पोखरा/ विसं २००२ तिरै रानीपौवाका जगतबहादुर रन्जित पोखरामा साइकलमा गुडाउँथे । जतिबेला पोखरामा न गुड्ने कुनै मोटर थियो न मोटर बाटो । न धेरै मान्छे नै थिए न बाक्लो बस्ती ।
पोखरा धेरैजसो त जंगलै थियो । ऊ बेला भारतबाट रन्जित परिवारले पोखरामा साइकल भित्रयाएका थिए । ‘मान्छेहरु साइकल देख्दा दंग पर्थे, त्यसभन्दा पहिले पोखरामा अरुले साइकल चढेको मैले देखेको थिइनँ,’ जगतले पुराना दिन सम्झे, ‘कोही मान्छेहरु त के रहेछ भनेर डराउँथे । हेर्नेहरुको भीड लाग्थ्यो ।’ सतबिज छर्न विसं २००० मा काठमाडौं गएका बेला जगतले पहिलोपटक साइकल देखेका थिए । त्यही देखेर उनलाई साइकल चढ्ने रहर पलाएको हो ।
साइकल चढेर टिरिङटिरिङ घन्टी बजाउँदै उनी गणेश टोलको गणेश मन्दिरको घन्टी बजाउन पुग्थे । जगतका बाउबाजे नै गणेश मन्दिर पुजारी थिए । साइकल चढ्ने रहर त पूरा भयो तर ५-७ वर्षमै त्यो साइकल भाँचियो । साइकलमा चढेर हिँड्दा उनको शान थियो । साइकलको भरमा हिँड्न बानी पर्दा नपर्दै उनी फेरि खुट्टामै आइपुगे । केही वर्ष खुट्टाले नै पोखराको बाटो नापेका रन्जितले फेरि साइकल किन्ने निर्णय गरे ।
निर्णय त भयो तर उनले त्यसका लागि २०१८ सालसम्म कुर्नुपर्यो । त्यतिबेला साइकल रहर होइन आवश्यकता बनेको थियो । रन्जितका दाइभाइ मिलेर पेन्सन क्याम्प अगाडि कपडा दोकान खोलेका थिए । त्यसको गोदाम रानीपौवा घरमै थियो । गोदामदेखि दोकानसम्म कपडा ओसार्न साइकल किन्ने निधो गरे ।
हरिगोपाल, शेरबहादुर र जगतबहादुर रन्जितले ३ साइकल मगाए । यसपटक भने मान्छेको काँधमा बोकाएर साइकल ल्याउनु परेन । भारतदेखि काठमाडौं र काठमाडौंदेखि जहाजमा पोखरा आइपुग्यो, हिरो जेड साइकल । पहिलेको साइकललाई कति रुपैयाँ पर्यो रन्जितलाई ठ्याक्कै याद छैन तर हिरो जेड साइकललाई ३ सय ५० रुपैयाँ तिर्नुपर्यो ।
‘भारतबाट काठमाडौं र काठमाडौंदेखि जहाजमा पोखरा ल्याएको भाडासहित ३ सय ५० रुपैयाँ बुझाएको थिएँ,’ रञ्जितले भने, । साइकल पोखरा आएको अर्को वर्षमात्रै उनले चलाएका थिए । २०१८ चैत २७ गते घर भित्रयाएको साइकल २०१९ साल वैशाख ६-७ गतेतिर मात्रै उनले चढेका थिए ।
५५ वर्षदेखि जगतले त्यही हिरो जेड साइकल चढिरहेका छन् । ‘साइकल चढेर म अघिअघि कुद्थेँ, बच्चाहरु पछिपछि दगुर्थे,’ जगतले ती दिन सम्झे, ‘गाडी, मोटरसाइकल र साइकल नै कम भएका बेला साइकलमा हुँइकिनु पनि चानचुन कुरा थिएन ।’ कहिले आफूलाई साइकलले बोक्थ्यो । कहिले आफूले बोक्नु पथ्र्यो । महेन्द्रपुलमा पुल थिएन फड्के थियो । उनले त्यहाँ साइकल बोकेर तर्थे ।
रन्जितले हिरो साइकललाई आफू जत्तिकै माया गर्छन् । पहिले कपडा ओसार्ने काम गरेको हिरो जेडले केही वर्षमा दोकान बन्द भएपछि अन्नपातदेखि घाँस र दाउरासमेत ओसारेको छ । त्यही साइकलमा अर्घाैं, रिठ्ठेपानी, मालेपाटन, राष्ट्र बैंकचोक लगायतका ठाउँमा रञ्जित साइकलमै पुग्थे । ‘धेरै टाढा साइकलमा गइनँ, जाने कामै खासै पर्थेन,’ रन्जितले भने, ‘मूरी धानदेखि ठूला भारी घाँस दाउरा पनि मेरो हिरोले ओसारेको छ ।’
छोरानतिले पनि उनकै हिरो चढेर साइकल सिकेको उनले बताए । ‘५५ वर्षमा केही पटक टायर फेरेको छु । दुई पटक मर्मत गरेको छु । दुई÷४ पटक धोएको छु । नत्र केही गरेको छैन,’ रन्जितले भने, ‘छोरानातिले अब साइकल नचढ्नुस् । बरु कारै किनौँला भन्छन् । कि हो किन मलाई यही हिरो मन पर्छ ।’
रन्जितलाई कार तथा सार्वजनिक गाडी चढ्नै नपरे हुन्थ्यो झैँ लाग्छ । साइकल चढ्नुको मजा र यसले दिने फाइदा अरुमा छ जस्तो उनलाई लाग्दैन । ‘मेरै उमेरका कति यो संसारमा छैनन् । कति भएका पनि स्वस्थ्य छैनन्,’ रन्जितले भने, ‘म अहिले पनि स्वस्थ छु । दम, सुगर केहीले छोएको छैन । यो साइकलकै कारण हो ।’
खासै नाफाघाटा नजानेका सरल जीवन बाँचेका रन्जित साइकल चढ्दा पैसा, स्वास्थ्य, सुरक्षा लगायत धेरै कुरामा फाइदा पुग्ने बताउँछन् । सम्मानको आशा नगरेरै अहिलेसम्म साइकल चढेका ज्येष्ठ नागरिक रन्जितलाई शनिबार साइकल सिटी पोखराले सम्मान गर्दैछ भनी पोखराबाट प्रकाशित समाधान दैनिकको समाचारमा उल्लेख छ।