नेपाल–भारत बैठकमा गण्डक सम्झौताको विषय उठाइने (छापाबाट)


 परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसँग हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ ।

उहाँले भारतमा हुन लागेको आयोगको बैठकमा जानुअघि मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गण्डक सम्झौता अनुसार नेपालले पाउनुपर्ने सिँचाइ सुविधा नपाएको विषय तथा हुलाकी सडक निर्माणको पूर्णतालगायतका विषय राख्ने बताउनुभएको हो ।

दुई देशका मन्त्रीहरूले नेतृत्व गर्ने आयोगको मन्त्रीस्तरीय बैठक बिहीबार नयाँ दिल्लीमा हुँदैछ । बैठकको पहिलो दिन (बुधबार) परराष्ट्र सचिवस्तरीय वार्ता हुनेछ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

बैठकमा सहभागिताका लागि परराष्ट्र सचिव शङ्करदास बैरागी दिल्ली पुगिसक्नुभएको छ । डा. महत बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

दुई देशबीचको सम्बन्धबारे निरन्तर छलफल संवाद गर्दै समृद्ध पार्ने उद्देश्यले स्थापित आयोगको करिब दुई दशकसम्म बैठक हुन सकेको थिएन । दुई वर्षअगाडि नेपालमा आयोगको बैठक गरेर २३ वर्षदेखि रोकिएको बैठक सुरु भएको थियो । आयोगमा दुई देशबीचको सम्बन्धमा देखा पर्ने सबै प्रकारका अप्ठ्याराबारे छलफल हुने गर्छ । बैठकमा दुई देशका गृह, वाणिज्य, ऊर्जा, परराष्ट्र, पर्यटन लगायतका मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता हुने गर्छ ।

परराष्ट्रमन्त्री महतले यो पटकको बैठकमा सडक सञ्जाल विस्तार, विगतमा भएका सहमति अनुसारका कामहरू भए नभएको र नभएको भने बाधा उत्पन्न किन भयो भन्ने जस्ता विषयमा कुरा राख्ने जानकारी दिनुभएको छ । अघिल्लो महिना भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा विवादित विषयलाई आयोगमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको थियो ।