्पनीले काम दिएको छैन । तलब पनि दिएको छैन’, एक पीडितले भने,‘उद्धारका लागि पहल गर्न भन्दै साथीहरु नेपाली दुताबास पुगेका थिए । दुताबासबाट फर्केकै रात दुई जना साथीलाई राती सुतिरहेको कोठाबाट लिएर गए । उनीहरु कहाँ छ भन्ने अबस्था हामीलाई थाहा छैन ।’
पीडितले उजुरी दिएपछि श्रम काउन्सेलर अम्बिका अधिकारीले कम्पनी मालिक महमदलाई समस्या समाधान गर्न अनुरोध गरेका थिए । महमदले नेपालबाट म्यानपावरले आफुले चाहेको कामदार नपठाएको दावी गरेका छन् । ‘हामीले जस्तो कामदार खोजेका थियौ । त्यस्तो कामदार म्यानपावरले पठाएन । आएका कामदारले हामीले खोजेको काम गर्न सकेन । हामीले दिएको अर्को काम गर्न उनीहरु मान्दैनन्’, महमदले दुताबाससमक्ष भने ।
कम्पनीले स्वदेश फिर्ने भए प्रति कामदार २५ सय रियाल (झन्डै ७५ हजार रुपैया) माग गरेको छ । ‘नेपालबाटै आउदा एकलाखसम्म तिरेर आयौ । आएदेखि एक रियाल कमाउन पाएको छैन’, पीडितले भने,‘हामीले काम गरेपछि तलब कटाऊ भन्दा पनि मानेको छैन ।’
उनीहरु गत जेठको अन्तिम साता साउदी पुगेका थिए । त्यतिखेर कम्पनीले प्रति कामदार दुई सय रियाल मात्रै दिएको थियो । त्यस यता उनीहरुले पैसा पाएको छैन । ‘अहिले एउटा पसलमा खाता खोलिदिएको छ । त्यहाँबाट नै खाना ल्याउदै खाइरहेका छौं’, उनीहरुले भने,‘हाम्रो मालिक सार्है हरामी छ । केही बोल्यो कि पिटिहाल्छ । सबै डराएर बसिरहेका छौं । बोल्ने साथीहरुलाई अन्त्यै लिएर गए पछि हामी अभिभाबक बिहिन जस्तो भएका छौं ।’
दुताबासले ती कामदार दुताबासबाट फर्केपछि सम्र्पकमा नआएकोले थप जानकारी नभएको जनाएको छ । पीडित कामदारले आफुहरुलाई उद्धार गर्न अपिल गरेका छन् । ‘कम्पनीले काम दिने आश्वासन त देखाएको छ । दिए त राम्रै हुन्थ्यो । हामी कमाउन आएका हौं । यसरी नै बिचल्ली बनाइराख्यो भने हाम्रो अबस्था झन खरब हुन्छ’, पीडितहरुले भने ।