ममतामयी आमाको आँखामा बर्षात् ….


- बसन्त रानाभाट

वसन्त रानाभाट,बार्सिलोना

हो, म एक्लै छु, तर, मेरो साथ दिने

मसँगै सिङ्गै, अँध्यारो रात छ,

झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु

त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

हो, म एक्लै छु………

आकाशको बादल नबर्स व्यर्थै

मेरो आफ्नै आँखामा बर्षात् छ ।

चटयाङ् सित्तैमा नझर तिमी

मेरै मुटुभरि बज्राघात छ ।

हो, म एक्लै छु……….

मलाई दयाले नहेर बाबु सा’बहरू

तिम्रोभन्दा मेरो क्या ठाँट छ ।

बाँचून्जेल आकाशको नीलो छानो छ,

मरेपछि आर्यको घाट छ ।

हो, म एक्लै छु, तर मेरो साथ दिने

सिङ्गै अँध्यारो रात छ ।

भूपि शेरचनका यी हरफहरु सँगै आज यो पङ्तीकारका आँखाहरु रसाएका छन्। हुन त आज जन्म दिन सबै भन्दा खुशीको पल सम्झनु पर्ने तर आज केहिँ कोरीरहँदा मेरो मन पनि बहकिएको हो। “आकाशको बादल नबर्स व्यर्थै मेरो आफ्नै आँखामा बर्षात् छ । चटयाङ् सित्तैमा नझर तिमी मेरै मुटुभरि बज्राघात छ ।” भूपिका यी हरफले त मन झनै चसक्क चसक्क पारिदिएको छ।

६२ बर्षिय स्पेनिस महिला मारिया टेनेताका आँखाहरु त झन् यसरी रसाए,लाग्दथ्यो ठुलै बर्षात् छ। धेरै पटक चश्मा निकालेर आँशु पुछिन्। उनलाई सम्हालिन गाह्रो भएको थियो। आकाशको बादल नबर्सदै उनका आँखामा ठुलो बर्षात् थियो।

कारण  त्यहिँ “ बैशाख १२”  उनको मनलाई अझै पनि विक्षिप्त पारिरहेको छ। लाङ्टाङ् घुम्न गएकी उनकी ३७ बर्षिय छोरी रोसेब पलाउ नेपालमा बिनाशकारी भूकम्पमा परी ज्यान गुमाईन्। उनकै याद र सम्झनामा एउटी ममतामयी आमाको आँखामा बर्षात् रोकिएको छैन।  उनि आज पनि त्यत्तिकै भक्कानिएर रोएकी छिन् भाबबिहोल बनेकी छिन्। लाङ्टाङ् घुम्न जाँदा भूकम्पमा परी ज्यान गुमाएकी स्पेनिस चेली रोसेब अबिबाहित थिईन्।

हो कहिँले काहिँ त आँफूलाई आफ्नै पेशा देखेर धिक्कार लाग्छ। मेरा प्रश्न माथिका प्रश्नले मारियाले पटक पटक चश्मा निकाल्नु पर्थ्यो। आँशु पुछेर सकिए पछि पुन: चश्मा लगाईहाल्थिन् तर धेरै बेर टिक्दैनथ्यो। परिबारमा एक  मात्र  सन्तान रोसेबलाई गुमाउँनुको पिडा, ममतामयी आमामा कति रहेछ ? मारियाको पिडालाई यहाँ शब्दमा उतार्न मिल्ने रहेनछ।

२३ बर्षको उमेर हुँदा उनकी एक्ली सन्तान रोसेब अध्ययनका लागि लण्डन पुगेकी रहिछिन्। ६ बर्षमा अध्ययन सकाए पछि अग्रेजी,स्पेनिस भाषाको शिक्षिकाको रुपमा पनि काम गरिन्। रोसेबमा अलि फरक विचार थियो। बिशेष गरी कुलतमा लागेका वा फसेका युबाहरुलाई त्यहाँबाट बाहिर ल्याउँन उनि सामाजिक भावले काम गर्थिन्। नेपाल घुम्न जानु अघि रोसेब केहिँ महिना थाईल्याण्डमा बसेकी रहिछन्। त्यहिँ बाट नै घुम्नका लागि नेपाल पुगिन्। लाङ्टाङ्मा पुग्दा बिनाशकारी भूकम्प गयो। त्यसपछि उनि कहिल्यै फर्किनन्। तर आमाछोरीको मिलन मे ६ तारिख स्पेनमा नै भयो। काठको बाकसमा आएकी छोरी कहिल्यै नबोल्ने गरी फर्केकी थिईन्।  मारियाले धेरै पटक बोलाईन् तर उनले सुनिनन्।

भूकम्पमा परी ज्यान गुमाएकी ३७ बर्षिय छोरी रोसेब
भूकम्पमा परी ज्यान गुमाएकी ३७ बर्षिय छोरी रोसेब

लाङ्टाङ् डिजास्टर रिलिफ फण्ड लेखिएको स्टलमा बसेकी मारियासँग कुराकानी हुँदा उनले बिस्तारमा सबै  कुरा खोलेकी हुन्।  स्पेनको बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा नेपाल प्रवद्वन बिशेष कार्यक्रम भईरहँदा उनिसँग भेट भयो। मलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एक राज गिरीले भेट गराईदिएका हुन्। लाङ्टाङ्लाई सहयोग जुटाउँन होस् वा नेपाल प्रतिको मायाले होस् कार्यक्रममा उनको सहभागिता देखियो। यसअघि नेपालका लागि गरिएका थुप्रै कार्यक्रमहरुमा पनि उनको सहभागिता रहेको थाहा पाएँ।

