पूर्व गृहमन्त्री तथा सरकारका पूर्व मुख्यसचिव माधव घिमिरे सवार जीप पृथ्वी राजमार्गमा दुर्घटना भएर त्रिशुलीमा खस्दा उनी बेपत्ता भएका छन्। जीपमा सवार केहीको शव फेला परेको बताइएको छ।
मुख्यसचिवका रुपमा बलियो छवि बनाएका घिमिरेले संविधानसभाको दोस्रो निर्वाचन गराउन गठित गैरदलीय सरकारको महत्वपूर्ण गृह मन्त्रालय सम्हालेका थिए। मुक्तिनाथ दर्शन गरेर पोखरा हुँदै काठमाण्डू फर्किरहेका उनी सवार जीप मुग्लिन-कुरिनटार खण्डमा घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो।
प्रभावित
रात परेका कारण खोजी प्रभावित भएको बताइएको छ। नारायणगढ-मुगलिङ सडकखण्ड २२ जनाको ज्यान गरी दुर्घटना भएको १ महिना नबित्दै फेरि अर्को दुर्घटना भएको छ। दुर्घटनामा मुक्तिनाथ दर्शन गरी पोखराबाट काठमाण्डूतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पूर्व गृहमन्त्री घिमिरे लगायत तीनजान त्रिशुली नदीमा बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए।
दुर्घटनामा घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको मृत्यु भएको घटनास्थल पुगेका पत्रकार राधेश्याम खतिवडाले बताए।
उद्धार
उनले भने, “गाडी धेरै तल नदीमा गएको छ र प्रहरीले उद्धारको प्रयास गरिरहेको छ। निकै कठिन ठाँउ छ। अहिलेसम्ममा तीनजनाको मृत्यु भएको र सवारीचालक घाइते अवस्थामा रहेको र ४ जना बेपत्ता भन्ने जानकारी आएको छ।” उक्त सडकखण्डमा १ महिना नबित्दै यो समेत तीनवटा दुर्घटना भएको छ।
दुर्घटनामा पूर्व गृहमन्त्री घिमिरे, मोहन घिमिरे, प्रकाश घिमिरे र एकजना सशस्त्र प्रहरीको जवान त्रिशुली नदीमा हराइरहेको प्रहरीले जनाएको छ। जीप दुर्घटना भएको स्थान अत्यन्तै जोखिमपूर्ण रहेको र जीप नदीमा हराइरहेको पत्रकार खतिवडाले बताए।-बीबीसी नेपाली सेवा