मन मनै सोच्न थाले, नेपालमा आफ्नी छोरी गुमाईन् ,अझै पनि नेपाल प्रतिको यति धेरै माया किन ?  नेपाली समाजको प्रतिनिधित्व गर्दै सोच्ने हो भने त हामीले कतै आफ्नो आँफन्त वा परिबारलाई गुमाएका छौ भने साहेद त्यता तिर फर्केर पनि सोच्न चाहादैनौ। तर उनि त “नेपाल घुम्नलाई सुरक्षित छ” भन्ने अभियानमा छोरी गुमाउँनुको पिडा बोकेरै भए पनि सहभागि बनिरहेकी छन्। आखिर उनको मनमा के रहेछ नेपाल प्रतिको धाराणा ?  मैले सोधी हाले।

पटक पटक उनको आँखामा देखिएको बर्षाद भने कत्ति पनि रोक्किएन। फेरि चश्मा निकालिन् र आँशु पुछिन्। मेरो नजिकै रहेका गैर आबासीय नेपाली संघका निबर्तमान आईसीसी सदस्य दीपक खरेलले हातले थपथमाउँदै उनलाई सम्झाएँ। मलाई लाग्यो खरेलले पनि आफ्नो आँखाको कालो चश्मा निकाले र आँशु पुछे।

मारियाको उत्तरले झनै भाबुक बनायो। “यो त एउटा प्राकृतिक प्रकोप थियो नेपालको के नै दोष छ र ? त्यो त संसारको कुनै पनि देशमा हुन सक्छ। मैले जस्तै हजारौले आफ्ना सन्तान गुमाएका छन्। कोहिँ घाईते होलान्। टेलिभिजनको दृश्य हेर्दा हजारौ सडकमा देखिएका थिए ,सबैलाई आ -आफ्नै पिडा भएकै होला। नेपाल संसारको एउटा सुन्दर देश हो,थुप्रै हिमालहरु छन् ,सुन्दर ठाउँहरु छन् बिश्वका नौजवानहरुको मन तानिरहेको छ त्यसैले त मेरी छोरी पनि पुगीन्। ६२ बर्षकी भएँ अर्को बर्ष मलाई पनि नेपाल पुग्ने धोको छ। एक महिना नै  किन न लागोस् एक पटक लाङ्टाङ् पुग्छु। मेरी छोरीले हेरेको नेपाललाई म पनि आफ्नै आँखाले हेर्न चाहान्छु।”

रोसेबका ७० बर्षिय पिता र ६२ बर्षिय माता
रोसेबका ७० बर्षिय पिता र ६२ बर्षिय माता

यसै क्रममा रोसेवका ७० बर्षिय  पिता जोर्दी पलाउ पनि आईपुगे। छोरी गुमाउँनुको पिडा एउटा पितालाई सोध्नुको कुनै अर्थ थिएन। उनको हाउभाउ र चेहेरा आँफै बोलिरहेको थियो। एउटा बितेको घटनाको पछि लागेर पटक पटक आँफैलाई रुवाउँनु भन्दा सम्हालेर अघि बढ्नु पर्ने जोर्दीको भावाना थियो। मारियालाई पनि उनले त्यही भनेर सम्झाएँ। नेपाल प्रति उनलाई पनि त्यत्तिकै माया रहेछ। मैले जुलाई ११ मा हुने अर्को कार्यक्रमको पनि उनलाई निम्तो दिए। एउटा डायरी निकाले मिति स्थान समय टिपे र आउँने जानकारी गराए। दुवै जनाको एउटा तस्बिर लिए। आँफूलाई पनि उनिहरुसँगै बसेर एउटा तस्बिर लिन लाग्यो त्यस पछि बाटो लागे।

IMG_8074बेलायतको नौमती बाजा घन्किरहँदा पर्यटकीय डाँडा टिबीदाबु नेपाल जस्तै लाग्थ्यो। घरी घरी सराङ्कोटमा नौमती घन्काएर पोखरा हेरे जस्तै पनि भान हुन्थ्यो। मारियालाई मैले दुई दिनमा धेरै पटक भेटे। अन्तिम दिन आईतबार कार्यक्रमको अन्त्य हुँदै गर्दा नेपाली साँस्कृतिक कार्यक्रम पनि उनले हेरिन्। नमस्ते गरेर बसीरहन्थिन् तालि पनि बजाई रहिन्, पटक पटक मैले उनलाई हेरीरहँदा,अनुहारमा चमक त थिएँन तर नेपाल प्रतिको सच्चा माया भने प्रष्ट झल्कन्थो।

छोरीको यादमा डुबेकी एउटा ममतामयी आमाको पीडालाई अलिकति केहि समय नजिकवाट बुझ्दा पनि भूपिले उनकै लागि यी हरफहरु लेखेका हुन् भन्ने मलाई लाग्यो। 

आकाशको बादल नबर्स व्यर्थै

मेरो आफ्नै आँखामा बर्षात् छ ।

चटयाङ् सित्तैमा नझर तिमी

मेरै मुटुभरि बज्राघात छ ।

हो, म एक्लै छु……….